मनाङमा मनाइयो तीर पर्व - Naya Patrika
eNaya Patrika
  • ePaper

मनाङमा मनाइयो तीर पर्व

मनाङमा हरेक नयाँ वर्ष मनाइने तिर पर्व यस वर्षपनि धुमधामका साथ मनाइएको छ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ र नारपाभुमी गाउँपालिकाको नार गाउँमा मेथा अर्थात तीर पर्व धुमधामका साथ मनाइएको हो ।

परापूर्वकालदेखि चलिआएको यो पर्वलाई जीवितै राख्न मनाङका स्थानियले हरेक बर्ष मेथा धज्याङ अर्थात (तीर) पर्व मनाउने गर्दछन् । गाउँभरका युवा, बृद्ध सबै एकैठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय ५ दिनसम्म मनाउने गरिएको छ । बुधबारबाट सुरु भएको तिर पर्व आइतबार सकिएको हो । ‘गाउँको कृषि उत्पादनमा सहयोग पुर्याउने, गाउँमा राक्षस प्रवेश नगर्ने, गाउँमा झैझगडा नभई शान्ति फैलियोस भन्ने कामनासहित सबै गाउँलेहरुले एकआपसमा माया, सद्भाव र एकता बढाउने उद्धेश्यका साथ यो पर्व मनाइन्छ’, नासोङ गाउँपालिका प्रमुख चन्द्र घलेले बताए ।

मेथा अर्थात तीर हान्ने पर्वमा दुई पक्षबिच प्रतिस्पर्धा हुन्छ । गाउँका युवादेखि बृद्ध सबैले पर्वमा भाग लिने गर्दछन् । केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानियले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तीर हान्ने र मार्ने गरेको प्रमुख घले बताउँछन् । पहिले जसले राक्षसलाई अन्त्य गर्छ उसैलाई समुदायमा बर्ष पुरुष मान्ने गरिन्थ्यो । तर, आजभोलि पुराना चलनलाई नयाँपनि दिएर पर्व मनाउन थालिएको घलेले बताउँछन् । स्थानियहरुले पर्वको खुसीयालीमा मिठा मिठा परिकारहरु खाने, विजेतालाई पैसा उठएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानिय विनोद गुरुङ बताउँछन् । पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक भेषभुषासहित स्थानियहरु सहभागी हुने गर्दछन् । गुरुङ भन्छन्, भेषभुषासहित हातमा बाण लिएर तीर हान्दा निकै रमाइलो हुने गर्दछ । हिजोआज स्थानियहरुले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकहरुलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् ।

मेथा धज्याङ पर्व मनाङका ४ वटै गाउँपालिकाहरु नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरक फरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्राहरु मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया