प्रेमजालमा परेर भारतीय कोठीमा बेचिन्छन् युवती - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

प्रेमजालमा परेर भारतीय कोठीमा बेचिन्छन् युवती

भारतको आगरा कास्मिरी बजारस्थित एक कोठीबाट नुवाकोटकी १७ वर्षीया एक युवतीको ४ अप्रिलका दिन उद्धार गरियो । दुई वर्षअघि मायाजालमा फसेर उनी कोठीमा बेचिएकी हुन् । आगरास्थित कोठीबाट उद्धार भएकी सिन्धुपाल्चोककी १८ वर्षीया युवतीले पनि आफू करिब तीन वर्षअघि युवकको मायाजालमा फसेर कोठीमा बेचिएको भारतीय प्रहरीसमक्ष बयान दिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । ‘२४ वर्ष उमेर बताउने महिलाको शारीरिक बनावट हेर्दा त्यति उमेरको जस्तो लाग्दैन,’ उनले थपे ।

कोइरालाका अनुसार उद्धार भएका अन्य महिलाले पनि सानै उमेरमा दलालको मायाजालमा फसेर भारतीय कोठीमा बेचिएको बयान दिएका छन् । ‘यसले प्रेमजालमा पारेर नेपाली युवतीलाई भारतीय कोठीमा बेच्ने गिरोह सक्रिय रहेको तथ्य खुलेको छ,’ उनले भने । भारतीय प्रहरीको सहयोगमा माइती नेपालको टोलीले पाँच नेपालीसहित चार भारतीय महिलाको पनि उद्धार गरिएको कोइरालाले बताए ।

कोठी सञ्चालकविरुद्ध सिभिल कोर्टमा मुद्दा दायर
उद्धार भएका सिन्धुपाल्चोक र नुवाकोटका दुई–दुई र धादिङका एकजना छन् । उद्धारका क्रममा अवैध रूपमा कोठी सञ्चालन गर्दै आएकी प्रिया दीपलाई नियन्त्रणमा लिएर आगरास्थित सिभिल कोर्टमा मुद्दा दायर गरिएको कोइरालाले बताए । उद्धार भएका महिलालाई आगरास्थित नारी निकेतनमा राखिएको छ ।

‘बयानका लागि कोर्टमा हाजिर हुनुपर्ने भएकाले केही दिनका लागि उनीहरूलाई आगरास्थित सेल्टरमा राखिएको छ,’ उनले भने । कोइरालाले उद्धार भई भारतमै रहेका महिलालाई चाँडै नेपाल ल्याइने बताए ।

कसरी भयो उद्धार ?
माइती नेपालले भारतीय कोठीमा छापा मारेर नेपाली महिलाको उद्धार गरेको यो दोस्रोपटक हो । दुई महिनाको लगातार अनुसन्धान र थप १० दिन लगाएर महिलाको उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले जानकारी दिए । उनले नेपाली महिला कोठीमा भए–नभएको सूचना संकलन गरी सुराकी खटाएको बताए । सुराकीलाई ग्राहक बनाएर कोठीमा पठाउने गरिएको बताउँदै सोही सूचनाका आधारमा छापा मारेर उद्धार गर्दै आएको उनको भनाइ छ ।

कोइरालाले सुराकीले ल्याएको सूचनाबारे आगरास्थित प्रहरी थानाका कर्मचारीसँग पटक–पटक छलफल भएको बताए । विभिन्न चरणको छलफलपछि प्रहरीसहितको टोलीले छापा मारेको थियो । प्रहरी छापा मार्न आउन लागेको सूचना पाएपछि कोठी सञ्चालकले ढोकामा ताला लगाएको र प्रहरीको सहायतामा ताला फोडेर भित्र पसेको कोइरालाको भनाइ छ ।

सूचना लिन जाने व्यक्तिलाई रकम दिएर पठाउने गरिएको बताउँदै उनले ठूलो जोखिम मोलेर उद्धार गर्न परेको बताए । ‘अलिकति तलमाथि परे ज्यान जाने वा अंगभंग हुने सम्भावना हुन्छ,’ उनले भने, ‘वास्तविकता नबुझेर जाने हो भने ठूलै दुर्घटना हुन सक्छ ।’ माइती नेपालले यसअघि गत फेब्रुअरीमा दुई र जुन महिनामा तीनजना नेपाली महिलाको भारतीय कोठीबाट उद्धार गरेको जनाएको छ । गतवर्ष अरबियन मुलुकबाट एक र भारतबाट ६७ जना महिलाको उद्धार गरी नेपाल ल्याएको संयोजक कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया