वार्षिक तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउँछन् - Naya Patrika
eNaya Patrika
  • ePaper

वार्षिक तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउँछन्

२० हजार तालिमप्राप्त प्रसूति गराउने स्वास्थ्यकर्मीको आवश्यकता, ८ हजार ६ सय मात्रै कार्यरत

आज सुरक्षित मातृत्व दिवस

वार्षिक करिब तीन लाख  गर्भवती
वार्षिक करिब तीन लाखगर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिरै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

नेपालमा सन् २००१ यता महिलाले गर्भवती सेवा दक्ष स्वास्थ्यकर्मीबाट लिने क्रम बढे पनि अझै ठूलो संख्यामा गर्भवती स्वास्थ्यकर्मीको पहुँचबाहिर छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ०७३ साउनदेखि ०७४ असारसम्म २ लाख ७७ हजार ३ सय ४४ गर्भवती महिलाले असुरक्षित रूपमा बच्चा जन्माएका छन् । घरमा जाने स्वास्थ्यकर्मीको सहयोगविना नै उनीहरूले बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।

प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा मातृ तथा शिशु मृत्युदर अपेक्षाकृत घट्न सकेको छैन । देशभर तत्काल २० हजार तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यकता छ । तर, दरबन्दी अत्यन्त न्यून संख्यामा छ । परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. नरेशप्रताप केसीका अनुसार गर्भवती महिलाको दर हेर्दा तत्काल २० हजार प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी आवश्यक छ । तर, अहिले दक्ष जनशक्ति ८ हजार ६ सयको संख्यामा छ ।

महाशाखाका अनुसार देशभर महिला स्वयंसेविकाको संख्या ५१ हजार ४ सय २० छ । ३ हजार २ सय जिल्ला अस्पताल र त्यसभन्दा तलका स्वास्थ्य संस्थामा प्रसूति गराउने दक्ष जनशक्ति छ । ८ हजार ६ सयको संख्यामा तालिमप्राप्त स्वास्थ्यकर्मी भए पनि काम आधाले पनि गरेका छैनन् ।

एक दक्ष स्वास्थ्यकर्मीबाट ७५ जना सुत्केरी
पूर्वनिर्देशक डा. केसीले प्रसूति गराउने तालिमप्राप्त एक स्वास्थ्यकर्मीको भागमा ७५ गर्भवती महिला पर्ने गरेको बताए । ‘एक स्वास्थ्यकर्मीले ७५ जना गर्भवती गराउन सक्ने अवस्था हुँदैन,’ उनले भने, ‘तर, नेपालमा सीमित मात्रामा तालिमप्राप्त स्वास्थ्यकर्मी भएकाले बाध्य भएर गराउनुपरेको छ ।’ केसीले देश स्थानीय तहमा गएकाले थप जनशक्ति आवश्यक पर्ने पनि बताए । ‘दुई सिफ्ट गरेर काम गर्नुपर्ने अवस्था छ । उनीहरूले ८ घन्टा काम गर्नुपर्ने उल्लेख भए पनि कम स्वास्थ्यकर्मी भएकाले २४ घन्टासम्म काम गरेको अवस्था छ,’ उनले भने । दुर्गमका कतिपय स्वास्थ्य संस्थामा प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा डाक्टर कन्ट्र्याकमा लिएर पनि डेलिभरी गराउँदै आएका छन् ।

२५ करोड बजेट अपुग
आमा सुरक्षा कार्यक्रममार्फत गर्भवती महिलालाई यातायात खर्च र न्यानो झोला वितरण गर्न चालू आर्थिक वर्षमा १ अर्ब २८ करोड रुपैयाँ विनियोजित छ । महाशाखाका अनुसार आमा सुरक्षा कार्यक्रममा दाताहरूले सहयोग गरेका छैनन् । स्वास्थ्य संस्थामा गर्भवती भएको अवस्थामा सरकारले हिमाली भेगका महिलालाई १५ सय र न्यायो झोला, पहाडकालाई हजार र तराईका महिलालाई ५ सय रुपैयाँ भत्ता दिँदै आएको छ । उक्त रकम अपुग भएको डा. केसीले बताए । परिवार स्वास्थ्य महाशाखाका अनुसार आमा सुरक्षा कार्यक्रमका लागि अझै २५ करोड रुपैयाँ बजेट अपुग देखिएको छ ।

नियमित स्वास्थ्य परीक्षणले भित्री समस्या थाहा हुँदैन
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले नियमित स्वास्थ्य परीक्षणका वेला बच्चा उल्टो, सुल्टो बसेको देखिए पनि बच्चाको सालनाल कसरी बसेको छ भन्नेबारे जानकारी नहुने बताए । आमाको पेटभित्र हुर्कंदै गरेको शिशुले नालबाट खानेकुरा खाने गर्छ । यदि नालभित्रै झरो भने त्यसको ३ मिनेटभित्र शिशुको मृत्यु हुन्छ । ‘यो समस्या भवितव्य हो,’ डा. गौतमले भने, ‘चिकित्सकलाई आरोप लगाउनेभन्दा प्रभावकारी रूपमा अनुगमन गरेको खण्डमा कसको गल्ती हो छुट्याउन सकिन्छ ।’ उनले पीडितलाई चित्त नबुझेको अवस्थामा पोस्टमार्टम गर्ने बाटो खुला भएको पनि स्पष्ट पारे ।

यसकारण नवजात शिशुको मृत्यु
डा. गौतमले बेथा लाग्नासाथ अस्पताल लैजानुपर्ने बताए । बच्चाले दिसा खाँदैमा तत्काल मृत्यु नहुनेसमेत उनले बताए । ‘बच्चाले दिशा त्यसै खाँदैन । गर्भवती महिलालाई लामो समयसम्म बेथा लागेको खण्डमा बच्चाले दिसा खाने गर्छ । दिसा खाएको शिशुको फोक्सोमा असर गरी श्वासप्रश्वास बन्द हुन जान्छ । जसले गर्दा शिशुको जन्मनासाथ मृत्यु हुन्छ । गर्भवती महिलामा उच्च रक्तचाप भएमा, आमाको पेटमा बच्चा बढ्न नसकेमा, आमाको दिसा पेटभित्रै शिशुले खाने गर्छ,’ उनले भने । उनले शिशुको मृत्युमा उपकरणको कुनै हात नरहने स्पष्ट पारे ।

सुधार हुँदै मातृ तथा बाल स्वास्थ्य
विकासको प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्थाको सुधारमा नेपालले सफलता हासिल गर्दै गएको छ । सन् २००६ देखि २०११ सम्मको पाँच वर्षसम्म स्थिर भएर बसेको नवजात शिशु मृत्युदर तथा बाल मृत्युदर सन्तोषजनक रूपमा घटेको छ । नेपाल जानसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको नवजात शिशु मृत्युदर अहिले २१ मा झरेको देखाएको न्यु एराका नेपाल निर्देशक योगेन्द्र प्रसाईंले बताए ।

सन् २०११ मा एनडिएचएसले नवजात शिशु मृत्युदर घट्न नसकेको देखाएपछि सरकारले नवजात शिशुको जीवन रक्षाका लागि मातृ र शिशुकेन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो । सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई १७ मा झार्नुपर्ने हुन्छ । प्रसाईंका अनुसार नवजात शिशुसँगै पाँच वर्षमुनिको बाल मृत्युदर पनि प्रतिहजार जीवित जन्ममा २२ अंकले घटेको छ । सन् २०११ मा ४६ रहेको उक्त मृत्युदर अहिले ३२ मा झरेको छ ।

कर्मचारी अभाव पूर्ति गर्न लाग्छु : स्वास्थ्य राज्यमन्त्री
सरकारले नवजात शिशुको जीवन रक्षाका लागि यसै वर्षदेखि नवजात उपचार निःशुल्क गर्नुका साथै कम्तीमा प्रदेश तहका अस्पतालमा नवजात आइसियू पु‍र्‍याउने बताएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले एक व्यक्तिले ७५ जना महिलाको प्रसूति गराउँदै आउनु न्यायोचित नभएको बताइन् । उनले भनिन्, ‘७५ जना महिलालाई एक दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउन सक्दैनन् । यसलाई मन्त्रालयले गम्भीर भएर सोचेको छ ।’ बेरोजगार रहेका नर्सलाई तालिम दिएर प्रसूति सेवामा लगाउने बताइन् । उनले भनिन्, ‘सन् २०११ मा ५८ प्रतिशत रहेको गर्भवती जाँच हाल ८४ प्रतिशत पुगेको छ । ३५ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेकोमा अहिले ५७ प्रतिशत पुगेको छ । घरमै पनि दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको प्रतिशत पनि ५८ प्रतिशत पुगेको छ । तर, अझै ठूलो संख्यामा महिलाहरू स्वास्थ्यकर्मीको उपस्थितिविना सुत्केरी गराउन बाध्य छन् । यो दरलाई कसरी सरकारले स्वास्थ्य संस्थामा ल्याउन सक्छ भन्नेमा हामी लागेका छौँ ।’

यस्तो छ अवस्था
०७३ साउनदेखि ०७४ असारसम्मको तथ्यांकअनुसार ३ लाख ६६ हजार ६ सय ७४ महिला गर्भवती भएका छन् । जसमा ३ लाख ४३ हजार ५ सय ७७ जना सुत्केरी भएका छन् । स्वास्थ्य सेवा विभाग सूचना व्यवस्थापन शाखा प्रमुख मुक्तिराम खनालका अनुसार ३ लाख ५० हजार २ सय ३१ जनाले तालिमप्राप्त दक्ष जनशक्तिमार्फत बच्चा जन्माएका छन् । १५ हजार ७ सय ६२ जना घरमै स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी भएका छन् । मातृ मृत्युदर ५९ छ भने, ६ सय २२ जना नवजात शिशुको मृत्यु भएको छ । ५ हजार ९ सय ५८ जनाको जन्मदै मृत्यु भएको छ ।

सरकारले प्रतिवर्ष ७ लाख ५८ हजार ६ सय ५२ जना महिला गर्भवती हुने अनुमान गरेको छ । यसमध्ये करिब १० प्रतिशतको संख्यामा गर्भपतन गराउने वा गर्भ तुहेर जानेजस्ता समस्या हुने गरेको छ ।

०७२/७३ मा जम्मा ६ लाख १६ हजार १ सय ४५ जना महिला गर्भवती भएका थिए । जसमा स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीसँग सुत्केरी हुने ३ लाख ४१ हजार २ सय ३९ थिए । स्वास्थ्यकर्मीको सहयोगमा ३२ हजार २ सय ४७ जना घरमै सुत्केरी भएका थिए । बाँकी केही खेर गएको र धेरै स्वास्थ्य संस्थाबाहिर सुत्केरी भएको अनुमान छ ।

आज सुरक्षित मातृत्व दिवस : यस्तो छ अवस्था

सरकारको अनुमानमा प्रतिवर्ष ६ लाख ४३ हजार ३ सय ३७ महिला सुत्केरी हुने गरेका छन् । कुल २ करोड ९० लाख २४ हजार ६ सय १४ जनसंख्यामध्ये प्रतिवर्ष ६ लाख ४३ हजार ३ सय ३७ महिलाले बच्चा जन्माउने गरेको तथ्यांक छ ।

साउन ०७३ देखि असार ०७४ सम्मको तथ्यांकअनुसार ३ लाख ६६ हजार ६ सय ७४ महिला गर्भवती भएका छन् । जसमा ३ लाख ४३ हजार ५ सय ७७ सुत्केरी भए । स्वास्थ्य सेवा विभाग सूचना व्यवस्थापन शाखा प्रमुख मुक्तिराम खनालका अनुसार सुत्केरी भएको संख्यामध्ये ३ लाख ५० हजार २३१ ले तालिमप्राप्त दक्ष जनशक्तिमार्फत बच्चा जन्माएका छन् । १५ हजार ७ सय ६२ स्वास्थ्यकर्मीको सहयोगमा घरमै सुत्केरी भएका छन् । मातृ मृत्युदर ५९ प्रतिशत छ भने ६ सय २२ नवजात शिशुको मृत्यु भएको छ । ५ हजार ९ सय ५८ को जन्मँदै मृत्यु भएको छ ।

सरकारले प्रतिवर्ष ७ लाख ५८ हजार ६ सय ५२ महिला गर्भवती हुने अनुमान गरेको छ । यसमध्ये करिब १० प्रतिशतमा गर्भपतन गराउने वा गर्भ तुहेर जानेजस्ता समस्या हुने गरेको छ ।

०७२-०७३ मा जम्मा ६ लाख १६ हजार १ सय ४५ महिला गर्भवती भएका थिए । जसमा स्वास्थ्य संस्थामा गइ तालिम प्राप्त स्वास्थ्यकर्मी संग सुत्केरी हुने ३ लाख ४१ हजार २ सय ३९ थिए । स्वास्थ्यकर्मीको सहयोगमा घरमा ३२ हजार २ सय ४७ जना गरी जम्मा ३ लाख ७३ हजार ४ सय ८६ सुत्केरी भएका थिए । बाँकी केही खेर गएको र धेरै स्वास्थ्य संस्था बाहिर सुत्केरी भएको सरकारको अनुमान छ ।

०७१-०७२ मा जम्मा ६ लाख ५ हजार २ सय ७० जना महिला गर्भवती भएका थिए । जसमा स्वास्थ्य संस्थामा गइ तालिम प्राप्त लक्ष्य स्वास्थ्यकर्मी संग सुत्केरी हुने ३ लाख १ हजार ३१ थिए । स्वास्थ्यकर्मीको सहयोगमा घरमै ५२ हजार ९ सय ६६ सुत्केरी भएका थिए । जसमा ४ सय ४४ जना आमाको मृत्यु भएको थियो । बच्चा जन्मेको २८ दिन भित्र २ हजार ४ सय ३७ शिशुको मृत्यु भएको थियो भने ४ हजार २८ शिशुको जन्मदै मृत्यु भएको थियो ।

कर्मचारी अभाव पूर्ति गर्नतर्फ लाग्छु
पद्मा अर्याल, स्वास्थ्य राज्यमन्त्री
घरमै दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको संख्या ५८ प्रतिशत पुगेको छ । तर, अझै ठूलो संख्यामा महिला स्वास्थ्यकर्मीको उपस्थितिविना सुत्केरी गराउन बाध्य छन् । यो संख्यालाई कसरी स्वास्थ्य संस्थामा ल्याउन सकिन्छ भन्नेमा सरकार लागेको छ । कर्मचारी अभाव पूर्ति गर्नेतर्फ पनि मेरो ध्यान छ ।

यसकारण नवजात शिशुको मृत्यु
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बेथा लाग्नासाथ गर्भवतीलाई अस्पताल लैजानुपर्ने बताए । बच्चाले दिसा खाँदैमा तत्काल मृत्यु नहुने पनि उनले बताए । ‘बच्चाले दिसा त्यसै खाँदैन । लामो समयसम्म बेथा लागेको खण्डमा बच्चाले दिसा खाने गर्छ । यस्तो शिशुको फोक्सोमा असर गरी श्वासप्रश्वास बन्द हुन जान्छ र जन्मनासाथ मृत्यु हुन्छ । गर्भवती महिलामा उच्च रक्तचाप भएमा, आमाको पेटमा बच्चा बढ्न नसकेमा, आमाको दिसा पेटभित्रै शिशुले खाने गर्छ,’ उनले भने ।

गर्भवती र स्वास्थ्य  संस्थाको गल्तीले मृत्यु
गर्भवती भएको अवस्थामा सम्बन्धित महिलाले कम्तीमा चारपटक आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रसूति हुन समयमै स्वास्थ्य संस्थामा जानुपर्छ । सबै स्वास्थ्य संस्थामा प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी नभएका कारण महिला आफैँ सचेत भएर स्वास्थ्य संस्थामा गएमा राम्रोसँग बच्चा जन्मिन्छ । परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. नरेशप्रताप केसीका अनुसार गर्भवती महिला सामान्य बेथा लागेको अवस्थामा स्वास्थ्य संस्था जाँदैनन् । बेथाले च्यापेर समस्या देखिन थालेपछि मात्र स्वास्थ्य संस्थामा प्रसूति गराउन जानेको संख्या धेरै छ । त्यस्तो अवस्थामा आमा र शिशु दुवैको मृत्यु हुने सम्भावना बढी हुन्छ । स्वास्थ्य संस्थाले सुरुमा भर्ना लिने र अन्तिम अवस्थामा रिफर गर्ने कारण पनि आमा र शिशुको मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया