कम्युनिज्म ल्याएको हेर्न मन छ : पौडेल - Naya Patrika
eNaya Patrika
  • ePaper

कम्युनिज्म ल्याएको हेर्न मन छ : पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले कम्युनिस्ट पार्टी मिलेको हेर्न चाहेको बताएका छन् । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने बाचा गरेर जनतासँग मत मागेकाले दुवै दलबीच एकता हुनुपर्ने उनको भनाइ छ । पोखरामा सोमबार नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश ४ को पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले विश्वमा फेल भइसकेको कम्युन नेपालमा कसरी लागू हुन्छ भनेर हेर्ने इच्छा रहेको ताए । ‘मिलेर अगाडि बढ्छौँ भन्नुभएको हो, जनताले मत दिएर जिताएका छन्,’ उनले भने, ‘तपाईंहरू मिलेर ल्याउने कम्युनिज्म कस्तो हुँदो रहेछ, त्यो जनताले राम्रोसँग हेर्नेछन्, मलाई पनि हेर्न मन छ ।’

नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी नभई जनताको मत कब्जा गर्न सुझाब दिए । सभापति देउवाले एकतर्फी निर्णय गर्ने गरेको आरोप लगाउँदै आएका पौडेलले उनको नाम उच्चारण नगरी यस्तो सुझाब दिएका हुन् । राजनीति जनताको सेवाका लागि गरिने भन्दै उनले आफ्नो स्वार्थका लागि राजनीति गर्न नहुने बताए । ‘छलछाम गरेर नेतृत्व गर्ने कांग्रेसको चरित्र होइन,’ पार्टी नेतृत्वतर्फ लक्षित गर्दै उनले भने, ‘आचरण सुधारेर जनताको मन जित्नतर्फ लागौँ ।’

आफ्नो पार्टी हारेको नभई दुई ठूला कम्युनिस्ट पार्टी मिलेकाले पछाडि परेको कांग्रेस सभापति देउवाको भनाइको पौडेलले प्रतिवाद गरे । कांग्रेस नेतृत्वको आचरण, जीवनशैली र व्यवहार नीतिअनुकूल नहुँदा कांग्रेसले पराजय भोगेको उनको तर्क छ । ‘अरू मिलेकाले हामी हारेको भन्ने गरेको सुनेको छु,’ उनले भने, ‘त्यस्तो कदापि भन्न हुन्न, ७५ प्रतिशत जनताको समर्थन हामीलाई हुनुपर्छ भन्ने मेरो मान्यता हो, हाम्रो व्यवहारले त्यो हुन सकेन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु