मध्यभोटेकोसी समयमै सम्पन्न गरिने - Naya Patrika
eNaya Patrika
  • ePaper

मध्यभोटेकोसी समयमै सम्पन्न गरिने

सरकारले चीनसँग कूटनीतिक पहल गरेर भए पनि १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजना समयमा सम्पन्न गर्ने जानकारी दिएको छ । शनिबार आयोजनाको प्रगति तथा अनुगमनका लागि निर्माणस्थल (सिन्धुपाल्चोक)मा पुगेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आवश्यक देखिए कूटनीतिक पहल थालिने बताए । ‘तोकिएकै समयमा आयोजना पूरा गर्नलाई कामको गतिलाई वृद्धि गनुपर्ने देखिएको छ,’ उनले भने ।

आयोजना सुरुमा जुलाई २०१७ मा सम्पन्न हुनुपर्ने समयावधि तोेकिएकोमा भूकम्पको कारण झन्डै डेढ वर्ष वृद्धि गरिएको छ । दिनरात जनशक्ति बढाएर हुन्छ वा अन्य उपाय लगाएर हुन्छ, आयोजना ढिलाइ हुन नहुने मन्त्री पुनको भनाइ छ । आयोजना समयमै सम्पन्न गर्ने सम्बन्धमा निर्माण कम्पनीको कामलाई निरन्तर अद्यावधिक गरिरहने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

आयोजनाको बाँध, इन्टेक, डिस्यान्डर, मुख्य सुरुङ, सर्ज टयांक, इमरजेन्सी भल्भ, पेन स्टक र इन्टेक गेटजस्ता सबै प्रमुख सिभिल तथा हाइड्रोमेकानिकल कार्यहरूको निर्माणको जिम्मा चिनियाँ कम्पनी ज्वाङ्सी हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरिरहेको छ । इलेक्ट्रोमेकानिकल कार्य भारतको एन्ड्रिज हाइड्रो प्राइभेट लिमिटेडले र निर्माण सुपरीवेक्षण परामर्श सेवा कार्य भने लाम्हमेर इन्टरनेसनल जर्मनीले गरिरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माण हुने यो आयोजनाकोे औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट रहेको छ । आयोजनाको ग्रस हेड २३५ मिटर र डिजाइन डिस्चार्ज ५० दशमलव ८ घनमिटर प्रतिसेकेन्ड छ । यस आयोजनाबाट उत्पादित बिजुली २ सय २० किलो भोल्ट सिंगल सर्किट प्रसारणलाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्ने योजना छ ।

ऊर्जामन्त्री पुनले देशभर निर्माणाधीन सबै जलविद्युत् आयोजनाको स्थलगत अनुगमनलाई निरन्तरता दिइने बताएका छन् । शनिबार मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री पुनले केही अघि प्रधानमन्त्रीसहित माथिल्लो तामाकोसी आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया