निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु - Naya Patrika
eNaya Patrika
  • ePaper

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

साझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगकाे साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ ।

मोरङको कटहरी गाउँपाकिलामा भारतीय कम्पनीको सोझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।

कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेकाछन् । तत्काल ट्रयाक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका टायर उत्पादन गरिरहेको छ । पूर्णतः ट्युवलेस रहेको ग्रिन टायरका उत्पादनहरूमा ‘लिक्विड’ पनि हाल्नु पर्दैन । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुन्छ ।

बार्षिक २० लाख थान टायर उत्पादन गर्ने लक्ष्य
सुरुमा कम्पनीले ४ प्रकारका टयुवलेस वार्षिक २ लाख थान उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका प्रबन्धक बिनित सिँघानियाले बताए । २ बर्षमा ४ र पाँच बर्षमा ६ लाख र त्यसपछि २० लाख थान उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको उनले जानकारी दिए । उनका अनुसार देशभरिका विभिन्न स्थानमा १ सय २० मोटर साइकल तथा त्यत्तिकै सङ्ख्यामा ट्रयाक्टर, स्कुटी र थ्री ह्विलर्समा टायर जडान गरेर तीन महिनासम्म सबै प्रकारका परीक्षण सम्पन्न गरेपछि मात्र टायरलाई बजारमा पठाइएको छ ।

प्रबन्धक विनीतका अनुसार ग्रीन टायरले डेल्टा र शेर्पा ब्रान्डका टायरहरू उत्पादन गर्नेछ । जसमध्ये पहिलो चरणमा डेल्टा ब्रान्डका टायर बजारमा ल्याई सकिएको छ ।

उद्योगले उत्पादन थालेका टायरहरु औपचारिक रुपबाट बजारमा डेल्टा ब्राण्डबाट बिक्रि बितरण हुन थालिसकेका छन् । प्रबन्धक सिँहानियाका अनुसार हाल मोटरसाइकल, तीन चक्के र चार चक्के सवारी साधानका टयुवलेस टायरहरु नेपालका बिभिन्न बजारमा पुगिसकेका छन् ।

गुजरातको फयुचर टायर उद्योगसँग साझेदारी
नीजि क्षेत्रबाट पहिलो पटक खुलेको ग्रीन टायर उद्योगमा भारत गुजरातको फयुचर टायर उद्योगको ३५ र नेपालको औधोगिक घराना विशाल ग्रुपको ६५ प्रतिशत लगानी रहेको छ । सेन्चुरी बैंकको सहयोगमा उक्त्त उद्योग ५० करोडको लगानीमा स्थापना भएको हो । उत्पादन बढेसँगै लगानी बिस्तार गरेर पाँच बर्ष भित्रमा दुई सय ५० करोड पु¥याउने उद्देश्य कम्पनीको छ ।

मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रबाट नेपालमा स्थापित ग्रीन टायर प्रा.ली.ले उत्पादन बढाउन सकेमा नेपालबाट अन्य मुलुकमा समेत निर्यात गर्न सक्ने बताए । उनका अनुसार उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल र असाम लगायतका नेपालसित नजिक पर्ने भारतीय राज्यमा ग्रीन टायरका उत्पादन पु¥याउन सकिन्छ । भारतकै गुजरात राज्यबाट टायर ल्याउनु भन्दा नेपालमा उत्पदन भएका टायर सस्तो पर्ने भएकोले सिमावर्ती भारतीय बजारको सम्भावना राम्रो रहेको छ ।

भारतमा मुकेश देसाईको नेतृत्वमा रहेको फ्युचर टायर्स प्रा.लि. त्यहाँका ठूला टायर उद्योगमध्ये एक मानिन्छ । यस उद्योगले आफ्नो ६० प्रतिशतभन्दा बढी उत्पादन भारतकै (सेट) ब्रान्डको टायर उद्योगलाई आपूर्ति गर्दै आएको छ ।

उद्योगमा सबै नेपाली कामदार
अर्ध स्वचालित मेसिन रहेको ग्रीन टायर उद्योगमा हाल नेपालका ६५ कामदार कार्यरत छन् । उत्पादन बढेसँगै उद्योगमा दुई वर्षभित्र कामदारको संख्या एक सय २५ पुग्ने प्रबन्धक सिँघानियाले बताए ।

नेपालमा टायर उद्योगको भविष्य उज्वल
नेपालमा सञ्चालन हुने सवारी साधनमा ९९ प्रतिशत टायर आयात गर्ने गरिन्छ । जसमा भारतबाट मात्र ८० प्रतिशत टायर आयात हुँदै आएको छ । नेपालमा मोटर साइकलको टायर मात्र वार्षिक २४ लाख थान खपत हुने गरेको तथ्यांक छ । नियमित टायर उत्पादन गर्न सके नेपालमा टायर उद्योगको भविष्य उज्वल रहेको व्यापारीहरुको भनाइ रहेको छ ।
बिभिन्न कारणले बन्द भइरहने नेपालको एक मात्र गोरखकाली रबर उद्योगले नेपालमा टायरको माग धान्न सकेको छैन । तयारी टायरको आयात गर्दा भन्सार महसुल २० प्रतिशत र मूल्य अभिवृद्धि कर छ । टायरको कच्चा सामग्रीको भन्सार महसुल १ प्रतिशत मात्र छ । तयारी र कच्चा पदार्थको महसुलमा रहेको फराकिलो अन्तरले पनि उद्योगले राम्रो मुनाफा आर्जन गर्न सक्ने आशा गरिएको छ ।

तेस्रो मुलुकबाट पनि कच्चा पर्दाथ पैठारी
ग्रिन टायरले कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ । तर सिङ्गापुर, मलेसिया र अफ्रिकाको ग्याभोनबाट पनि कच्चा पदार्थ पैठारी गर्न सकिन्छ । यसैले कच्चा पर्दाथकालागि भारतको मात्र भरपर्नुपर्ने बाध्यता उद्योगलाई छैन । सस्तोमा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्न सकेमा उत्पादित टायरहरु भारतीय बजारमा पनि निर्यात गर्न सकिने संभावना उच्च छ ।

चालिस बर्षदेखीको सपना साकार
विशाल ग्रुपले सिँघानिया परिवारसितको साझेदारीमा विगत ४० वर्षदेखि टायरको आयात गरिरहेको थियो । त्यसैले नेपालमै टायर उद्योग स्थापना गरेर उत्पादन गर्ने धोको बिशाल ग्रुप र साझेदार घराना सिँघिनियाको थियो । टायर उद्योगको बजारबारे राम्रो जानकार भएकोले नेपालमै टायर उद्योग खोल्ने सपना पुरा भएको प्रबन्धक बिनितले बताए । उनका अनुसार देशभरि पहिले देखी नै डिलर र होलसेलर कायम रहेकोले मार्केटिङको कुनै समस्या छैन ।

ब्याट्री र लुब्रिकेन्ट उद्योगको पनि योजना
कच्चा पदार्थ रबरमा आधारित उद्योग भए पनि ग्रीन टायर उद्योगबाट ध्वनि, दुर्गन्ध लगायतका कुनै पनि प्रकारको प्रदूषण नफैलने उद्योगका प्राविधिक परेश पटेलले बताए ।
ग्रिन टायरको उत्पादनको सफलतासँगै भारतीय लगानीकर्ताको साझेदारीमा ब्याट्री र लुब्रिकेन्ट उद्योग संचालनमा ल्याउने योजना बिशाल ग्रुपको छ ।

तपाईको प्रतिक्रिया