केन र सलाह उपाधि दौडमा - Naya Patrika
eNaya Patrika
  • ePaper

केन र सलाह उपाधि दौडमा

इंग्लिस प्रिमियर लिगको वर्ष खेलाडीमा सिटीका ब्रुयने, लिभरपुलका सलाह तथा टोटनह्यामका केनको बलियो दाबेदारी

ह्यारी केन, केभिन डी ब्रुयने र मोहमद सलाह यस वर्षको प्रिमियर फुटबल एसोसिएसन (पिएफए) वर्ष खेलाडीको उपाधि होडमा अगाडि छन् । इंग्लिस प्रिमियर लिगले वर्ष खेलाडी शनिबार सार्वजनिक गरेको छ । प्रारम्भिक सूचीमा ह्यारी केन, डेभिड जी गिए, लेरोय साने तथा डेभिड सिल्भा पनि दाबेदार खेलाडीका रूपमै छन् । यस सिजनमा लिभरपुलका सलाह तीनपटक इपिएल खेलाडी घोषित भइसकेका छन् । प्रिमियर लिग इतिहासमै एकैखेलाडी एकैवर्ष तीनपटक महिनाका उत्कृष्ट खेलाडी घोषित भएको पहिलोपटक हो ।

सिटीको आशा ब्रुयने
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग उपाधि जित्न एक जित टाढा छ । अघिल्लो साता म्यानचेस्टर युनाइटेडसँग ३–२ ले पराजित हुँदा सिटीले ६ खेल अगाडि नै उपाधि चुम्ने अवसर गुमाएको थियो । सिटीको उपाधि होड यात्रा बलियो हुनमा ब्रुयनेको प्रदर्शन उत्तिकै महत्वपूर्ण रह्यो । प्रिमियर लिगमा ३२ खेल समाप्तिसम्म ब्रुयनेले १५ गोल गरेका छन् । उनले १५ पटक गोलका लागि साथीहरूलाई एसिस्ट गरेका छन् ।

पहिलो सिजनमै सलाहको उत्कृष्ट खेल
यसै सिजनमा सलाह सिरिए क्लब एस रोमाबाट लिभरपुलमा अनुबन्ध भएका हुन् । इजिप्टका सलाहले आफ्नो पहिलो सिजनमै स्मरणीय प्रदर्शन गरेका छन् । सलाहले अहिलेसम्म २९ गोल गरेका छन् । सलाहले नौपटक साथीहरूलाई गोलका लागि पास दिएका छन् । लिभरपुल १० वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियागिताको सेमिफाइनलमा पुग्दा सलाहले समूहदेखि क्वार्टरफाइनलसम्म गोलको योगदान गरे । अझ क्वार्टरफाइनलको दुवै लेगमा सलाहले म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट खेल नै देखाए । उनले दुवै लेगमा ३ गोल गरे ।

केनको दाबेदारी
वर्ष खेलाडीमा टोटनह्यामका केन पनि उत्तिकै दाबदोर खेलाडीका रूपमा रहेका छन् । यस सिजनमा केनकै प्रदर्शनका कारण टोटनह्यामले च्याम्पियन्स लिगमा बलियो उपस्थिति जनाएको थियो । यद्यपि, टोटनह्याम च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न नसके पनि विपक्षी टोलीलाई कडा टक्कर दिएको थियो । केनले २५ गोल गर्नुका साथै दुईपटक साथीहरूलाई गोलका लागि एसिस्ट गरेका छन् । यसै प्रदर्शन आधारमा केन गोल्डेन बुट तथा पिएफए वर्ष खेलाडीका दाबेदार बनेका हुन् ।

हजार्ड, फिर्मिनो र स्ट्रर्लिङबाहिर
यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका चेल्सीका एडेन हजार्ड, म्यानचेस्टर सिटीका रोवर्टो फिर्मिनो तथा रहिम स्ट्रर्लिङ उपाधि होडबाट बाहिरिएका छन् । इपिएलले जारी गरेको लिस्टमा यी तीन खेलाडीले आफ्नो नाम सुरक्षित गर्न सकेनन् । प्रिमियर लिगमा हजार्ड, फिर्मिनो तथा स्ट्रर्लिङ हाइप्रोफालका खेलाडीमा पर्छन् ।

क्लबका खेलाडीलाई मतदान गर्न नमिल्ने
इंग्लिस प्रिमियर लिगले शीर्ष ६ खेलाडीका लागि मतदान आह्वान गरेको छ । इपिएलको अनुसार आफ्नै एकै क्लबका खेलाडीले सोही क्लबका खेलाडीलाई मतदान गर्न पाइँदैन । उनीहरूले त्यसबाहेक अन्य जो कोही क्लबका खेलाडीलाई मतदान गर्न पाउँछन् । यसपटक इपिएलले पुरुष वर्ष तथा युवा वर्ष खेलाडीको अवार्डका लागि एकैपटक मतदान आह्वान गरेको छ । यसका लागि खेलाडी, प्रशिक्षक तथा म्यानेजरले एउटा फर्म भर्नुपर्छ ।

तपाईको प्रतिक्रिया