परराष्ट्रमन्त्री चीन प्रस्थान, बुधबार उच्चस्तरीय भेटवार्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

परराष्ट्रमन्त्री चीन प्रस्थान, बुधबार उच्चस्तरीय भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । ग्वान्जाउ हुँदै उनी बेइजिङतर्फ लागेका हुन् । ज्ञवालीले प्रधानमन्त्री केपी ओलीका तर्फबाट चीनका प्रधानमन्त्री लि खछियाङ र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।

चीन जानुअघि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नयाँ सरकारको विदेश नीतिका प्राथमिकता, चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन र नेपाल–चीन उच्चस्तरीय भ्रमण आदानप्रदानबारे छलफल हुने जानकारी दिए । बुढीगण्डकी जलविद्युत् परियोजनाबारे भ्रमणमा छलफल नहुने उनले बताए ।

चिनियाँ प्रधानमन्त्रीसँगको भेटबारे मन्त्रालय अनभिज्ञ
ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यी र प्रधानमन्त्री लि खछियाङसँग भेट्ने कार्यक्रम छ । तर, प्रधानमन्त्रीसँग हुने भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छैन । ज्ञवालीको सम्मानमा विदेशमन्त्री यीले दिवाभोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्ञवालीले बुधबार चीनका एकजना शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिएको छ, तर कोसँग भेट्ने भन्ने चीनको विदेश मन्त्रालयले जानकारी दिइसकेको छैन । ‘स्टेट लिडरसँग भेटवार्ता हुने भनिएको छ, तर कोसँग भन्ने जानकारी आइसकेको छैन,’ नेपाली दूतावासका प्रवक्ता हरिश्चन्द्र घिमिरेले भने ।

दुई वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा कृष्णबहादुर महरा चीन जाँदा प्रधानमन्त्री लि खछियाङले भेटेका थिए । ०६२ सालमा तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रपति हु जिन्ताओसँग भेटेका थिए । यसपटक ज्ञवालीको प्रधानमन्त्रीसँग भेटवार्ता हुने अड्कलबाजी नेपाली अधिकारीहरूको छ ।

परराष्ट्रमन्त्रीको भ्रमण टोलीमा मन्त्री हैसियतका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयको चीन हेर्ने डिभिजन प्रमुख गणेशप्रसाद ढकाललगायत सहभागी हुनेछन् । ज्ञवालीले ४ वैशाखमा नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा चिनियाँ बुद्धिजीवी, नेपालका लागि पूर्वराजदूत र पत्रकारसँग गोलमेच अन्तत्र्रिmया गर्ने तय भएको छ । उनले परिवर्तित सन्दर्भमा नेपालको विदेशनीतिबारे बोल्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले ७ वैशाखमा सिचुआन प्रान्तको छेन्दुस्थित सिचुआन विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी ८ वैशाखमा स्वदेश फर्कनेछन् ।

चीनसँगको सम्झौता कार्यान्वयनमा जोड
ज्ञवालीले ०७२ चैतमा केपी ओली नेतृत्वको सरकार र चीनबीच भएका १० बुँदे सम्झौता कार्यान्वयनमा जोड दिने पनि बताए । ‘त्यसवेला असाध्यै महत्वपूर्ण सम्झौता भएको थियो, कार्यान्वयनको समग्र समीक्षा गरिरहेका छौँ, मैले केही दिनअघि सबै मन्त्रालयका सचिवज्यूसँग अपडेट लिएको छु,’ ज्ञवालीले भने, ‘केही मस्यौदा सन्तोषजनक भइसकेको र केही हुने चरणमा छ ।’

चीनसँग पारवहन तथा यातायात सम्झौताको प्रोटोकलसम्बन्धी मस्यौदा नेपालले गत भदौमै चीनलाई दिएको थियो । ‘चीनले अध्ययन गरेको होला, उहाँहरूको जवाफ दिएपछि हस्ताक्षर हुनेछ,’ ज्ञवालीले भने । चीनसँग किमाथांका, रसुवागढी, कोरलालगायतका नाकाबाट सीमापार विद्युत् प्रसारण लाइन निर्माणका बारेमा छलफल भइरहेको पनि उनले जानकारी दिए ।

यसैगरी, बेल्ट एन्ड रोड इनिसिएटिभ्स, एसियाली पूर्वाधार विकास बैंकअन्तर्गतका परियोजनाबारे छलफल भइरहेको ज्ञवालीको भनाइ थियो । ‘हामी मूलतः बिआरआईमा सहकार्यको मोडालिटी के हुन्छ, यसमा छलफल गर्छौं,’ परराष्ट्रमन्त्रीको भनाइ थियो । मन्त्री ज्ञवालीले निकट भविष्यमा तातोपानी नाका खुल्नेबारे प्रगति हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु