अंकदूरी घटाउँदै रियल म्याड्रिड - Naya Patrika
eNaya Patrika
  • ePaper

अंकदूरी घटाउँदै रियल म्याड्रिड

गणितीय आधारमा मात्र उपाधि रक्षा गर्ने आशा बाँकी राखेको रियल म्याड्रिडले आइतबार राति मालागालाई २–१ ले हराउँदै स्पेनिस लालिगामा शीर्ष स्थानमा रहेको बार्सिलोना र एट्लेटिको म्याड्रिडसँग अंकदूरी घटाएको छ । मालागालाई हराएपछि रियलले तेस्रो स्थानमा रहेको भ्यालेन्सियालाई विस्थापित गरेको छ । बार्सिलोना शीर्ष स्थानमा रहँदा एट्लेटिको म्याड्रिड दोस्रो, रियल म्याड्रिड तेस्रो तथा भ्यालेन्सिया चौथो स्थानमा छन् ।

१५ अंकले पछाडि
स्पेनिस लिगामा कीर्तिमानी रूपमा ३९ खेलसम्म अपराजित रहेको बार्सिलोनाले शीर्ष स्थानमा सर्वाधिक ८२ अंक जोडेको छ । तालिकाको पुछारमा रहेको मालागालाई हराएको रियलले ६७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोको ७१ अंक छ । पाँचौँ स्थानको रियल बेटिस चौथो स्थानको भ्यालेन्सियाभन्दा १३ अंकले पछि छ ।

उपविजेता लक्ष्य
उपाधि होडबाट निकै टाढिएको रियलको अबको लक्ष्य नै दोस्रो स्थानमा उक्लने हो । दोस्रो स्थानमा रहनु भनेको उपविजेता बन्नु हो । रियलले यसका लागि दोस्रो स्थानमा रहेको एट्लेटिकोलाई पाखा लगाउनुपर्छ । रियल अझै पनि एट्लेटिकोभन्दा ४ अंकले पछि छ । शीर्ष चारमा रहने टोली सीधै अर्को वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा छनोट हुनेछ ।

रियलको दबाब
खराब अवस्थाबाट गुज्रिएको मालागा रेलिगेसनमा पर्ने लगभग पक्का छ । लिगको पुछारमा रहेको मालागाले ४ खेलमा मात्र जित निकालेको छ । मालागाले रियलविरुद्ध पनि आफ्नो खराब फर्म सुधार्न सकेन । मालागाविरुद्ध २९औँ मिनेटमा इस्कोले रियललाई १–० को अग्रता दिलाए । रियलले ६३औँ मिनेटमा कासेमेरोको गोलमार्पmत २–० को अग्रता लियो । इस्कोको पासमा कासेमेरोले गोल गरेका हुन् । इन्जुरी समयमा मालागाले १ गोल फर्काएको थियो ।

तपाईको प्रतिक्रिया