भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड - Naya Patrika
eNaya Patrika
  • ePaper

भारतमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड

भारत सरकारले १२ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कार्यकारी आदेश अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आदेश अनुमोदन गरेको हो । भारतमा शृंखलाबद्ध रूपमा बालिका बलात्कारका घटना वृद्धि भइरहेका वेला मोदी नेतृत्वको सरकारले सो निर्णय गरेको हो । बैठकले बालिका बलात्कार गरी देशबाट भाग्ने अभियोगीको सम्पत्ति जफत गर्ने अर्को निर्णयलाई पनि अनुमोदन गरेको छ ।

जम्मु र कास्मिरमा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको घटना सार्वजनिक भएपछि सम्पूर्ण भारत नै बलात्कारविरुद्ध क्रुद्ध भएको थियो । जनवरीमा भएको सो बलात्कार दुई साताअघि मात्र सार्वजनिक भएको थियो ।

त्यस्तै, दुई साताअघि उत्तर प्रदेशको उनाओमा एक किशोरीमाथि बलात्कार भएको विवरण सार्वजनिक भएको थियो । बलात्कारमा भाजपाका केन्द्रीय नेता नै संलग्न रहेको प्रहरीमा दायर गरिएको निवेदनमा उल्लेख छ । बलात्कार आरोपितलाई पक्राउ नगरेको झोकमा पीडित किशोरीले मुख्यमन्त्रीको कार्यालयअगाडि नै आत्मदाहको प्रयास गरेपछि युपीका मुख्यमन्त्री योगी आदित्यनाथले सो घटनाबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईलाई निर्देशन दिएका थिए ।

शनिबार कार्यकारी आदेश पारित हुनुअगाडिसम्म भारतको दण्डसंहितामा बालिका बलात्कारका अभियोगीलाई कम्तीमा सात वर्षको जेल सजायदेखि बढीमा जन्मकैदको प्रावधान थियो ।

भारतमा अहिलेसम्म बालिका बलात्कारका हरेक १० आरोपीमध्ये तीनजनालाई मात्र दोषी ठहर गरेकाले कानुनमा भएको नयाँ संशोधनले दोषीलाई उन्मुक्ति नदिने धेरैको अपेक्षा छ । एक तथ्यांकअनुसार सन् २०१५ मा बालिका बलात्कारको आरोप लागेकामध्ये ५७ सयलाई सफाइ दिइएको थियो भने २२ सयलाई सजाय दिइएको थियो ।

भारतमा बारम्बार बलात्कारका घटना हुने गर्छन् । सामूहिक बलात्कारमा परेकी एक किशोरीले एक साताअघि आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी थिइन् ।

बाबुआमाले पीडकबाट स्विकारेको पाँच लाख भारतीय रुपैयाँ लिएर प्रहरी चौकीमा ती किशोरी पुगेपछि सो घटना सार्वजनिक भएको थियो । किशोरीको दाबीपछि दिल्ली प्रहरीले उनकी आमालाई पक्राउ गरेको छ भने फरार बाबुको तीव्र खोजी गरिरहेको छ । पीडित किशोरीलाई एउटा आश्रय गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया