शताब्दीपुरुषको फिटनेस... - Naya Patrika
eNaya Patrika
  • ePaper

शताब्दीपुरुषको फिटनेस…

सत्यमोहन जोशी आफैँमा परिचित नाम हो । उनलाई विभिन्न उपनामले विभूषित गरिएको छ । संस्कृतिविद् जोशीलाई नेपाल सरकारले वाङ्मय पुरुष नामको चिनारी दिएको छ । संस्कृति, साहित्य, लोकसाहित्य, संगीत, कला, पुरातत्वमा ज्ञान भएकाले उनलाई नेपाल सरकारले वाङ्मय पुरुष भनेर चिनारी दिएको हो । जोशी पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुन् । तीनपटक मदन पुरस्कारबाट पुरस्कृत हुने उनी नेपालका एक मात्र व्यक्ति हुन्

उनले नेपाली वाङ्मयलाई अतुलनीय योगदान दिएका छन् । उनी राष्ट्रिय तथा दर्जनौँ पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । शताब्दी पुरुष र जीवित सम्पदाका रूपमा समेत चिनिने जोशीको अध्ययनशीलता र सक्रियता प्रेरणादायी छ । यही वैशाख ३० गते उनी ९९ वर्ष पुग्दै छन् । सत्यमोहन जोशीको जीवनशैली एकदम साधारण छ । उनले आफू स्वस्थ रहनुको रहस्य यसरी सुनाएका छन् ।

साधारण खानपान
म साधारण दालभात, तरकारी खान्छु । खानेवेला मलाई यही हुनुपर्छ भन्ने केही छैन । सामान्यतया म बिहान साढे पाच बजे उठिसकेको हुन्छु । त्यसपछि एक कप दूधको चिया पिउँछु । साढे नौ अथवा दश बजेभित्र खाना खान्छु । भातसँग अलिकति गाईको दूध पिउँछु ।

दिउँसो खाजा जे उपलब्ध हुन्छ त्यही खान्छु । साँझ पनि भात नै खान्छु । मैले खाने साधारण नेपाली खाना दाल, भात, तरकारी नै हुन्छ । मासु खान त खान्छु, तर हप्तामा यति पटक, उति पटक भनेर हुँदैन । साँझ दश बजे सुत्छु । सुत्नुअघि एक पेग रक्सी पिउँछु । यसले राम्रो निद्रा पर्छ ।

बिहान दुबोमा हिँड्छु
म त्यस्तो व्यायाम केही गर्दिनँ । हरेक बिहान दुबोमा हिँड्छु । त्यसले प्रेसर तथा आँखाका लागि राम्रो गर्छ । शीत भएको दुबोमा खाली खुट्टा हिँड्थेँ । मेरा आँखा पनि अझै राम्रा छन् । पुस्तक तथा पत्रपत्रिका सानो अक्षरको पढ्दा गाह्रो हुन्छ । चस्मा लगाउनुपर्छ । ठूलो अक्षरका लागि चस्मा चाहिन्न । कान पनि राम्रैसँग सुन्छु । स्वास्थ्यमा समस्या छैन । अहिलेसम्म प्रेसर, सुगरको औषधि खानुपरेको छैन ।

चिन्ताबाट मुक्त
म चिन्ताबाट मुक्त छु । यो भएन, त्यो भएन भन्ने छैन । म ‘प्लेन लिभिङ हाई थिंकिङ’मा विश्वास राख्छु । त्यहीअनुसार चल्छु । मलाई के खाने, के लाउने भन्ने कुराले फरक पार्दैन । चिन्ता गर्ने कारण पनि छैन । सबै छोराछोरी आ–आफ्नो काममा लागेका छन् । दुखेसो गर्ने ठाउँ छैन । जे छ त्यही खायो, बस्यो ।

चिन्तन गर्छु
वनको जुरेली चरी र ममा एउटा समानता र एउटा फरकपना छ । जुरेलीले भोलि के खाने, कहाँ जाने भनेर चिन्ता गर्दैन । यो मानेमा हामी समान छौँ । फरक जुरेलीले म को हो भनेर सोच्दैन । उसमा चिन्तन हुन्छजस्तो लाग्दैन । तर, ममा चिन्तन छ । म को हुँ, केका लागि जन्मेँ, मेरो कर्तव्य के हो भनेर चिन्तन गर्छु ।

मृत्युपछिको विषयलाई लिएर चिन्तन गर्ने होइन । स्वर्ग, नर्क भन्छन्, तर त्यहाँ गएर आउने कोही छैनन् । त्यसैले बाँचुन्जेलको आफ्नो अस्तित्व, कर्तव्य, जिम्मेवारीप्रति चिन्तन–मनन गर्नुपर्छ । चिन्तन गर्न पढ्नैपर्छ भन्ने छैन । वैज्ञानिक स्टेफन हकिन्सले पनि त चिन्तन गरेर नै ब्रह्माण्डको कुरा गरे नि । शरीर चल्न नसके पनि उनले मस्तिष्क चलाइरहेका थिए । कुर्सीमा बसेर स्पेसको कुरा गरिरहेका थिए । त्यो चिन्तनकै प्रतिफल थियो । त्यसैले हामीले चिन्तन गर्न छाड्नुहुँदैन । चिन्तनले हामीलाई शारीरिक तथा मानसिक रूपमा सक्रिय बनाइराख्छ । चिन्तन, मनन गरिरहनुपर्छ, चिन्ता गर्नुहुँदैन ।

 

खराब चिन्तन नगर्नु, कसैको कुभलो नचिताउनु । संसारभरिकै मान्छे मेरो बन्धु हो, मेरो दाजुभाइ हो, दिदीबहिनी हो भनेर सोच्नु । उचनिच नसोच्नु । त्योभन्दा आनन्दको कुरा केही हुनै सक्दैन । अघिपछि जस्तो कामको दौडधुप गर्नुपर्दैन । हरेराम गाए पनि भयो, बुद्धम् शरणम् गच्छामी गाए पनि । जे गर्दा पनि आनन्दले बस्नु । त्यसैले नदेखिने ईश्वरीय बरदान हो बुढेसकाल । रमाउनुस् आफ्नो बुढ्यौलीमा ।

 

बुढेसकाल ईश्वरीय बरदान
बुढेसकाल बढेपछि चिन्ता बढ्छ भन्छन् । मलाई त्यस्तो लाग्दैन । यो उमेर त हामीले आफूलाई झनै सक्रिय राख्ने समय हो । चिन्ता लिएर केही हुँदैन । समस्याको समाधान गर्न प्रयत्न गर्नुपर्छ । चिन्तन गर्नुपर्छ । मेरा लागि बुढ्यौली भनेको ईश्वरीय बरदान हो ।

मृत्युदेखि डर मानेर हुँदैन । किनभने मृत्यु हरेक मान्छेले साथमा नै लिएर हिँडिरहेका हुन्छौँ । कतिवेला हुन्छ, त्यति मात्रै फरक हो । बुढेसकालमा चिन्ता लियो भने कानले सुन्दैन, आँखाले देख्दैन, दिमागले पनि काम गर्न छाड्छ । चिन्ता कसैले पनि लिनुहुँदैन भन्छु । हरेक चरणको आफ्नो उमेरमा खुसी रहनुपर्छ । जे छ त्यसमा खुसी हुनुहोस्, सन्तुष्ट हुनुहोस् । आफूसँग नभएको कुराको बारेमा सोचेर नबस्नुहोस् ।

खराब चिन्तन नगर्नु, कसैको कुभलो नचिताउनु । संसारभरिकै मान्छे मेरो बन्धु हो, मेरो दाजुभाइ हो, दिदीबहिनी हो भनेर सोच्नु । उचनिच नसोच्नु । त्योभन्दा आनन्दको कुरा केही हुनै सक्दैन । अघिपछि जस्तो कामको दौडधुप गर्नुपर्दैन । हरेराम गाए पनि भयो, बुद्धम् शरणम् गच्छामी गाए पनि । जे गर्दा पनि आनन्दले बस्नु । त्यसैले नदेखिने ईश्वरीय बरदान हो बुढेसकाल । रमाउनुस् आफ्नो बुढ्यौलीमा । मेरो निम्ति त यो बरदान नै हो ।

मान्छेहरू सय वर्ष बाँँच्छन् । अस्ति भर्खर एक सय बाह्र वर्ष बाँचेको भनेर टिभीमा जापानिज नागरिक देखाएको थियो । उनको खानपिन शैली हेरेको थिएँ । मिठाई मन पराउँदारहेछन् । तर, खानु मात्र पनि त जीवन होइन नि । बाँचेर मात्रै के गर्नु । विचार आउँदैन, सबै बिर्सिसक्यो, केही थाहा छैन भने । त्यस्तो जीवनको के अर्थ भयो र ? त्यस्तो अवस्था पार गर्नु नपरोस् भन्ने छ । कोमा जीवन नहोस् । बाँच्नु मात्रै ठूलो कुरा होइन । र, बाँच्नका लागि खानपिन मात्रै पनि महत्वको कुरा होइन । चिन्तन गर्न नसक्ने भएपछि जीवनको अर्थ हुँदैन ।

जीवन सत्यम्, शिवम्, सुन्दरम्
चिन्तन–मननको प्रक्रिया चलाइराख्यो भने बोधत्व प्राप्त गरिन्छ । चेतन तत्व सक्रिय हुन्छ । जीवन सत्यम्, शिवम्, सुन्दरम् बनाउन सकिन्छ । जुन एकदमै महत्वपूर्ण हो । सत्य राम्रो । जहाँ खराब कहीँ छैन बेदाग । जीवनलाई त्यस्तो बनाउनुपर्छ । शिवम् भनेको कल्याण । सबैको कल्याण गर्नु । सबैको भलो होस् । सबैलाई असल गर्न सकुँ । दुई पैसा भयो भने एक पैसा आफूलाई एक पैसा नहुनेलाई दिन सकुँ । ऊ पनि मान्छे हो, म पनि मान्छे भन्ने भावना राख्नु । कसैलाई घृणा नगर्नु । सुन्दरम् भनेको जसरी राम्रो हुन्छ, जुन बाटोमा हिँड्दा भलो हुन्छ त्यो बाटोमा हिँड्नु । यो नै जीवनको मुख्य ज्ञान हो । लाइफ इज फुल अफ केयर्स ।

महानगरपालिकाको उपहार गाडी चढ्छु
हिजोआज ललितपुर महानगरपालिकाले उपहार दिएको गाडी चढ्न थालेको छु । महानगरपालिकाले आफ्नो ज्येष्ठ नागरिकको हैसियतले गाडी दिएको छ । उहाँहरूले माया गरेर दिनु त भयो, तर राख्ने ठाउँ नभएको कारणले लिन्नँ भनेको थिएँ । त्यसैले महानगरपालिकातिर नै राख्नुहुन्छ । आवश्यक परेको वेला बोलाउँदा आइदिनुहुन्छ ।

प्रस्तुति : नुनुता राई

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु