अवैध सुनचाँदी कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपालगन्ज - Naya Patrika
eNaya Patrika
  • ePaper

अवैध सुनचाँदी कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपालगन्ज

नेपालगन्ज नाकाबाट अवैध रुपमा सुनचाँदी भित्रिने गरेको खुलासा भएको छ । सुनचाँदी पसल सञ्चालन गर्दै आएका सोनु राईलाई अवैध सुनचाँदी सहित बाँके प्रहरीले पक्राउ गरेपछि नेपालगन्ज नाकाबाट अवैध रुपमा सुनचाँदी भित्रिने गरेको खुलासा भएको हो ।


भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज लगायत बाहिरी जिल्लामा पठाउने गरिएको पनि पाइएको छ । प्रहरीले एकपछि अर्को गर्दै अवैध सुनचाँदी बरामद गरेपछि नेपालगन्ज सुनचाँदी ओसार पसार गर्ने ट्रान्जिट प्वाइन्ट भएको प्रमाणित भएको छ ।
करिव ६ महिनाअघि पनि बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा अवैध सुनचाँदी बरामद गरेको थियो । प्रहरीले चाँदीका मुर्ती र गहना पनि बेलाबेलामा पक्राउ गर्दै आएको छ ।

नाका सहज
नेपालगन्ज नाका भएर आउजाउ गर्न र नेपाल तथा भारतका शहरमा पुग्न सजिलो हुने भएकोले भारतबाट अवैध रुपमा सुनचाँदी ल्याएर विक्रि वितरण गर्ने गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङले बताए । नेपालगन्जबाट पटक–पटक अवैध सुनचाँदी बरामद हुनुले सुनचाँदी ओसारपसार गर्नका लागि नेपालगन्ज नाका सहज भएको बुझिएको उनको भनाइ रहेको छ ।

पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका–२, एकलैनी स्थित सोनु राईको सुनचाँदी पसलबाट बरामद भएको गरगहना पनि भारतबाट ल्याइएको थियो । सूचनाको आधारमा अनुसन्धान गर्दा खरिद गरेको बिल र अन्य कुनै कागजात फेला नपरेको प्रहरी उपरीक्षक तामाङले बताए । उनका अनुसार सोनुले भारतबाट ल्याएर नेपालगन्ज र अन्य जिल्लामा सुनचाँदीका गहना पठाउने गरेको अनुसन्धानबात खुलेको छ ।

२१ केजी चाँदीसहित गरगहना बरामद
राईले नेपालगन्ज उपमहानगरपालिका–२ एकलैनीमा संचालन गर्दै आएका राइको सुनचाँदी पसलबाट प्रहरी टोलीले २१ किलो ६ सय २७ ग्राम चाँदी र चार सय ग्रामका विभिन्न थरिका सुनका गरगहना नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रमुख तामाङले बताए ।
राईको पसलबाट प्लाष्टिकमा चाँदीले बेरेको १५ थान बाला र फलाममा चाँदीले बेरेको एक थान बालासमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया