एन्फाले निर्वाचन मिति घोषणा नगरेपछि शेर्पा समूह अनशन बस्ने - Naya Patrika
eNaya Patrika
  • ePaper

एन्फाले निर्वाचन मिति घोषणा नगरेपछि शेर्पा समूह अनशन बस्ने

एन्फाले दुई दिनभित्र मुद्दा फिर्ता र चुनावको घोषणा नगरे रिले अनशन बस्ने कर्माछिरिङ शेर्पा समूहको चेतावनी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन मिति घोषणा नगरेपछि कर्माछिरिङ शेर्पा समूहले रिले अनशन सुरु गर्ने भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका शेर्पाले एन्फाका पदाधिकारीलाई दुई दिनभित्र अदालतमा चलिरहेको मुद्दा फिर्ता लिन र निर्वाचन मिति तोक्न आग्रह गरेका छन् । यी दुवै कार्य दुई दिनभित्र नभए आफूहरू रिले अनशनमा जाने चेतावनी शेर्पाले दिएका छन् ।

९ वैशाखभित्र निर्वाचन गर्ने सहमति
एन्फाले शेर्पा समूहसित ९ वैशाखभित्र एन्फा निर्वाचन हुने सहमति गरेको थियो । विवादित मकवानपुर र भक्तपुर फुटबल संघको निर्वाचनलगत्तै एन्फाले निर्वाचन मिति घोषणा गर्ने भनिएको थियो । गत चैतको अन्तिम साता नै दुवै जिल्ला फुटबल संघले निर्वाचन गरेका थिए । तर, एन्फा भने निर्वाचन मिति घोषणा गर्न तयारी अवस्थामा छैन । ‘हामी फुटबल जोगाउन लागिपरेका छौँ, हामीसँग ९ वैशाखभित्र चुनाव गराउने सहमति भएको थियो । तर, कार्यान्वयन अहिलेसम्म भएको छैन,’ शेर्पाले आइतबार नयाँ पत्रिकासँग भने, ‘मुद्दा फिर्ताको प्रक्रियासमेत सुरु नहुँदा एन्फा अदृश्य शक्तिबाट परिचालित भएको स्पष्ट छ ।’

मुद्दा फिर्ता प्रक्रिया सुरु भएकै छैन
सबै जिल्ला विवाद टुंगिए पनि एन्फाको निर्वाचनसम्बन्धी अन्योल अझै कायमै छ । पटक–पटक फिफा र एएफसीले निर्वाचनका लागि ताकेता गरे पनि अदालतमा मुद्दा फिर्ताको प्रक्रियासमेत सुरु नभएको शेर्पाले बताए । एन्फाले अदालतको आदेशको कारण देखाउँदै गत १४ चैतको निर्वाचन स्थगित गरेको थियो । एन्फाले दुई जिल्ला (भक्तपुर र मकवानपुर)को विवाद समाधान हुनासाथ अदालतमा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाउने र निर्वाचन मिति घोषणा गर्ने बताएको थियो ।

चुनाव गर्ने पक्षमा
एन्फा अध्यक्ष श्रेष्ठले आफूहरू पनि चाँडो एन्फा निर्वाचन होस् भन्ने कामनाका साथ काम गरिरहेको बताए । यसका लागि अध्यक्षका प्रत्याशी शेर्पा तथा मणि कँुवरसँग पनि छलफल गरेको उनले बताए । ‘सबैको उद्देश्य निर्वाचन चाँडो होस् भन्ने नै हो, हामी चाँडो मिति तय गर्ने पक्षमा छौँ,’ उनले भने, ‘अहिले नै मिति तय गर्दा अदालतको मानहानि हुने भएकाले पहिले अदालतबाट सफाइको प्रक्रियामा लागेका हौँ । चुनाव नगर्ने भन्ने होइन ।’ उता, फिफा र एएफसीले जतिसक्दो चाँडो निर्वाचन गर्न एन्फालाई चेतावनी दिँदै आएको छ ।

नेपाली फुटबल रक्षार्थ अनशन
चार वर्षदेखि नेपालमा सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता भएको छैन । लिग नै फुटबलको मेरुदण्ड हो । राष्ट्रिय लिग नहुँदा सब प्रक्रिया अवरुद्धजस्तै भएको शेर्पाले बताए । ‘हाम्रा क्लबहरू छन्, लिग नभएको वर्षौं भएको छ, सबै प्रक्रिया अवरुद्धजस्तै छन्’ उनले भने, ‘अब फेरि प्रतिबन्धमा पर्‍यो भने नेपाली फुटबल ठूलो समस्यामा पर्नेछ ।

फुटबल जोगाउने कि नजोगाउने ? त्यसकै लागि हामी रिले अनशनमा बस्न लागेका हौँ ।’ शेर्पाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ निकासका लागि चुनाव गराउन तयार भए पनि अन्य समूहबाट निर्वाचन हुन नदिन चलखेल भइरहेको दाबी गरेका छन् । ‘एन्फा अध्यक्ष श्रेष्ठ निकासका लागि प्रतिबद्ध देखिन्छन्, तर उनलाई कानुनी सल्लाह दिने व्यक्तिहरू नै अदृश्य शक्तिबाट परिचालित भएजस्तो महसुस हुन्छ,’ अदृश्य शक्तिले नै एन्फा चुनाव नगराउन लागेको आरोप लगाउँदै शेपाले भने ।

मुद्दा खारेजको प्रक्रियामा छौँ : श्रेष्ठ
एन्फा अध्यक्ष श्रेष्ठले सबै पक्षसँग छलफल भएको भन्दै सोमबारबाट अदालतमा दायर भएको मुद्दा फिर्ताको प्रक्रिया सुरु भएको दाबी गरेका छन् । ‘मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढेको छ, त्यो समाप्त भएपछि चाँडै चुनावको मिति सार्वजनिक गछौँ,’ श्रेष्ठले भने । निर्वाचन कमिटी र आफ्ना कानुनी सल्लाहकारहरूसँग आइतबार छलफल गरेको जानकारी श्रेष्ठले दिए । ‘कानुनी सल्लाहकार तथा निर्वाचन कमिटीसँग छलफल भयो,’ उनले भने, ‘उहाँहरूको सुझाबअनुसार ३–४ दिन भित्रमै अदालती प्रक्रिया पूरा हुनेछ । त्यसपछि हामी फिफा र एएफसीसँग छलफल गरेर १५ दिनभित्रमै निर्वाचन हुने गरी मिति तय गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया