सरकारी कार्यालयमै दलित कर्मचारीमाथि विभेद ! - Naya Patrika
eNaya Patrika
  • ePaper

सरकारी कार्यालयमै दलित कर्मचारीमाथि विभेद !

जातीय विभेद कानुनी दृष्टीकोणले दण्डित कार्यभएपनि लमजुङको एक सरकारी कार्यालयमै दलित कर्मचारीहरु विभेदमा परेका छन् । लमजुङको राईनास नगरपालिका–६ स्थित धमिलिकुवा स्वास्य चौकीका कार्यरत तिन कर्मचारीले आईतबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आफुहरु माथि भएको बिभेदबारे जानकारी गराएका हुन् ।

धमिलीकुवा स्वास्थ्य चौकीका इन्चार्ज सहित ३ जना दलीत समुदायका कर्मचारीले कार्यालयमा आफुहरुलाई गैरदलित परिवारका व्यक्तिले जातीय विभेद गरेको आरोप लगाएका हुन । स्वास्थ्य चौकीका ईञ्चार्ज राजेश दुलाल, अनमि वर्षा सुनार र कार्यालय सहयोगी अप्सरा नेपालीले सहकर्मीबाट कार्यालयमै जातियविभेद र दुव्र्यवहार भएको घटना सार्वजनिक गरेका हुन् ।

कार्यालयमा बेलाबखत भईरहने प्रशिक्षण तथा बैठकका अवसरमा दलित समुदायकी कार्यालय सहयोगीले पकाएको खाजा नखानुको साथै उनले भरेको पानी समेत नखाने र दलितले छोएको खादैनौं भन्ने गरेको उनीहरु बताउँछन् ।

लामोसमयदेखि भेदभावपूर्ण व्यवहार गरिदै आएकोमा पछिल्लो समय त्यो क्रम निकै बढ्दै गएको स्वास्थ्य चौकीका कार्यालय सहयोगी नेपालीले बताईन् । दुई महिनादेखि आफुले काम गर्न थालेको र आफुले भरेर राखेको पानी र पकाएको चिया, खाजा गैह्रदलित समुदायका कर्मचारीले नखाने गरेको उनले बताईन् । ‘बिहान भरेर राखेको पानी भाँडोमा जस्ताको तस्तै हुन्थ्यो,’ उनले भनिन् ‘बाँसी पानी खानु हुन्न भनेर दिनदिनै पानी फेरिरहन्थें, धेरेपछि मात्रै दलितले भरेकाले उनीहरुले पानी नखाएको बुझेँ ।’

गत फागुन २३ मा महिला स्वास्थ्य स्वयंसेविकाहरुको बैठक राखिएको र सो दिनमा पनि कार्यालय सहयोगी नेपालीले चाउचाउ खाजा बनाएपछि अनमिहरु विन्दुदेवी चिलुवाल, सरस्वती चिलुवाल, स्वयंसेविकाहरु भवानीदेवी, ठुलीकान्छी चिलुवाल, टिलकुमारी तामाङ, मिराकुमारी घिमिरे, पार्वती कडरिया, कमला विसुराल लगायतले खाजाखान आनाकानी गरेको बुझिएको स्वास्थ्यचौकी ईञ्चार्ज दुलालले बताए ।

 

‘बिहान भरेर राखेको पानी भाँडोमा जस्ताको तस्तै हुन्थ्यो,’ उनले भनिन् ‘बाँसी पानी खानु हुन्न भनेर दिनदिनै पानी फेरिरहन्थें, धेरेपछि मात्रै दलितले भरेकाले उनीहरुले पानी नखाएको बुझेँ ।’

 

कसैले काँचै खान्छौं भन्ने, कसैले नखाईकन मिल्काएको र कसैले बिरामी भएको बाहनावाजी गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरुबाटै खुल्न आएको पनि दुलालले बताए ।कर्मचारी जस्तो बुझेका व्यक्तिले जातिय विभेद गर्नु नहुने भएकाले सम्झाउने प्रयास गर्दा उनीहरुले उल्टै आफुसँग सवालजवाफ गरेको उनको भनाई छ । विभेदको बारेमा नगरपालिकामा समेत निवेदन दिदा पनि सुनुवाई नभएको स्वास्थ्य चौकी ईञ्चार्ज दुलालले बताए ।

‘स्वास्थ्य चौकीको व्यवस्थापन समितिमा छलफल गर्दा निस्कर्ष निस्किएन उनले भने, ‘नगरपालिका कार्यकायरी अधिकृत देवबहादुर अधिकारीले पनि उल्टै बिभेद गर्नेहरुकै बचाउ गर्नुभयो ।’ स्थानीय स्तरमा न्यायका लागि थुप्रै ठाउँमा धाएपनि न्याय नपाएपछि आफुहरु जिल्लामा आएर पत्रकार सम्मेलन गर्नुपरेको नयाँपत्रिकालाई उनले जानकारी दिए ।

त्यसबारेमा बुझ्दा अनमी विन्दूदेवी चिलुवालले आफूहरूले सँगै खाने बस्ने गरेका छौँ त्यस्तो विभेदको व्यवहार नगरेको बताइन् । यसबारेमा राइनास नगरपालिकाका कार्यकारी प्रमुख देवबहादुर अधिकारीलोई सम्पर्क गर्दा निवेदन आएको छ तर निवेदन आफूले उपमेयरलाई दिएको बताए ।

 

उनले भने, ‘महिनै पिच्छे हुने बैठकमा राजेश आउँछन् सँगै बस्छौँ, खाजा खान्छौँ, त्यस्तो विभेदको व्यवहार हामीले गरेको जस्तो लाग्दैन । त्यो निवेदनमा उपमेयरले दुवै पक्षलाई राखेर छलफल गराउने भन्दै हुनुहुन्छ, आज पनि फोन गर्नु भएको थियो तर उनी यता आउनुको सट्टा बेसीशहर गएछन्, के गर्न खोजका हुन् बुझिन ।’

यस विषयमा बुझेर समस्या समाधान गर्न उपप्रमुख एवं न्यायिक समितिका प्रमुख धनकुमारी गुरुङ सँग सल्लाह भएको नगरप्रमुख सिंहबहादुर थापाले बताए । केहीदिनमै सो घटनाको छानबिन गरी समस्या समाधान गरिने पनि उनी बताउँछन् ।

कर्मचारी माथि भएको जातिय विभेद र दुव्र्यवहारको घटनाले आफुहरु दुःखी भएको र समस्या समाधान नभए दवाव तथा विरोधमा उत्रिने मुक्ति समाजका अध्यक्ष प्रेम रम्तेल, मुक्ति मोर्चाका अध्यक्ष देवबहादुर गहतराज, दलित सेवा संघका अध्यक्ष दलबहादुर मजाकोटी र दलित सञ्जाल राईनासका अध्यक्ष शंकर नेपालीले बताएका छन् ।

‘दलित भएरै कोठाभाडा पाईनन् वर्षाले’

धमिलिकुवा स्वास्थ्यचौमै कार्यरत अनमि सुर्खेत विरेन्द्रनगरकी वर्षा सुनारले पनि आफुमाथि जातिय विभेदपूर्ण व्यवहार भएको भन्दै दुखेसो पोखिन् । ०७२ मा नियुक्ति लिएर राईनास मोहोरियाकोट स्वास्थ्य चौकीमा खटिएको र दलित भएकै कारण गाउँमा कसैले पनि कोठा नदिएको नमिठो भोगाई उनले सुनाईन् ।

तत्कालिन स्वास्थ्य चौकी ईञ्चार्ज आनन्द सेढाईंले कोठा खोज्न निकै खटेको तर सानोजातकी भन्दै कसैले कोठा दिनै मान्दैनन्’ भनेपछि साह्रै दुःख लागेको उनले बताईन् । गाउँमा कतै कोठा नपाएपछि स्वास्थ्य चौकीमै बस्न थालें,’ उनले भनिन्, ‘त्यहाँ अकलादेवी अधिकारी दिदी अर्कोकोठामा बस्नु हुन्थ्यो तर, उहाँले मलाई यति छिःछि र दुरदुर गर्नुभयो कि, भनिसाध्यै छैन ।’

गाउँलेहरु र आफ्नै सहकर्मीबाट भएको दुव्र्यवहारले आफुलाई निकै तनाव भएकाले धमिलिकुवा सरुवा भएको तर त्यहाँपनि उस्तै सास्ती भोग्नु परेको उनले बताईन् । ‘नपढेका, नबुझेकाहरुले भेदभाव गर्छन्, छुवाछुत गर्दछ् भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘समयले मलाई एउटा फरक पाठ सिकायो, शिक्षित र जानेबुझेकै मान्छेहरुबाट पनि त्यस्तो हुँदो रैछ ।’

तपाईको प्रतिक्रिया