नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर फेरि पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर फेरि पक्राउ

सर्वोच्चले साधारण तारेखमा छाड्ने आदेश गरेको भोलिपल्टै तामाङ पक्राउ

मानव बचेबिखन अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधरण तारेखमा छाड्ने आदेश गरेको भोलिपल्टै प्रहरीले पक्राउ गरेको छ । तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले शुक्रबार साँझ डिल्ली बजार कारागार परिसरबाट पक्राउ गरेको हो ।

सर्वोच्चको फैसलापछि उनी शुक्रबार मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए । प्रहरीका अनुसार जिल्ला अदालतले उनीविरुद्ध गरेको फैसला कार्यान्वयन बाँकी नै रहेकाले उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध नुवाकोट जिल्ला अदालतले मानव बेचबिखन अभियोगमा ३७ वर्ष ६ महिना कैद सजायसहित दुई लाख ५० हजार जरिवाना सुनाएको छ ।

सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले अदालतको फैसला कार्यान्वयन हुन बाँकी नै रहेकाले उनलाई समातिएको बताए । उनले भने, ‘सुनबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध अदालतले गरेको फैसाल कार्यन्वय हुन बाँकी नै छ । त्यही क्रममा उनलाई पक्राउ गरिएको हो ।’

१० माघमा सर्वोच्च अदालतमा सुनबहादुर तामाङको हकमा छोरा प्रदीप तामाङले दायर गरेको बन्दी प्रत्यक्षकरण रिटमा न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सामान्य तारेखमा छाड्ने आदेश जारी गरेको थियो । प्रतिवादी तामाङका बाबुको नाम दुईवटा र ठेगाना दुई ठाउँमा देखिएपछि सोही व्यक्ति हो भनी एकीन गर्न सक्ने आधार नदेखिएको भन्दै तारेखमा छाड्न भनेको हो ।

मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । १० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए ।

तामाङविरुद्धको दोस्रो मुद्दामा दुई सय महिलालाई बेचेको अभियोगमा नुवाकोट जिल्ला अदालतले ९ चैत ०७४ मा सुुनबहादुरलाई ३७ वर्ष जेल सजाय र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना घयाङफेदी–४ र बाबुको नाम वीरबहादुर तामाङ छ । पुरानो मुद्दामा ठेगाना घ्याङफेदी–६ बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो । मानव बेचबिखनमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु