स्रष्टा सम्मानसँगै विभिन्न पुस्तक सार्वजनिक - Naya Patrika
eNaya Patrika
  • ePaper

स्रष्टा सम्मानसँगै विभिन्न पुस्तक सार्वजनिक

साहित्य सम्वद्र्धन केन्द्रले बर्सेनि प्रदान गर्दै आएको ‘साहित्य सम्वद्र्धन द्रष्टा सम्मान’बाट प्रा.डा. दयाराम श्रेष्ठ सम्मानित भएका छन् । त्यसैगरी ‘हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार’ समालोचक तथा निबन्धकार प्रा.डा. तारानाथ शर्मालाई प्रदान गरिएको छ ।

काठमाडौंमा आयोजित सम्मान तथा विमोचन कार्यक्रममा बालबालिकाको संरक्षणमा समर्पित जगद्गुरु आदर्श संस्कृत गुरूकुलमलाई ‘विश्वज्योति सेवा सम्मान’ प्रदान गरिएको छ । त्यस्तै, शारदादेवी सिर्जना पुरस्कार कवि तथा कथाकार भुवन ढुंगानालाई उपलब्ध गराइएको छ ।

‘राधिका–पदम–दुर्गा–काव्य/कविता पुरस्कार’कवि रमेश खकुरेल, ‘जम्बकुमारी–टीकावल्लभ साहित्य सम्मान’ कथाकार डा. राजेन्द्र विमल, ‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ साहित्यसेवी गुरु रोहिणीविलाश लुइँटेल, ‘निर्मला–प्रेम बालसाहित्य सम्मान’ नेपाल बालसाहित्य समाजलाई प्रदान गरिएको केन्द्रका महासचिव विनयकुमार शर्मा नेपालले बताए ।

कार्यक्रममा २०७३ सालमा प्रकाशित सम्पूर्ण साहित्य रचनाहरूको अभिलेखन ग्रन्थ सार्वजनिक गरिएको छ । केन्द्रको समन्वयमा ज्ञानु अधिकारीद्वारा लिखित ‘वर्ष साहित्य पुस्तक’ विमोचन गरिएको हो ।

सोही कार्यक्रममा नारायण ज्ञवालीको भर्तृहरि नीति शतक (अनुवाद), हरि थापाको मियो (गजल संग्रह) र त्रिभुवनचन्द्र वाग्लेको दोभानमा उभिएर (कविता संग्रह) पनि विमोचन गरिएको छ । कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपाल, केन्द्रका अध्यक्ष एवं साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीलगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया