४ खुड्किला - Naya Patrika
eNaya Patrika
  • ePaper

४ खुड्किला

१ स्कुलमा नाटक खेलेँ

सानै उमेरदेखि गाउँ र स्कुलमा नाटक खेल्ने गर्थें । बाराको अमलेखगन्जमा सात कक्षासम्म पढेँ । त्यसबीचमा थुप्रै नाटक खेलियो । अनि, ८ कक्षादेखि हेटौँडा पढ्न गएँ । त्यहीँबाट एसएलसी पास गरियो । यसबीचमा भने नाटक खेल्ने अवसर मिलेन ।

२ लय दाइकोमा इन्ट्री

०४३/४४ सालतिरको कुरा हो । म त्यस्तै, २०–२२ वर्षको थिएँ होला । पाटन क्याम्पसमा आइए पढ्थेँ । एउटा साथीले ‘बागबजारमा नाटक सिकाउने इन्स्टिच्युट छ, जाऔँ’ भन्यो । सुनील पोखरेललगायतले सिकाउनुहुन्थ्यो । दुई–चार दिन सिक्न थालेपछि निर्देशक लय संग्रौला दाइसँग त्यहीँ भेट भयो ।

उहाँले, ‘अभिनय पनि कहीँ ट्रेनिङ लिएर सिकिन्छ र ? सीधै फिल्म पो खेल्नुपर्छ त,’ भन्नुभयो । अनि, उहाँले ‘ऊ अब एक्लो छैन’ भन्ने आफ्नै टेलिसिरियलमा चान्स दिनुभयो । मैले अभिनय गर्ने अवसर पाएँ । यत्तिकै हावाकै तालमा कलाकार बनियो ।

३ ‘पूर्णे’ले डिमान्ड बढायो

लय दाइकै निर्देशनको ‘देवी’ टेलिफिल्ममा खेल्ने अवसर पाएँ । त्यहाँको ‘पूर्णे’ भन्ने क्यारेक्टर रुचाइयो । त्यो दुई वर्षको अवधिसम्म गयो । सय भागभन्दा बढीसम्म खेलियो । यसले मलाई कलाकारका रूपमा चिनायो । ‘देवी’मा हिट भएपछि मेरो डिमान्ड बढ्यो ।

पब्लिक रिलेसन पनि बढ्दै गयो । त्यसपछि त ३०–४० वटा ठूलो पर्दाका चलचित्रमा खेल्ने मौका पाएँ ।ती चलचित्रहरू ‘एक नं.को पाखे’, ‘चलचित्र’, ‘चौतारी’, ‘वसन्त ऋतु’, ‘नायक’, ‘मुनामदन’ आदि थिए ।

४ ‘मुखमा हान्नुजस्तो’ले स्थापित

जितु नेपाल र म मिलेर ‘जिरे खुर्सानी’ हास्य टेलिशृंखला चलायौँ । पहिलो डाइरेक्सन नै हिट भयो । ‘मुखमा हान्नुजस्तो’ भन्ने मेरो नामै रह्यो ।

यो टेलिशृंखला १३–१४ वर्ष चलाइयो । यसले मलाई कलाकारका रूपमा पूरै स्थापित गरायो । ‘छक्कापन्जा’, छक्कापन्जा–२’, ‘शत्रुगते’लगायत ५०–५२ वटा फिल्म खेल्ने मौका पाएँ ।

अहिले फेरि किरण दाइ (किरण केसी)सँग मिलेर ‘बे्रक फेल’ भन्ने हास्य सिरियल निर्माण र निर्देशन गरिहेको छु । मिडिया हबसँगको सहकार्यमा निर्माण भएको यो सिरियलमा आफैँले पनि अभिनय गर्दै छु । अलि फरक प्रस्तुति दिएको छु ।

तपाईको प्रतिक्रिया