आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक निर्माण तयारी तीव्र - Naya Patrika
eNaya Patrika
  • ePaper

आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक निर्माण तयारी तीव्र

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको मध्यपश्चिम क्षेत्रीय विकास समिति धमाधम भौतिक पूर्वाधार निर्माण गर्दै

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक निर्माणलाई तीव्रता दिएको छ । भारोत्तोलन एकेडेमीको भुइँतला निर्माण सम्पन्न भएको छ । भुइँतलामा रङरोकन कार्य अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष भीम ओलीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । उनले दुई सातापछि नयाँ भवनमा भारोत्तोलनको अभ्यास गर्न सकिने बताए ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रयोग हुने स्विमिङपुल निर्माणाधीन अवस्थामा । तस्बिर :नयाँ पत्रिका

भारोत्तोलन एकेडेमीको माथिल्लो तला निर्माण पनि छिट्टै सुरु हुने भवन निर्माण समितिका अध्यक्ष रतनकुमार टन्डनले बताए । टन्डनका अनुसार माथिल्लो तलामा महिला र पुरुषका लागि छात्रावास, सभाहल, लाइब्रेरीलगायत सुविधासम्पन्न भवन निर्माण हुनेछ ।

स्विमिङपुल निर्माणमा तीव्रता
प्रतियोगितालाई मध्यनजर गरी स्विमिङपुल निर्माण पनि तीव्र गतिमा भइरहेको समितिका अध्यक्ष ओलीले बताए । उनले प्याराफिट, चेन्जिङ रुम, बाथरुम निर्माण र लकर भवनको तल्लो तला ढलान भइसकेको बताए । प्याराफिटको तल अफिसियल रुम निर्माण गरिने भएको छ । स्विमिङपुल निर्माण पनि सँगसँगै भइरहेको छ । स्विमिङपुल नर्माणको ७० प्रतिशत काम पूरा भइसकेको छ । प्याराफिटमा एक हजार दर्शकले सहजै खेल हेर्न सक्छन् । ०७६ असार मसान्तसम्म सम्पन्न गर्ने सम्झौता भए पनि आठौँ राष्ट्रिय प्रतियोगिताअघि नै निर्माण कार्य सम्पन्न हुने सुनकोसी ड्रागन वल्र्ड वाइड जेभी कन्स्ट्रक्सनका प्रोप्राइटर गणेश आचार्यले बताए ।

सुटिङ रेन्जको तयारी
आठौँ राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी सुविधासम्पन्न सुटिङ रेन्ज निर्माण गरिने भएको छ । पुरानो भवन भत्काएर नयाँ सुटिङ रेन्ज भवन निर्माण प्रक्रिया अगाडि बढिसकेको समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए । उनले ०७५ असार मसान्तभित्र नयाँ भवन निर्माण हुने बताए । मंसिरमा हुने राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी सुटिङ भवनसँगै रेन्ज निर्माण गरिन लागेको थापाले जानकारी दिए ।

रंगशालामा १२ महिनै खेल्न सकिने
मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिले रंगशाला निर्माणको काम पनि धमाधम भइरहेको जनाएको छ । रंगशालाको पश्चिमतर्फ रहेको पर्खाल र विशिष्ट श्रेणीका पाहुना बसेर खेल अवलोकन गर्न बनाइएको भवन भत्काएर नयाँ बनाउन लागिएको छ । भत्काइएको पर्खालनजिक प्याराफिट निर्माण गरिने भएको छ । रंगशालामा माटो पटान गरी १२ महिनै फुटबल खेल्न सकिने बनाइएको छ । एथलेटिक्सका लागि ट्र्याक निर्माण प्रक्रिया अघि बढिसकेको समितिका प्रमुख विष्णु शर्माले जानकारी दिए । उनले फुटबल मैदान लगभग तयार भइसकेको बताए । एथलेटिक्स प्रतियोगिताका लागि ट्र्याक निर्माण गर्न माटो पटान सुरु भइसकेको बताउँदै उनले राष्ट्रिय प्रतियोगिताका लागि सेन्थेटिक्स ट्र्याक ओछ्याउने बताए ।

बजेट विनियोजन भएन
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताका लागि खजुराका सीतापुरमा भलिबल एकेडेमीको शिलान्यास गरेका थिए । भवनको शिलान्यास भए पनि बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको छ । भलिबल एकेडेमी भवनको शिलान्यास गर्दैै परिषद्का सदस्य–सचिव विष्टले निर्माण प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए । तर, अहिलेसम्म बजेट नआएको समितिका अध्यक्ष भीम ओलीले बताए ।

तपाईको प्रतिक्रिया