९ वैशाखमा एमाले-माओवादीबीच एकता होला ? - Naya Patrika
eNaya Patrika
  • ePaper

९ वैशाखमा एमाले-माओवादीबीच एकता होला ?

गत दसैँको छेको पारेर एमाले–माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०/४० को भागवण्डामा तालमेल गर्ने र दुवै पार्टीलाई मर्ज गरी एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्घोष गरेका थिए । सोही आधारमा कम्युनिस्ट पार्टीको स्थापना भएको तिथि र लेनिन जयन्तीलाई साक्षी राखेर आगामी ९ वैशाखमा पार्टी एकता गर्ने निर्णय गरेका थिए ।

निर्धारित मिति जतिजति वरवर आउँछ, एकताको विषयमा कस्सिएको गाँठो फुकाउन त्यतित्यति नै हम्मेहम्मे परिरहेको छ । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने, ओली–प्रचण्डले महाधिवेशनसम्म आलोपालो बैठक सञ्चालन गर्ने, मार्क्सवाद, लेनिनवालाई पार्टीको मार्गनिर्देशन सिद्धान्त मान्ने विषयमा दुवै दलले समझदारी जुटाइसकेका छन् भने माओवाद, जनताको बहुदलीय जनवाद र २१औँ शताव्दीको जनवादमा मिलेका साझा विषयलाई ग्रहण गरी परिमार्जन र विकाससहित बहस, छलफलमा लैजाने र माओत्सेतुङलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताका रुपमा स्विकार्ने विषयमा पनि सहमति कायम भइसकेको छ ।

विवाद के मा ?

एकीकृत पार्टीको सैद्धान्तिक विषयमा खासै ठूलो विवाद नरहेको भएता पनि पार्टीको संख्यात्मक विषयमा कस्सिएको गाँठा फुकाउन दलहरुलाई निकै सकस परिरहेको छ । माधवकुमार नेपाल नेतृत्वले राजनीतिक प्रतिवेदन र रामबहादुर थापा वादलको नेतृत्वको कार्यदलले अन्तरिम विधान मस्यौदा पार्टी एकता संयोजन समितिलाई बुझाइसकेको छ । कार्यदलले बुझाएको प्रतिवेनदमा संख्यात्मक विषय, माओवादी जनयुद्धलाई प्रस्तावनामा कहाँनेर समेट्ने, पार्टीको चुनाव चिह्न सूर्य राख्ने कि सूर्यभित्र हँसियाहथौडा पनि समावेश गर्ने भन्ने विषयको विवाद निवारण हुन नसक्दा पार्टी एकता अन्योलमा परिरहेको वाम गठबन्धनका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार एमालेले जनयुद्ध शव्दप्रति विमति जनाएको, चुनाव चिह्न सूर्य मात्रै हुनुपर्ने र पछिल्लो निर्वाचनको परिणाम अनुसार संख्या वाँडफाँड गर्नुपर्ने भनी अडान राखेको र माओवादीले प्रस्तावनामा जनयुद्ध शव्द समेटिनुपर्ने, सूर्य भित्र हँसियाहथौडा राखेको चुनाव चिह्न बनाउनु पर्ने र बराबर संख्यामा पार्टी एकता गरिनुपर्नेमा आफ्ना अडान राखिरहेको बताए । खासगरी प्रधानमन्त्री केपी ओली भारत भ्रमण जानु अघि नै पार्टी एकता गर्नुपर्ने पक्षमा थिए ।

१२ चैतमा अखिल क्रान्तिकारीको दुई दिने गोप्य प्रशिक्षणमा प्रचण्डले बराबरी र सम्मानजनक सहभागिताको आधारमा पार्टी एकता हुने नत्र नहुने भनी दिएको अभिव्यक्ति बाहिरिएपछि एकतामा दरारता कायमै रहेको भन्ने थाहा भएको हो । २३ चैतमा प्रधानमन्त्री ओली भारत भ्रमणमा गएपछि त्यसयता संयोजन समितिको बैठक बस्न सकेको छैन । नेपाल र बादल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन उपर छलफल नै भएको छैन भने विवादित विषयबारे ठोस प्रगति भएको छैन ।

ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता

राराबाट फर्किएका प्रधानमन्त्री ओली र सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएका माओवादी अध्यक्ष प्रचण्डबीच आज बालुवाटारमा ‘वान टु वान’ वार्ता भएको छ । दुई नेताबीचको वार्ताले पनि ठोस निष्कर्ष निकाल्न सकेन । ओली–प्रचण्डबीचको छलफलले मंगलबार विहान ९ बजे बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक डाक्ने निर्णय भएको प्रचण्डको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार विष्णु सापकोटाले नयाँ पत्रिकालाई जानकारी दिए ।

पार्टी एकताबारे ‘जुवाको खाल उठिसक्यो, च्याखे दाउ नथाप्न’ आग्रह गर्ने प्रधानमन्त्री ओली र ‘पुल भत्काएर अघि बढियो, अब पछाडि फर्कने ठाउँ छैन’ भन्ने अध्यक्ष प्रचण्डलार्इ एकताको विषयमा अड्किएको हलोलाई सहजरुपमा अवतरण गराउन सकस परिरहेको देखिन्छ । लाखौँ जनताको उपस्थितिमा ९ गते पार्टी एकता गर्ने बताउने एमाले–माओवादीका लागि विवादित विषयलाई सहजताका साथ पाखा लगाउन सकस परिरहेको बेला सोही दिनमा एकता हुन्छ भन्ने विश्वासिलो आधार छैन ।

एमाले–माओवादी एकता : विचार मिल्यो, पद किचलो !

तपाईको प्रतिक्रिया