दुईभन्दा बढी डिम्याट खाता राख्न नपाउने, करिब १० हजार खाता बन्द - Naya Patrika
eNaya Patrika
  • ePaper

दुईभन्दा बढी डिम्याट खाता राख्न नपाउने, करिब १० हजार खाता बन्द

दुईभन्दा बढी हितग्राही (डिम्याट) खाता राख्न नपाउने नियम लागू भएयता करिब १० हजार डिम्याट खाता बन्द भएको सिडिएस एन्ड क्लियरिङ (सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेले बताए । उनका अनुसार सिडिएससीले निक्षेप सदस्यलाई दिएको निर्देशनअनुसार केही लगानीकर्ताले खाता बन्द गरिसकेका छन् । तर, कर्जा लिएका लगानीकर्ता र पोर्टफोलियो व्यवस्थापनका लागि खोलिएका खाता भने व्यावहारिक रूपले तत्काल बन्द गर्न नसकिएको सिडिएससीले जनाएको छ ।

एउटै लगानीकर्ताको धेरै डिम्याट खाता हुँदा व्यवस्थापन गर्न गाह्रो भएको भन्दै नेपाल धितोपत्र बोर्डले गत वर्षको भदौसम्ममा दुईभन्दा बढी खाता रहेको भए खाता रोक्का गराउन सिडिएससीलाई निर्देशन दिएको थियो । बोर्डले दिएको निर्देशनअनुसार सिडिएससीले पनि निक्षेप सदस्यलाई खाता बन्द गराउन आन्तरिक परिपत्र जारी गरेको थियो ।

सेयर बजारलाई आधुनिकीरण गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ०७२ भदौदेखि डिम्याट सेयर कारोबार सुरु गरेको हो ।

त्यस्तै, ०७३ साउन १ गतेदेखि प्राथमिक सेयरका लागि पनि डिम्याट खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । लगानीकर्ताले आफ्नो सुविधाअनुसार खाता खोल्ने क्रममा धेरैवटा खाता खोलेपछि निश्चित तथ्यांक निकाल्न कठिन भएको भन्दै बोर्डले सिडिएससीलाई खाता बन्द गराउन निर्देशन दिएको थियो ।

सिडिएससीका अनुसार करिब ८ हजारभन्दा बढीको दुईभन्दा धेरै खाता रहेको पाइएको छ । बोर्डले दिएको निर्देशनसँगै सिडिएससीले गरेको अध्ययनले धेरै खाता भएका लगानीकर्ताको पहिचान गरेको हो । धेरै खाता भएका कतिपय लगानीकर्ताका खाताहरू शून्य रहेको पाइएको सिडिएससीले बताएको छ ।

निवेदन दिएपछि बन्द हुन्छ खाता
यदि कुनै लगानीकर्ताको दुईभन्दा बढी खाता छ भने सजिलैसँग बन्द गर्न सकिने सिडिएससीले बताएको छ । लगानीकर्ताले जुन निक्षेप सदस्यबाट खाता खोलेका छन् त्यहीँ गएर खाता बन्द गर्नका लागि निवेदन दिन सकिने सिडिएससीले बताएको छ । निवेदन दिएपछि सजिलै खाता बन्द हुन्छ । त्यस्तै, लगानीकर्ताले निवेदन दिएपछि एउटा खातामा रहेको सेयर अर्को खातामा समेत सार्न सकिन्छ । प्रत्येक खातामा सेयर मौज्दात छ भने निक्षेप सदस्यलाई निवेदन लेखेर एउटा खाताको सेयर अर्को खातामा सार्न सकिने सिडिएससीले जनाएको छ ।

सिडिएससीको तथ्यांकअनुसार हालसम्म १२ लाख २६ हजार ३ सय ४६ वटा डिम्याट खाता खोलिएको छ । निक्षेप सदस्य ६६ छन् । मेरो सेयरमा रजिस्ट्रर भएका निक्षेप सदस्यको संख्या ६५ रहेको छ । हालसम्म ३ अर्ब ४१ करोड ५१ लाख ५६ हजार ४ सय ५४ सेयर डिम्याट भएका छन् । रजिस्ट्रर क्लियरिङ सदस्य संख्या ५० छ भने सी–आस्बामा रजिस्ट्रर भएका बैंकको संख्या ६२ छ ।

तपाईको प्रतिक्रिया