दाहसंस्कार गर्न पालो कुर्नुपर्ने बाध्यता - Naya Patrika
eNaya Patrika
  • ePaper

दाहसंस्कार गर्न पालो कुर्नुपर्ने बाध्यता

दाहसंस्कार गर्ने ठाउँ पर्याप्त मात्रामा नहुँदा व्यास ३ मा रहेको शवदाह स्थलमा पालो कुनुपर्ने अवस्था छ । विभिन्न ठाउँबाट सर्वसाधारणले अन्त्येष्टिका लागि ल्याएका शव जलाउन पालो कुर्नु परेको हो ।

एकैचोटि तीन भन्दा बढी शव दाहसंस्कारका लागि घाटमा ल्याइँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । मादी र सेतीको सङ्गम स्थलमा अवस्थित शवदाहमा एक पटकमा तीन वटा शव मात्र जलाउन सकिने छ । तीन वटा मात्र शव जलाउन मिल्ने ठाउँ निर्माण भएको हुँदा तीन भन्दा धेरै शव एकैचोटी ल्याउँदा स्थानीयलाई पालो कुर्नुपर्ने बाध्यता छ ।

सुरुका दिनहरुमा जनसङ्ख्या कम भएकाले त्यति ठाउँ पर्याप्त भएपनि हाल जनसंख्या वृद्धिले समस्या आएको स्थानीय कृष्ण श्रेष्ठले बताए । ‘जनसंख्या चापका कारण समस्या सिर्जना भएको हुँदा यसलाई अझै बढी व्यवस्थित गर्दै लैजानुपर्छ,’ उनले भने ।

व्यास नगरपालिका आसपासका विभिन्न ठाउँबाट शव अन्त्येष्ठीको लागि सबैले साही घाट प्रयोग गर्दै आइरहेका छन् । विशेष गरी जिल्लामा भएका सवारी दुर्घटनामा मृत्युु भएका तथा बेवारिसे शवहरु पोस्टमार्टम जलाउन सो शवदाह स्थलको प्रयोग गरिने हुँदा दाहसंस्कार गर्न पालो पाउन कठिन हुने गरेको छ ।

दमौली शवदाह स्थलका अध्यक्ष बुद्धिकुमार श्रेष्ठले करिव ५९ लाख रुपैयाँमा चार वटा शवदाह स्थल निर्माण गरिएको बताए । ‘चार वटा चिता बनाइएको भएपनि नदीको बहाव बढेको अवस्थामा माथिल्लो दुई वटा र पानीको वहाव कम भएको अवस्थामा चार वटै प्रयोग गर्न मिल्ने हुन्छ’ उनले भने ‘व्यास नगरपालिकाको १२ वटा वडा, म्याग्दे लगायत जिल्लामा दुघर्टना भएको अवस्थामा शव जलाउन पालो कुर्नुपर्ने समस्या भएको हो ।’

घाटमा दैनिक ३/४ वटा शव जलाउन ल्याइने गरेको उनको भनाई छ । शवदाह हेरचाहका लागि व्यास ३ स्थित बुद्ध पार्क टोल विकास समितिलाई जिम्मा दिइएको उनले बताए । टोल विकास समितिले सरसफाई वापत मासिक दुई हजार रुपैयाँ लिने गरेको र शव जलाए वापत तीन सय देखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

नेपालमै पहिलो पटक विद्युतीय प्रणालीबाट दाहसंस्कार गर्न मिल्ने सुविधा सम्पन्न शवदाह स्थल तनहुँमा बनाउन लागिएको भएतापनि त्यो सम्भव भएन । घाटमा वाइपंखी चुल्होबाट शव जलाउने व्यवस्था मिलाउन लागेको भएपनि पुरा गर्न नसकिएको उनले जानकारी दिए ।
दाउरा उपलब्ध
दाहसंस्कारको लागि ल्याइएका शवको अन्त्येष्ठीका लागि भने सर्वसाधारणलाई दाउराको समस्या छैन । समितिले दाउराको अभाव नहोस् भनेर दाउराको व्यवस्था गरेको छ । शव जलाउनको लागि करिव पाँच हजार देखि आठ हजार रुपैयाँ सम्मको दाउरा लाग्ने शवदाह व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया