बाली बिमा गराउन मान्दैनन् कृषक - Naya Patrika
eNaya Patrika
  • ePaper

बाली बिमा गराउन मान्दैनन् कृषक

सरकारले बाली बिमालाई प्राथमिकता दिए पनि सर्वसाधारण कृषकहरूले भने चासो नदेखाएको पाइएको छ । बिमाको सेवा प्रक्रिया झन्झटिलो भएका कारण कृषकले चासो नदिने गरेको जिल्ला कृषि विकास कार्यालयका बिमा फोकल पर्सन एवं बाली संरक्षण अधिकृत बसिर अहमद खाले बताए । उनका अनुसार ४ हजारभन्दा बढी किसान रहेको बाँकेमा बढीमा ३० जना कृषकले मात्र बाली बिमा गराएका छन् । सरकारले माछा, तरकारी, धान, मकै, फलफूलको बिमा गराउने नीति अघि सार्दै विशेष सुविधासमेत दिएको छ । कुल बिमा रकमको ८० प्रतिशत सरकारले अनुदान दिने गरेको छ ।

बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमले समेटेका कृषकले पनि बालीको बिमा गराएका छैनन् । मकै जोन कार्यक्रममा ३५ कृषक समूह, उद्यमी र सहकारीका १ हजार ३ सय ५१ जना कृषक आबद्ध छन् । यीमध्ये एकजनाले पनि मकै बालीको बिमा नगराएको मकै जोन कार्यक्रमका प्रमुख देवेशकुमार मिश्रले जानकारी दिए ।

‘बिमा लागतका आधारमा होइन, उत्पादनका आधारमा हुनुपर्छ भन्ने कृषकको माग छ,’ उनले भने ‘तीन वर्षको अवधिमा अहिलेसम्म एकजनाले पनि मकैको बिमा गराएको छैन ।’ मकै जोन कार्यक्रमअन्तर्गत ६ सय २१ हेक्टर क्षेत्रफलमा मकैखेती भएको छ । ३ सय ५० परिवार समेटिएको कार्यक्रमबाट गत वर्ष ३ हजार ५ सय ६९ मेट्रिकटन मकै उत्पादन भएको मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया