कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो : देउवा - Naya Patrika
eNaya Patrika
  • ePaper

कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो : देउवा

प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशमा अधिनायकवाद सुरु गरेको आरोप लगाएका छन् । सरकारले मनोमानी ढंगले काम गरिरहेको बताउँदै प्रतिपक्ष दलसँग कुनै छलफल नगरेको उल्लेख गरेका छन् । नेपाल तरुण दलको आयोजनामा हेटौँडामा सुरु प्रदेश ३ स्तरीय प्रशिक्षण भेलाको सोमबार उदघाटन गर्दै उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो, मनोमानी बढ्यो ।’

देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको र उनी कहिल्यै राष्ट्रवादी बन्न नसक्ने टिप्पणी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले हिमाल, पहाड र मधेसलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए । सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले दाबी गरे ।

कांग्रेसलाई बेवास्ता गरे प्रतिवाद
कांग्रेसलाई बेवास्ता गर्दै अघि बढे प्रजातान्त्रिक मूल्य मान्यताअनुसार कम्युनिस्टविरुद्ध लडाइँ लड्ने चेतावनी सभापति देउवाले दिए । ‘पछिल्लो एक दशकको तीन चौथाइ समय सरकारमा बसेका कम्युनिस्ट नै मुलुकको बेथितिमा मुख्य जिम्मेवार हुन्,’ उनले भने । देउवाले दुई कम्युनिस्ट पार्टी मिलेको र पार्टीभित्र अनुशासनहीन र अन्तर्घातका कारण चुनावमा कांग्रेसले पराजय व्यहोरेको दाबी गरे । ‘एमाले र माओवादी केन्द्र मिलेकाले कांग्रेस निर्वाचनमा हार्नु स्वाभाविक हो,’ उनले भने ।

कांग्रेसमा ‘छाडातन्त्र’ हाबी
देउवाले कांग्रेसमा ‘छाडातन्त्र’ हाबी भएको बताए । ‘कांग्रेसमा खुलेआम गुटबन्दी भएका कारण चुनावमा पराजय भोग्नुपरेको हो । जबसम्म अन्तर्घात गर्नेलाई कारबाही हुँदैन, पार्टी कसरी अघि बढ्छ,’ उनले भने । अन्तर्घात नभएको भए कांग्रेसले २० सिट बढी जित्न सक्ने दाबी उनको थियो । टिकट नपाउनेले अन्तर्घात गर्दा पार्टीमा असर परेको उनले बताए । कांग्रेसमा अनुशासन आवश्यक भएको भन्दै देउवाले अन्तर्घातीलाई कारबाही गर्दै छाडातन्त्र अन्त्य गरेर पार्टीलाई फेरि ठूलो बनाउने उद्घोष गरे ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले तरुणको भूमिका कांग्रेसमा अझ सशक्त भएको बताए । सरकारमा नभएको समयमा अब संगठन निर्माणमा ध्यान दिन उनले आग्रह गरे । अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले चुनाव हारे पनि जनमत भने अझै आफूहरूको पक्षमा रहेको दाबी गरे । तरुण दल केन्द्रीय अध्यक्ष जितजँग बस्नेतले संगठनलाई सशक्त बनाएर अघि बढ्ने बताए । दुई दिन चल्ने प्रशिक्षणमा प्रदेश ३ का १५० प्रतिनिधिको सहभागिता रहेको सहआयोजक तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु