सिंगटी खोला जलविद्युत् आयोजना ६५ प्रतिशत निर्माण कार्य पूरा - Naya Patrika
eNaya Patrika
  • ePaper

सिंगटी खोला जलविद्युत् आयोजना ६५ प्रतिशत निर्माण कार्य पूरा

दोलखाको लामिडाँडा र बाबरेमा निर्माणाधीन सिंगटी खोला जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ०७३ असारबाट निर्माण कार्य सुरु भएको आयोजनाको ५ हजार ९ सय मिटर लामो टनेलमध्ये हालसम्म ३ हजार ५ सय ५० मिटर टनेल खन्ने काम सम्पन्न भइसकेको आयोजना प्रमुख मनोहरि सापकोटाले बताए ।

उनले भने, ‘चार तहबाट टनेल निर्माणको काम भइरहेको छ । अहिले दैनिक १२ मिटर टनेल निर्माण हुन्छ ।’ त्यस्तै आयोजनाको बाँध निर्माणको काम भने ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाबरेको सोरुङखोला दोभानमा निर्माण भइरहेको बाँधसँगै डिसेन्डिङ बेसिनको काम पनि ८० प्रतिशत सकिएको सापकोटाले जानकरी दिए । उनका अनुसार पावरहाउस निर्माणको काम ४५ प्रतिशत सम्पन्न भइसकेको छ ।

आयोजनाको पेनस्टकको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । क्रिम हाइडिल प्रालि बुटवलले जिम्मेवारी पाएको हाइड्रो मेकानिकलका धेरैजसो सामग्रीहरू आयोजनास्थलमा आइसकेका छन् भने केही भारतीय सीमा क्षेत्रमा आइपुगेको उनले बताए । त्यस्तै, इलेक्ट्रो मेकानिकलतर्फको काम पनि अघि बढिरहेको छ । इलेक्ट्रो मेकानिकलको काम चाइनिज कम्पनी नान एलान वार्ड प्लान्टमार्फत अघि बढिरहेको आयोजना निर्देशक काजी लामाले बताए ।

सिंगटी जलविद्युत् आयोजना तत्कालीन सरकारले छोटो समयमा विद्युत् उत्पादन गर्न सक्ने विद्युत् आयोजनाहरूअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँग बढाबढ मूल्य प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ‘सुपर सिक्स’ आयोजनाअन्तर्गत पर्छ । सिंगटी खोलाले ०७५ चैत मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाका निर्देशक लामाले जानकारी दिए । सुरुमा १६ मेगावाट मात्र विद्युत् उत्पादन गर्ने भनिएको यो आयोजनाको थप सम्भाव्यता अध्ययनपछि २५ मेगावाट विद्युत् उत्पादन गर्ने भएको हो । आयोजनाको वित्तीय व्यवस्थापन भने सिभिल बैंकको अगुवाइमा ११ वटा बैंकहरूले गरेका छन् ।

तपाईको प्रतिक्रिया