प्रहरीको दुर्व्यवहार विरुद्ध ट्यांकर चालकद्वारा पेट्रोलियम ढुवानी ठप्प - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रहरीको दुर्व्यवहार विरुद्ध ट्यांकर चालकद्वारा पेट्रोलियम ढुवानी ठप्प

ट्याङ्कर चालकलाई प्रहरीले कुटपिट गरेको विरोधमा ट्याङ्कर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । ट्याङ्कर चालक संघको आव्हानमा ढुवानी ठप्प पारिएका कारण सोमबार बिहानदेखि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ आउन सकेको छैन ।


वीरगञ्जको शंकराचार्य गेट नजिक रहेको इनर्वा प्रहरी चौकीका प्रमुख विनोद मल्लिक र उनका मातहतमा रहेका प्रहरीहरुले अनाहकमा ट्यांकर चालकलाई दिनहुँ जसो दुर्व्यवहार र कुटपिट गर्ने गरेकको आरोप ट्याङकर चालकहरुको छ । आईतबारदेखि नै तेल ढुवानी ठप्प पारिएको उनीहरुको दावी छ । ट्याङकर चालकलाई दुव्र्यवहार गर्ने प्रहरीहरुलाई विभागीय कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार स्थानीय प्रशासनले गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

अपशब्द सहित दुर्व्यवहार
आईतबार अपरान्ह चारबजे रक्सौल डिप्पोबाट वीरगञ्जतर्फ आउने क्रममा गाडी पार्किङ गर्न खोज्दा प्रहरीहरुले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको ना.३.ख ९६३९ नम्बर गाडीका चालक सन्तोष प्रसाईले बताए । ‘नेपाल तर्फ आईसकेपछि अयल निगमको पार्किङमा गाडी पार्क गर्न लाग्दा तल भर्न भने पछि तल झरे’ प्रसाइले भने, ‘झरेपछि हातमा भएको लठ्ठी भाँचिने गरि हान्नुभयो । सिपाही हो कि हवल्दार मैले चिन्ह सकिन ।’
लाठी सँगै गाली समेत गरेको र गाली नगर्नु भन्दा झन दुव्र्यवहार भएको उनले बताए । पछि असई आएर पनि दुर्व्यवहार नै गरेको र अरु पनि प्रहरी बोलाएर कार्यालयमा लगेर कुटपीट गरिएको उनको भनाइ रहेको छ । उनले प्रहरीले दुर्व्यवहार गर्नुको साथै सर्ट समेत च्यातिदिएको बताए ।

प्रहरी भन्छ सामान्य विवाद मात्र
तर ट्याङकर चालकले पिक आवरमा व्यस्त सडकमा गाडी घुमाएर सडक अवरुद्ध पारेपछि सामान्य विवाद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । ‘रक्सौलबाट आउने क्रममा ट्याङकर चालकले व्यस्त सडकमै गाडी घुमाएर पार्किङ गर्न खोजेका रहेछन्, ट्राफिक व्यवस्थापन मिलाउने क्रममा प्रहरीले त्यसो नगर्न आग्रह गर्दा ठूलो स्वरमा विवाद गरेका कारण सामान्य दुव्र्यबहार भएको हो।’ उनले भने, ‘प्रहरीले कागजपत्र माग्नुका साथै नियन्त्रणमा सामान्य सोधपुछ गरेको हो ।’

पेट्रोलियम पदार्थ ठप्प
नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष बिनोद मानन्धरले कुटपिटबाट घाइते भएका चालकको उपचार तथा कुटपिट गर्ने प्रहरीलाई कारवाही नभएसम्म अमलेखगञ्जका साथै आइओसीको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ उठाउन नदिने बताए ।
नेपाल आयल निगम अमलेखगञ्जका डिप्पो प्रमुख प्रदिप कुमार यादवले बेला बेलामा देखिने यस्ता समस्याको दिगो समाधान हुनुपर्ने बताए । ‘बेला बेलामा यस्ता घटना हुनु दुःखद हो । ट्याङकर चालकलाई प्रहरीबाटै दुव्र्यबहार भएको बारेमा मैले माथिल्लो निकायमा जानकारी गराईसकेको छु ।’ उनले भने, ‘न्याय दिने निकायले नै अन्याय गर्नु गलत छ । हिजो पनि जामले गर्दा पेट्रोलियम पदार्थ लोड हुन सकेन, आज हड्ताल नै छ । समस्या समाधान हुन नसके पेट्रोलियम पदार्थको अभाव हुन सक्छ ।’

समस्या समाधानका लागि छलफल
समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल गरिने बताईएको छ । अन्याय परेको अवस्थामा चालकले न्याय पाउनुपर्छ भन्ने भनाई आफूहरुको पनि रहेको उनले बताए । भारतको बरौनी र रक्सौलबाट वीरगञ्ज, अमलेखगञ्ज, पोखरा, काठमाडौंको सिनामंगल रुटमा तेल ढुवानी गर्ने तीन सय वटा ट्यांकर ओहोरदोहोर गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया