फेरि हमला भए अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत हुनेछ : पुटिन - Naya Patrika
eNaya Patrika
  • ePaper

फेरि हमला भए अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत हुनेछ : पुटिन

सिरिया हमलापछि अमेरिका–रुसबीच वाकयुद्ध –

अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा सिरियामा मिसाइल आक्रमण गरेपछि रुष्ट बनेको रुसले फेरि त्यस्तै हमला भएमा अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत हुने चेतावनी दिएको छ । रुसले गत शनिबार बिहान भएको हमलाको कडा विरोध गर्दै आएको छ भने अमेरिकाले हमला आवश्यक रहेको बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलालगत्तै मिसन पूरा भएको अभिव्यक्ति दिएका थिए । उनले सिरिया सरकारले आफ्नो देशमा रासायनिक आक्रमण गरेमा फेरि यस्तै हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि हमला भएमा अन्तर्राष्ट्रिय मूल्य–मान्यताहरू बाँकी नरहने बताए । ‘भ्लादिमिर पुटिनले कडा रूपमा भनेका छन्, ‘यदि संयुक्त राष्ट्रसंघका चार्टर्ड उल्लंघन गरेर यस प्रकारको कारबाही गरिए अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अराजकता निम्तिनेछ,’ इरानका राष्ट्रपति रोउहानी र पुटिनबीचको टेलिफोन वार्तापछि रुसी राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुटिन र इरानका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ र सिरिया संघर्षको राजनीतिक हल निकाल्ने बाटोमा शनिबारको हमलाले क्षति पु¥याएको निष्कर्षमा दुवै नेता पुगेका छन् ।’

के छ सिरियामाथिको आरोप ?
सिरिया सरकारले ७ अप्रिलमा पूर्वी डुमास्थित गुटामा आफ्ना नागरिकमाथि निरन्तर रासायनिक हमला गरेको अमेरिका र पश्चिमा राष्ट्रको आरोप छ । सिरिया सरकार तथा उसका सहयोगी राष्ट्र इरान र रुसले भने रासायनिक हमलाको विषयलाई अस्वीकार गर्दै आएका छन् । उनीहरूले यसलाई पश्चिमा राष्ट्र र अमेरिकाको षड्यन्त्र भनेका छन् ।

प्रत्यक्षदर्शी तथा मानवअधिकारवादी संस्थाहरूले यस हमलामा ठूलो संख्यामा सर्वसाधारण र विद्रोहीको मृत्यु भएको बयान दिएका छन् । यस विषयमा छानबिन गर्न अर्गनाइजेसन अफ द प्रोहिविसन अफ केमिकल (ओपिसिडब्ल्यू)को टोली अप्रिल १४ मा सिरिया जाने कार्यक्रम थियो । तर, रासायनिक हतियारको प्रयोगमा रोक लगाउने संस्थाले हतियार प्रयोग भए÷नभएको निरीक्षण गर्नुअघि नै अमेरिका, बेलायत र फ्रान्सले हमला गरे ।

राजधानी दमास्कस तथा होम्स प्रान्तनजिकका सिरियाली सैन्य अखडामा शनिबार बिहान १ सय ५ वटा मिसाइल प्रहार भयो । यी अखडामा सिरियाले रासायनिक हतियार उत्पादन गर्ने गरेको अमेरिकाको दाबी छ । रुसले हमलाको विरोधमा संयुक्त राष्ट्रसंघमा आवाज उठाए पनि निन्दा प्रस्ताव पारित हुन सकेन । रुससँगै चीन र बोलिभियाले पनि निन्दा प्रस्ताव पारित हुनुपर्ने अडान राखेका थिए।

अमेरिकाको आक्रामक नीति
शनिबार सिरियाको दमास्कस र होम्समा सैन्य कारबाही गरेपछि अमेरिका थप आक्रामक देखिएको छ । आइतबार संयुक्त राष्ट्रसंघमा बोल्दै अमेरिकी राजदूत निकी हेलीले रुसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने बताएका थिए । रुसले सिरियालाई रासायनिक हमला गर्न सघाएको अमेरिकाको आरोप छ । अमेरिकी टेलिभिजन च्यानल सिबिएसलाई दिएको एक अन्तर्वार्तामा हेलीले रुसी कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् । उनले सिरियामा भएको रासायनिक हमलामा ती कम्पनी पनि जिम्मेवार रहेको आरोप लगाएका छन् ।

‘प्रतिबन्धको डर छैन’
रुसले आर्थिक प्रतिबन्धका लागि आफू तयार रहेको जनाएको छ । रुसी सांसद तथा माथिल्लो सदनमा रक्षा समितिका उपनिर्देशक रहेका एवगेनी सेरेब्रेनिकोवको भनाई उद्धृत गर्दै रुसको सरकारी सञ्चारमाध्यमले लेखेको छ, ‘रुस यस्ता प्रतिबन्धहरूका लागि तयार छ । प्रतिबन्धले हामीलाई समस्यामा पार्नेछ । तर, हामीलाई भन्दा बढी समस्या अमेरिका र युरोपलाई नै पर्नेछ ।’

‘रुसलाई पहिले नै जानकारी थियो’
७ अप्रिलमा भएको भनिएको रासायनिक हमलालगत्तै अमेरिकाले सिरियामा हमला गर्ने चेतावनी दिएको थियो । त्यसयता, नै रुस र अमेरिकाबीच वाकयुद्ध सुरु भएको थियो । संयुक्त राष्ट्रसंघका लागि रुसी दूत वासिली नेवेन्जियाले गत साता नै भनेका थिए, ‘यदि अमेरिकाले सिरियामा हमला ग¥यो भने रुस र अमेरिकाबीच युद्ध हुने सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’

शनिबार अमेरिकाले हमला गरेपछि रुस संयुक्त राष्ट्र संघमा निन्दा प्रस्ताव पारित गर्ने प्रयासमा देखियो । तर, उसको प्रयास सफल भएन । अमेरिकाले यस हमलामा होम्स र दमास्कसमा रहेका रुस र इरानका सैन्य टुुकुडीमा क्षति पुर्‍याउने काम नभएको जनाएको छ । बेलायतले यस हमलाका विषयमा रुसलाई पहिले नै जानकारी दिएर साबधान गराइएको प्रतिक्रिया दिएको छ । फ्रान्सले पनि रुसलाई पहिले नै हमलाको विषयमा जानकारी दिइएको दाबी गरेको छ । सिरियाको सरकारी च्यानलका अनुसार रुसको सूचनापछि ती केन्द्रहरूलाई धेरै दिनअघि नै सरकारले खाली गराएको थियो, जहाँ अमेरिका, बेलायत र फ्रान्सले शनिबार हमला गरे ।

नयाँ शीतयुद्धको खतरा
७ अप्रिलमा भएको भनिएको रासायनिक हमलापछि अमेरिकी राष्ट्रपति ट्रम्पले सिरिया मात्रै नभएर रुस र इरानले पनि अन्तर्राष्ट्रिय नियम तोड्दाको मूल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएका थिए । धेरै जानकारहरूले यस हमलापछि नै रुस र अमेरिकाबीच अन्तर्राष्ट्रियस्तरमा विवाद बढ्ने अनुमान लगाएका छन् । पछिल्लो सातादेखि नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक सिरियाको समर्थन र आलोचनामा केन्द्रित छ । शुक्रबारको सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुट्रेसले भनेका छन्, ‘सिरियाको युद्धमा सहभागी भएका देशहरूबीच देखिएको विवाद अहिले विश्व सुरक्षा र शान्तिका लागि सबैभन्दा ठूलो खतरा हो ।’ उनले यो स्थितिलाई नयाँ शीतयुद्ध भनेका छन् ।

‘बढ्दो तनाव र जिम्मेवारी तय गर्नका लागि कुनै सम्झौतामा पुग्न नसकिने अवस्थामा सैन्य हमलाको खतरा बढेको छ,’ उनले भनेका छन् । गुट्रेसले यो पनि भनेका छन् कि, ‘नयाँ शीतयुद्धबाट यो पनि थाहा हुन्छ कि यस्तो खतरा साम्य पार्नका लागि दशकौँ पहिले जे–जस्ता विकल्प थिए । अहिले त्यस्तो छैन ।’ उनले ठूला राष्ट्रहरूलाई यस्तो खतरापूर्ण स्थितिमा जिम्मेवारीपूर्वक काम अघि बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया