हरेक विद्यालयमा योग आवश्यक छ : खेलकुदमन्त्री विश्वकर्मा - Naya Patrika
eNaya Patrika
  • ePaper

हरेक विद्यालयमा योग आवश्यक छ : खेलकुदमन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हरेक विद्यालयहरुमा योगको आवश्यकता रहेको बताए। नेपाल योग खेलकुद संघले काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको प्रथम उपत्यकाव्यापी योग खेलकुद प्रतियोगिता उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘शारीरिक अभ्यास योग हो । शारीरिक बिज्ञान हो । सबैको निम्ति उपयोगि छ ।’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले योगको लागि लगानी समेत गर्नुपर्छ ।’

योगको क्षेत्रमा लगानी गर्न आवश्यक
साउथ एसियन च्याम्पियनसिप मा स्वर्णपदक जित्नेलाइ ५० हजार रुपैयाँ रकम पुरस्कार दिने उनले घोषणा समेत गरेका छन् । योग मौलिक खेल भएकाले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउनको लागि जनस्तरमासम्म पुग्न आवश्यक रहेको बताए । त्यसको लागि राष्ट्रिय पाठ्यक्रममा नै समावेश गर्न आवश्यक रहेको उनको भनाइ रहेको छ । रोग निदानको पनि माध्यम भएकाले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई अब योग खेलकुद क्षेत्रमा पनि लगानी गर्नु पर्ने मन्त्री विश्वकर्माले बताए ।

प्रतियोगितामा ११ बर्षदेखि १७ बर्ष उमेर समूहका पुरुषतर्फ किरण न्यौपाने प्रथम, किरण दंगाल दोस्रो र सत्य घिमिरे तेस्रो भएका छन् । महिलातर्फ करिश्मा घिमिरे प्रथम, तुसली महासेठ दोस्रो र स्मृति सापकोटा भएकी छन् । एकल प्रतिस्पर्धामा १८ बर्षदेखि ४९ बर्षसम्मका प्रथम जगविर श्रेष्ठ, दोस्रोमा महेन्द्र राई, तेस्रो प्रबास थापा मगर भए । त्यस्तै महिलातर्फ रमा पाण्डे प्रथम, निशा श्रेष्ठ द्वितीय र शोभा शर्मा तेस्रो भए ।
सो प्रतियोगितामा ५० बर्ष माथि एकलतर्फ कृष्णप्रसाद बराल र महिलातर्फ अष्टलक्ष्मी श्रेष्ठ विजयी भएका छन् । उक्त प्रतियोगितामा मिस्टर योगीमा किरण न्यौपाले र मिसेस योगीमा करिश्मा घिमिरे सफल भए । दुवैले आगामी वैशाख २१ गतेदेखि २३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय दक्षिण एशियाली योग खेलकुद प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।
कार्यक्रममा विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले प्रमाणपत्र, मेडल र नगद वितरण गरे ।

पाठ्यक्रममा समावेश गर्न जोड
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले योग खेलको लागि कुनै खेल सामग्री पनि नचाहिने र एकल तथा समूहमा पनि गर्न सकिने सजिलो र मानव जीवनको लागि अत्यावश्यक भएकाले अब विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
‘सबैका लागि योग, सधैंका लागि योग’ भन्ने नाराका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न समूहका गरी ८३ जना योग खेलाडीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया