चीनलाई नेपालको प्रस्ताव : रेलमार्गमा लगानी गर्नुस् - Naya Patrika
eNaya Patrika
  • ePaper

चीनलाई नेपालको प्रस्ताव : रेलमार्गमा लगानी गर्नुस्

डिपिआर बनाउन चीन तयार तर लगानीबारे जवाफ दिएन –

नेपालले बहुचर्तित केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा सतप्रतिशत लगानी (अनुदान)का लागि चीनलाई प्रस्ताव गरेको छ । चिनियाँ समकक्षी वाङसँग ५ वैशाखमा बेइजिङमा भएको औपचारिक वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘मित्रताको प्रतीक’का रूपमा चिनियाँ लगानीको प्रस्ताव गरेका हुन् । लगानीबारे चीनले जवाफ दिएको छैन, तर सम्भाव्यता अध्ययन गर्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सहमति जनाएको छ ।

‘हामीले नेपाल चीन मित्रताको प्रतीकका रूपमा रेलमार्गमा सम्पूर्ण लगानी गरिदिन चीनलाई आग्रह गरेका छौँ,’ चीनबाट फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । चीनले सन् १९६० को दशकमा खासा–तातोपानी नाका हुँदै कोदारी राजमार्र्ग मित्रताको प्रतीकका रूपमा निर्माण गरेको थियो । सरकारले सोही मोडालिटीमा रेलमार्ग निर्माणका लागि आग्रह गरेको हो । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘लगानीका सन्दर्भमा हामी अन्य विकल्पमा पनि छलफल गर्न खुला छौँ ।’

औपचारिक वार्तामा ज्ञवालीले रेलमार्ग निर्माणपछि नेपालबाट रेल चढेर चीन जाने आफ्नो धोकोसमेत समकक्षी वाङलाई सुनाएका थिए । रेलमार्ग निर्माणका लागि करिब तीन खर्ब ३७ अर्ब लाग्ने अनुमान छ । चिनियाँ सफ्टलोन लिने वा अनुदान माग्ने भन्नेमा प्राविधिक तहमा कुराकानी नभए पनि राजनीतिक तहमा पहिलोपटक नेपालले चीनलाई प्रस्ताव गरेको छ ।

चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनको टोलीले गत कात्तिक १९ देखि २३ सम्म केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनी पुगेर रेलमार्गको सम्भाव्यताबारे स्थलगत अध्ययन गरेको थियो । चिनियाँ टोली सम्भाव्यता अध्ययनका लागि जेठ पहिलो साता नेपाल आउने तयारीमा छ । सम्भाव्यता अध्ययनका लागि नेपालले पनि १० करोड रुपैयाँ विनियोजन गरेको छ । चीनले सिगात्सेबाट केरुङसम्म सन् २०२२ सम्म रेलमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया