सरकारको भर्ना अभियान सुरु : चेपाङ बालबालिका भने कन्दमूल खोज्दै जंगल पसे - Naya Patrika
eNaya Patrika
  • ePaper

सरकारको भर्ना अभियान सुरु : चेपाङ बालबालिका भने कन्दमूल खोज्दै जंगल पसे

आइतबारदेखि सरकारले देशव्यापी रूपमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । चितवनमा पनि विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन् । तर, कालिका नगरपालिकाका सीमान्तकृत चेपाङ बालबालिकालाई भने भर्ना अभियानले छुन सकेको छैन । यहाँका अधिकांश चेपाङ बालबालिका घरमा अनिकाल लागेकाले ज्यान बचाउन कन्दमूल खोज्दै अभिभवकसँग जंगल पसेका छन् ।

कालिका १० सिद्धि पाइमाराङस्थित रोङ्यो भिरको टाकुरामा ६६ वर्षीय शेरबहादुर चेपाङको घर छ । उनका चार भाइ छोरा र चार बहिनी छोरीमध्ये जेठो छोरोबाहेक अरू कसैले पनि अक्षर चिनेका छैनन् । अहिले तिनै शेरबहादुरका पाँचजना नातिनातिना र एक छोरी विद्यालय जाने उमेरका भइसके । तर, उनीहरू विद्यालय जाँदैनन् ।

 नजिकैको विद्यालय पनि  तीन घन्टा टाढा
अहिले शेरबहादुरका जेठाछोरा बुलबहादुर मजदुरी गर्न पोखरा गएका छन् । शेरबहादुरको परिवारले पनि अनिकालको सामना गरिरहेको छ । शेरबहादुरको घरभन्दा विद्यालय तीन घन्टा टाढा पैदल दूरीमा पर्छ । सबैभन्दा नजिकै रहेका आधारभूत विद्यालय निबुवाटार तीन घन्टा टाढाको दूरीमा पर्छन् । पढ्ने इच्छा भए पनि साना बालबालिका दैनिक तीन घन्टा धाएर विद्यालय जाने अवस्था हुँदैन ।

शेरबहादुरका नातिनातिना कहिलेकाहीँ विद्यालय जान्छन् । तर, कसैले पनि ‘क’ अक्षरसम्म पनि चिन्न सकेका छैनन् ।

‘बालबालिकालाई विद्यालय पठाउन मन छ’ शेरबहादुरले भने ‘घरमा अन्न नभएका कारण खान नपाएर केटाकेटी विद्यालय जानै मान्दैनन् ।’ उनले विद्यालय जान तीन–चार घन्टा उकाली–ओराली गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण बालबालिका विद्यालय नजाने गरेको बताए ।

‘शेरबहादुरको परिवार एउटा प्रतिनिधि पात्र मात्र हुन,’ चेपाङ अभियन्ता केपी किरण शर्माले भने, ‘अझै पनि चितवनका विकट चेपाङ गाउँमा थुप्रै चेपाङ बालवालिका विद्यालय शिक्षाबाट वञ्चित छन् ।’ नेपाल चेपाङ संघका शिक्षा विभाग प्रमुख तिलक चेपाङ भन्छन्, ‘सरकारले चेपाङ बालबालिकालाई खाने बस्ने सुविधासहित पढाउने व्यवस्था नगरेसम्म चेपाङका बालबालिकाले पढ्न रहर नगरे पनि हुन्छ ।’ चितवनका कविलास, दाहाखानी, चण्डीभन्ज्याङ, दारेचोक, काउले, सिद्धि, कोराक र लोथरजस्ता उच्च पहाडी भेगमा चेपाङ जातिको विशेष बसोवास छ ।

घरमा खाने अन्न छैन कसरी विद्यालय जानु ?
यहाँका चेपाङले यतिवेला चर्को अनिकालको सामना गर्नु परिरहेको छ । शेरबहादुरको घरमा नियमित खाने कुरा हुँदैन । विद्यालय पनि टाढा छ । ‘घरमा भनेका वेला खाने कुरा हुँदैन, बालबालिका भोकै विद्यालय जान मान्दैनन्,’ उनले भने । शेरबहादुरको नाममा एक धुर जमिन पनि छैन । उनले भिर र खोरिया बारीमा खेती गरेर जेनतेन परिवार पालिरहेका छन् । आफ्नो खेतीले उनको परिवारलाई तीन महिना पनि खान पुग्दैन । बाँकी समय यो परिवारले जंगली कन्दमूल र ज्याला मजदुरीको भरमा बाँच्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया