बक्स अफिस लागू हुँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

बक्स अफिस लागू हुँदै

काठमाडौंमा भएका सिंगल थिएटरहरूमा नयाँ वर्ष ०७५ को आरम्भसँगै बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ लागू हुने भएको छ । चलचित्र विकास बोर्डले मल्टिप्लेक सिनेमा घरहरूमा सञ्चालित ‘ई–टिकेटिङ’लाई पनि आफ्नो डाटाहबमा जोड्ने भएको छ ।

त्यसका लागि एपिआई प्रविधि अध्यावधिकका लागि ब्रेन डिजिटले काम गरिरहेको बताइएको छ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले वैशाख पहिलो सातादेखि बक्स अफिस लागू गर्ने घोषणा यसअघि नै गरेकी थिइन् ।

सोहीअनुसार वैशाख १० गतेदेखि औपचारिक रूपमा बक्स अफिस सुरु हुने भएको हो । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा पहिलो परीक्षण सम्पन्न गरिएको छ । बोर्डका अनुसार कोटेश्वर जडीबुटीस्थित पुष्पाञ्जली, बौद्धस्थित सिद्धार्थ र पृथ्वी, कलंकी सिनेमा हलमा वैशाख १० गतेदेखि नै बक्स अफिस प्रणाली लागू हुनेछ । यसका लागि ब्रेन डिजिटले सर्भर जडान गरिरहेको बोर्डले जनाएको छ ।

‘गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउने दर्शकले ई–टिकेटिङ सिस्टमबाट टिकट काट्नुहुनेछ,’ परीक्षणका क्रममा बोल्दै अध्यक्ष पौडेलले भनिन् । आगामी साउनदेखि देशभर नै बक्स अफिस प्रणाली अनिवार्य रूपमा लागू हुनेसमेत उनले बताइन् ।

राज्यलाई तिर्नुपर्ने करमा हल सञ्चालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनुपर्ने भएकाले श्रावणदेखि बक्स अफिस प्रणाली लागू हुने उनले बताइन् ।

तपाईको प्रतिक्रिया