सातामा ११०.७६ अंक बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा ११०.७६ अंक बढ्यो नेप्से

नयाँ वर्षको सुरुवातसँगै नेप्से परिसूचक उकालो लाग्दा लगानीकर्ताको मनोबल बढेको छ । विदेशी मुलुकमा पनि नयाँ वर्षको सुरुवातमा धितोपत्र बजारले सकारात्मक दिशा लिने गर्छ । नयाँ वर्षसँगै लगानीका नयाँ सिद्धान्त र नीतिसहित बजारमा लगानी गर्न थाल्ने हुँदा बजारले सकारात्मक दिशा लिने गर्छ । यसलाई ‘जनवरी इफेक्ट’ भनिन्छ । नयाँ वर्षको पहिलो साता नेप्से परिसूचक १ सय १० दशमलव ७६ अंक बढेको छ । यस वर्षको आरम्भसँगै बजारमा सेमी अनलाइन प्रणाली लागू भएको छ । लगानीकर्ताले घरमै बसी धितोपत्र खरिद–बिक्रीका लागि अनलाइनमार्फत आदेश दिन सक्ने व्यवस्था भएको छ । यसले लगानीकर्तालाई कारोबार गर्न सहज भएको छ ।

नेप्सेसँगै गत साता कारोबार रकममा पनि सुधार भएको छ । वित्तीय संस्थाहरूमा देखिएको तरलताको समस्या सहज हुँदै गएपछि बजारमा कारोबार रकम बढ्न थालेको एक ब्रोकरले बताए । बैंकहरूले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्थाले सो समस्या सहज गर्न केही टेवा दिएको छ । यसका साथै सरकारी बजेट खर्चमा आएको तेजी र निक्षेपको तुलनामा कर्जामा आएको कमीले पनि तरलता समस्या कम भएको हो ।

गत साता ४४ हजार १ सय ५० कारोबारबाट १ सय ८१ कम्पनीहरूको ८८ लाख ५९ हजार ४ सय १० कित्ता सेयरहरू खरिद–बिक्री भए । जसबाट ४ अर्ब ८ करोड ७ लाख ५७ हजार रुपैयाँबराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ३८ दशमलव ४६ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ८३ कम्पनीहरूको ३६ हजार ७ सय ५ कारोबारबाट १ लाख ९ हजार ९ सय कित्ता सेयरहरू खरिद–बिक्री भएको थियो । जसबाट २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७१ दशमलव १३ स्केलमा रहेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा बिक्री चापको तुलनामा सेयर खरिद चाप बढी रहेको देखाउँछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय ७७ दशमलव ५५ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ३ सय ७७ दशमलव ३१ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा १ सय ८ दशमलव १६ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २१ दशमलव शून्य ५ अंक बढेर २ सय ९४ दशमलव शून्य ३ बिन्दुमा पुगेको छ ।

गत साता कारोबार रकमका आधारमा सूर्या लाइफ इन्स्योरेन्स अगाडि रहेको छ भने सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सूर्याको गत साता १२ करोड ४२ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ भने कुमारीको ४ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने गत साता प्रिमियर इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहको छ । यस कम्पनीको गत साता १ हजार ७ सय ९७ पटक सेयर कारोबार भएको थियो ।

गत साता कारोबारमा आएको व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । सो साता बिमा समूहको परिसूचक सर्वाधिक ७ सय ६८ दशलमव ४१ अंक बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक २ सय ११ दशमलव ८७ अंक, जलविद्युत् समूहको २ सय ५ दशलमव ६५ अंक, होटेल समूहको १ सय ९७ दशमलव १४ अंक, विकास बैंक समूहको १ सय ३४ दशमलव १७ अंक, उत्पादनमूलक समूहको १ सय २ दशमलव ५६ अंक, वाणिज्य बैंक समूहको ७३ दशमलव ८८ अंक र वित्त समूहको ४० दशमलव ४३ अंक बढेको छ । कारोबारमा आएको व्यापार समूहको परिसूचक भने गत साता ३ दशमलव ३८ अंक घटेको छ ।

 सिइडिबीको साधारणसभा
सिइडिबी हाइड्रो फन्ड लिमिटेडले वैशाख ३० गते मैत्री हल, इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वरमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा लाभांश तथा बोनस सेयर वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने
भएको छ ।

 सिटी एक्सप्रेसको साधारणसभा
सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले वैशाख ३१ गते सिडब्लु रेस्टुरेन्ट, कमलादीमा बाह्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा १ बराबर १ दशमलव ६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने, संस्थापक समूहबाट २ जना सञ्चालकको निर्वाचन तथा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कामना सेवाको हकप्रद बाँडफाँड
कामना सेवा विकास बैंक लिमिटेडले वैशाख ४ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले माघ १५ गतेदेखि चैत ५ गतेसम्म १० बराबर १ दशमलव ५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । बैंकले निष्कासन गरेको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्तामध्ये २२ लाख ४४ हजार १ सय ९१ कित्ता बाँडफाँड गरेको हो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सेयर सूचीकृत
शुक्रबार नेप्सेमा १० कम्पनीहरूले कुल ६ करोड २० लाख ४० हजार ८ सय ९४ दशमलव ४९ कित्ता सेयर सूचीकृत गरेका छन् । सोमध्ये २ कम्पनीहरूको कुल १ करोड ५४ लाख ७७ हजार ६ सय १४ कित्ता बोनस सेयर रहेको छ भने अन्य ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २ सय ८० दशमलव ४९ कित्ता हकप्रद सेयर रहेको छ । यस दिन कृषि विकास बैंकले १ करोड ४१ लाख ७५ हजार ३ सय ६० कित्ता, नयाँ नेपाल लघुवित्तले ४० हजार कित्ता, एभरेष्ट बैंकले १ करोड ९९ लाख १६ हजार २ सय ७७ दशमलव ४८ कित्ता, मिसन डेभलपमेन्ट बैंकले ८ लाख ६५ हजार ४ सय ६७ कित्ता, नेपाल एसबिआईले १ करोड ७ लाख ६९ हजार १ सय ६ दशमलव शून्य १ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकले ५ लाख ५५ हजार ५ सय कित्ता, किसान माइक्रो फाइनान्सले ८० हजार ५ सय कित्ता र विजय लघुवित्तले १ लाख ६१ हजार कित्ता बोनस सेयर सूचीकृत गरेका छन् । त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले १ करोड ८ लाख ६७ हजार ७ सय ९८ दशमलव ५ कित्ता र गण्डकी विकास बैंकले ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५ कित्ता हकप्रद सेयर सूचीकृत गरेका छन् ।

तपाईको प्रतिक्रिया