बाध्यताको गायनले उठेका यशकुमार - Naya Patrika
eNaya Patrika
  • ePaper

बाध्यताको गायनले उठेका यशकुमार

प्रेम गर्न विशेषज्ञता चाहिँदैन । जसरी हरेक नजर फूलप्रति मोहित हुन्छन् । मानिसले झैँ जीवजन्तुले समेत आफ्नो सन्तानको सुरक्षा गर्छन्, त्यहाँ पनि प्रेम छ । सौन्दर्य र व्यवहारप्रतिको आकर्षणलाई मात्रै प्रेम ठान्ने अल्प ज्ञान हुनेले पनि अरू थुप्रै कुरालाई प्रेम गरिरहेको हुन्छ । सिमाना, आकार र आयतन नहुने भएरै होला, प्रेमले मानिसलाई पहाडबाट हामफालिरहेको पानीजस्तै कहिले खोँचमा पुर्‍याइदिन्छ त कहिले समतल मैदानमा ।

आणविक हतियार बनिसकेर पनि पृथ्वी क्षतविक्षत नहुनुमा प्रेम कतै न कतै बाँकी छ । प्रेमले नै चलेको मानिन्छ, सृष्टि । मानिसले बनाएका सीमित परिधिभित्र प्रेम नियन्त्रण हुन्थ्यो भने समाज अझ धेरै विकृत बनेर पक्षविपक्षमा उभिएको हुन्थ्यो, सायद ।

प्रेमका निम्ति कृत्रिम परिधिलाई तोडेर जस्तोसुकै कठोर गौँडा उक्लिन तम्तयार हुने मानिसहरू अहिले मात्र होइन, विगतमा पनि उत्तिकै थिए । आफूले गरेको प्रेम अस्वीकार गर्नेलाई हार खुवाएरै छाड्ने जोडीमध्येको एक थियो, गायक यशकुमारका बा–आमा अर्थात् राम नेपाल र गीता परियारको जोडी ।

राम–गीताको जोडी कुनै सामान्य प्रेमी–प्रेमिकाको जस्तो थिएन । आजभन्दा पाँच दशकअघिको ग्रामीण परिवेशमा दलित र गैरदलित समुदायलाई चुनौती दिने जोडी थियो, उनीहरूको । गाउँघर मेलापात, चाडपर्वमा गाउने, नाच्नेमध्ये चल्तीका राम र गीताको जोडीबीच अंकुराइसकेको प्रेमको बिरुवा हुर्काउनकै लागि उनीहरू समाज छाड्न तयार भए । घर त्याग्न मन्जुर बने । काभ्रेको कुनै गाउँबाट सर्लाहीको बाग्मती कर्मैयामा पुगेर जीवनको नयाँ अध्याय प्रारम्भ ग¥यो, यो जोडीले । उही जोडीका सात छोरामध्येका ‘ठूलाकान्छा’ हुन्, गायक यशकुमार ।

तराईमा गएर निकै मिहिनेतले यो जोडीले आफ्नो बेग्लै संसार बनायो । घरजग्गा जोड्यो । छोराहरू हुर्किंदै गए । विडम्बना ! जातीय असमानताले समाजबाट एक्लिएर पहाडबाट तराई झरेको यो जोडीलाई भाग्यले पनि ठग्यो । बाढीले उनीहरूको नाममा भएको सम्पत्ति र घरखेत बगाइदियो । धनको क्षति भए पनि जनको संरक्षण गर्न उनीहरू दृढ आत्मविश्वासका साथ पसे, मुलुककै सम्पन्न सहर, काठमाडौं । जतिवेला गायक यशकुमार १० वर्षका हुँदा हुन् । ‘भनेपछि तपार्इंको बाल्यकाल संघर्षशील रहेछ है ?’ अनामनगरस्थित एक फिल्मी स्टुडियोमा गायक यशकुमारसँग जिज्ञासा राखेँ । उनी गायक मात्र होइनन्, चलचित्र अभिनेता पनि हुन् । आफ्नै लगानीमा उनले ‘बाटोमुनिको फूल’ र ‘बाटोमुनिको फूल २’ बनाइसकेका छन् । उनलाई फिल्म निर्माणमा अन्य कलाकारको पनि साथ छ ।

‘बोल्ड’ आवाज, हँसिलो अनुहार अनि तार्किक र पूर्ण जवाफ दिने क्षमता छ, उनमा । जिज्ञासाप्रति उनी गम्भीर भएनन्, बरु हाँस्दै भने, ‘मेरो बाल्यकाल यति संघर्षशील थियो कि आजभोलि आउने अप्ठ्यारा त मलाई पानी पर्दा झर्ने असिनाजस्तै लाग्छ ।’ उनको छोटो जवाफले एकैछिन सोचमग्न बनायो । पानी पर्दा बर्सिने असिना क्षणभरमै अस्तित्वविहीन हुन्छ । अप्ठ्यारालाई त्यस्तै सरल ठान्ने मान्छे पक्कै अनेक ठक्कर र भोगाइबाट नै यो दृढतामा आइपुगेको हुनुपर्छ ! उनका बुबा ब्राह्मण समुदायका ।

आमा दलित परिवारकी । १० वर्षको उमेरदेखि नै काठमाडौंमा हुर्किएका गायक यशकुमारले जातीय भेदभावलाई प्रत्यक्ष रूपमा त्यति धेरै अनुभव गरेका छैनन् जति नमीठो अनुभूति अझै नेपाली ग्रामीण परिवेशको दलित समुदायले गरिरहेको छ । उनी भन्छन्, ‘जातीय छुवाछुतको घटना कतिपय आफैँले भोगेँ । कतिपय पढियो, बुझियो । आफ्नै अभिभावकप्रति त्यसवेलाको सामाजिक दृष्टिकोणले चिमोटिरह्यो ।’ यस्ता असमान, अपमानजन्य व्यवहार जिन्दगीको नजिकबाट चिहाए, उनले । ‘आजभोलि म कुनै पनि अप्ठ्यारोबाट आत्तिन्नँ,’ उनले दृढता व्यक्त गरे ।

०५२ सालपछि उनी निरन्तर संगीतमा छन् । पछिल्लो समय उनी चलचित्र निर्माण तथा अभिनयमा लागिपरेका छन् । भन्छन्, ‘सिनेमा र संगीत कलाकारिताकै विधा हुन् । यी दुवै पाटोलाई म निरन्तर अघि बढाउँछु ।’

०५८ सालपछि धेरै संगीतप्रेमीले केही वर्ष निरन्तर रूपमा एउटै गीत गुनगुनाइरहे, त्यो थियो, ‘मैले छोएको पानी चल्दैन ।’ सुरुमा गीत लेखन तथा संगीतमा लागेका यशकुमारलाई गायक बन्छु भन्ने विशवास थिएन । भन्छन्, ‘मैले कम्पोज गरेका ‘आस्था’ र ‘उमेर’ दुई एल्बम खासै चलेनन् । यो संसार नामक एल्बममा १० वटा गीत अटाउने क्रममा म आफैँ गाउन बाध्य भएँ ।’

‘कस्तो बाध्यता ?’ के भएछ भने दलित जातिसम्बन्धी गीतमा म पात्र भएर गाउन अन्य केही गायकले आनाकानी गरेछन् । सो कलेक्सन एल्बममा यशकुमारले रामकृष्ण ढकाल, कुन्ति मोक्तान, यम बराल, आनन्द कार्कीलगायतलाई गाउन लगाएर ८ वटा गीत तयार पारिसकेका थिए । तर, कम्पोज भइसकेका २ गीत कसलाई गाउन दिने भन्ने दोधारमा उनी परे । विनु काफ्लेको शब्द रहेको ‘मैले छोएको पानी चल्दैन’ तथा अर्को गीत ‘यो मनले तिमीलाई नै रोजेको छ’ बोलको गीत एरेन्जर भूपेन्द्र बज्राचार्यको सल्लाहमा यशकुमार आफैँले गाए । नभन्दै सो एल्बममा उनले गाएका यी दुई गीतसहित खेम गुरुङले गाएको ‘बेहाल भयो जिन्दगी यो’सहित एल्बमका ३ गीत मात्रै ‘हिट’ भए ।

सिर्जनाशक्तिलाई अभावले रोक्न सक्दैन भन्ने उदाहरण हुन्, गायक यशकुमार । सिर्जनशील क्षमता नै सर्जकको पहिलो सम्पत्ति हो । ‘मैले छोएको पानी चल्दैन’ गीत यशकुमारले खुत्रुके बजाएर कम्पोज गरेका थिए । उनीसँग न गितार थियो न हार्मोनियम नै । उनले जम्मा गरेका सिक्काले खुत्रुकेको भित्तासँग मिलेर निकालेको आवाजले एउटा सफल संगीत जन्माइदियो । सोही संगीतबद्ध गीतले यशकुमारलाई सेलेब्रिटी यशकुमार अर्थात् चर्चित गायक बनाइदियो ।

गतिशील समयसँगै कतिपय घटना विकसित हुन्छन् । जसरी आमाको गर्भबाट ९ महिनामा सन्तान जन्मिन्छ । तर, सिर्जना जन्माउन सर्जकलाई लाग्ने समय निश्चित हुँदैन । धेरै साहित्यकारले बर्षाैं लगाएर एउटै सिर्जनालाई पूर्ण बनाउन प्रयत्न गरिरहेका हुन्छन् भने तिनै साहित्यकारले कहिलेकाहीँ क्षणभरमै रचना गर्छन् ।

गायक यशकुमार पनि ‘मैले छोएको पानी चल्दैन’बाट चर्चामा आए । त्यसपछि उनका धेरै सिर्जना र उनीद्वारा स्वरबद्ध गीतहरू लोकप्रिय बने । ०५२ सालदेखि संगीत यात्रामा रहे पनि ०५८ पछि मात्रै उनले ढुक्कको सास फेरे । भन्छन्, ‘यो गीत गाएपछि भने म पनि गायक हुन लायक रहेछु भन्ने लाग्यो ।’ ‘तिर्खा’, ‘तिमी’, ‘नरुने आँखा’, ‘रिजन’ र ‘रेन’ गरी उनका पाँचवटा सोलो एल्बम छन् । ‘म आफ्नै आँगनमा इनार बनाउँछु’, ‘धेरै वर्षपछि’, ‘हिजो अर्कैसँग देखेँ’, ‘जानी–जानी आइन’लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन् ।

यो संसार एल्बम दरबार हत्याकाण्डको केही दिनअघि अर्थात् ०५८ जेठमा निस्किएको थियो । मैले छोएको पानी चल्दैन बोलको गीत उनले त गाए, तर एल्बम सार्वजनिक भएकै समयमा पूरै नेपाल शोकमा डुब्यो । उनी सम्झिन्छन्, ‘दरबार हत्याकाण्डले देश शोकमा डुब्यो । रेडियोसमेत शोकधुनमा सीमित भयो । त्यहीवेला दार्जिलिङतिर यो गीतको क्यासेट पुगेछ । अनि उतै चर्चित भयो । बिस्तारै दरबार हत्याकाण्डको पीडा कम हुन थालेपछि नेपालमा धेरै चल्यो ।’

यशकुमारले निर्माण गरेको चलचित्रदेखि गाएका अधिकांश गीत जातीय भेदभावविरुद्ध छन् । समानताको पक्षमा छन् । उनी समुदायमा भएको विभेदको अन्त्य गर्न आह्वान गरिरहेका हुन्छन् । आज पनि नेपाली समाजबाट ठूलो र सानो भनेर जात जोख्ने संकुचित मन मासिइसकेको छैन । मानिसका रहर, सपना र खुसीहरू बाँच्नलाई अन्तै कतै दौडिनुपर्ने बाध्यताले थिचिएका छन् । मानिसबाटै लखेटिएका मानिसहरू निकै टाढासम्म भागिरहन चाहँदैनन् । स्वतन्त्रता, स्वाभीमान र समान धरातलमा उभिन चाहने मानिसको निःस्वार्थ चाहनाले नै पटक–पटक समाज आन्दोलित भइरहेको छ ।

सर्जक साहित्यकारले सिर्जनाबाट निरन्तर आन्दोलन गरिरहेकै हुन्छन् । विश्व समाज समानताको धरातलनजिक पुगिरहेको देख्ने यशकुमार मानिसको दृष्टिकोणमा अझै परिवर्तन हुन जरुरी रहेको देख्छन् । भन्छन्, ‘आफूलाई ठूलो जातको भन्नेले अझै पनि दलित समुदायका मानिसको पैताला घरको संघारबाट भित्र पस्न दिन्नन् । हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक छ । कलाकार, सर्जक, साहित्यकारले समानताको पक्षमा बोलिरहन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया