ज्यानकै बाजी लगाएर मह सिकार - Naya Patrika
eNaya Patrika
  • ePaper

ज्यानकै बाजी लगाएर मह सिकार

देख्दै आङ जिरिंग हुने चट्टानी भिर । चरो पनि बस्न नसक्ने कहालीलाग्दो पहरा । त्यसैमा तुर्लुंङ डोरी झुन्ड्याएर लहरिनु । सामान्य मुटु भएका मान्छेका लागि कल्पनाभन्दा परको हुन सक्छ । तर, ३५ वर्षीय नवीन राना ज्यानको बाजी लगाएर ढाडमा डोरी बाँधेर तुर्लुंङ झुन्डिए । भिरको मध्यभागमा पहरासँगै टाँसिएका महका चाका झिक्न उनी त्यसरी पखान छिचोलिरहेका थिए ।

‘मह सिकार’का लागि नवीन डोरीको सहारामा पहरा माथिबाट झरिरहेको दृश्यले हेर्नेहरूको आङ पनि जिरिंङ हुन्थ्यो ।

गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभिरमा नवीनसँगै ११ जनाको टोली ‘मह सिकार’ गर्न पुगेको थियो । ५ सय मिटर अग्लो भिरमा जोखिम मोलेर उनीहरूले मह काढेका हुन् ।

फागुनको अन्तिम सातादेखि जेठ मसान्तसम्म मह सिकारको मौसम मानिन्छ । मौरीभिरमा ३६ वर्षपछि मह सिकार गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्र गलकोटले मह सिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह सिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानी रमुवाका अनुभवी सिकारी संलग्न थिए ।

‘मह सिकार’का लागि नवीन राना डोरीको सहारामा पहरामाथिबाट झरिरहेको दृश्यले हेर्नेहरूको आङ पनि जिरिंग हुन्थ्यो ।

बन्दोबस्तीका सामानसहित ११ जनाको टोली मह सिकारमा खटिएको थियो । सिकारी टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरेका थिए । बाँसको चोया र काठ प्रयोग गरेर बनाइएको सय मिटर लामो भर्‍याङ (पराङ)मा झुन्डिएर उनीहरू सिकारी भिरको मध्यभागमा पुगे । लामो समय पराङमै अडिएर मह काढे ।

ज्यानै जोखिममा राखेर कहालीलाग्दो भिरमा मह सिकार गरेको हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो । अन्य सहयोगीको साथ लिएर मह काढ्ने काम भने टोलीका गिरीप्रसाद घर्ती र नवीन रानाले गरेका थिए । लामो समयदेखि घर्ती र रानाले यसरी ज्यान हत्केलामा राखेर मह काढ्दै आएका छन् । सुरुमा डर लागे पनि आजकल बानी परिसकेकाले डरको अनुभूति नहुने राना बताउँछन् ।

माहुरीनजिकै पुगेर चाका निकाल्दा उनी पूरै माहुरीले घेरिएका हुन्छन् । भिरमा झुन्डिएर त्यसरी माहुरीको सामना गर्दै मह काढ्नु चानचुने कुरा नभएको उनको भनाइ छ । परम्परागत प्रविधि अपनाएर नै मह काढिएको सिकारी रानाले बताए ।

‘हाम्रा पुर्खाहरूले जसरी मह सिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौँ,’ उनले भने । मह सिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायत सामग्री प्रयोग गरिन्छन् । सिकारी टोलीले सिकारमा जाँदा आफूसँग भएका सामग्री साथै लिएर जान्छन् ।

आँटिलो, साहसी र स्वस्थ व्यक्ति मात्रै सिकारका लागि छनोट हुने गरेको प्रमुख सिकारी रानाले बताए । ‘जिन्दगी दाउमा राखेर सिकार खेल्नुपर्छ,’ रानाले भने, ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।’ बाउबाजेका पालादेखि नै मह सिकारको चलन भएकाले आफूहरूले निरन्तरता दिएको उनले बताए ।
झुन्डिएर झन्डै २ घन्टाको प्रयासपछि उनीहरू मह निकाल्न सफल भए ।

टोलीमा रहेका कोही भिरमा जाने, कोही तल बस्ने, कसैले काढेको मह चाकाबाट निचोर्ने गरी कामको बाँडफाँड गरेका थिए । उनीहरूले सुरुमा हरियो घाँस बालेर मौरी भएको ठाउँसम्म धुवाँ पु‍र्‍याए । धुवाँले लठ्ठ परेर मौरीले चाका छाडेपछि मात्र बल्ल मह काढ्न थालिएको थियो । पुनः माहुरी आएर बसोवास गरोस् भनेर केही साना चाका सोही स्थानमा छाड्ने गरिएको रानाले बताए ।

निलुवाको मौरीभिर महका लागि निकै उत्तम मानिने सिकारी टोलीले जनाएको छ । दुई घारको मात्र सिकार गर्दा झन्डै १० किलो मह निस्केको महोत्सव आयोजकले जनाएको छ । मह महोत्सव अवलोकनका लागि आएका दर्शकलाई उक्त मह बाँडिएको थियो । केन्द्रका अध्यक्ष ओमकार सुवेदीले भने, ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह सिकार गरिएको छ । सिकारीकै सुझाबमा धेरै घारको मह काढेनौँ ।’ भर्खर मौरीले मह जम्मा गर्न सुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने सुझाब सिकारीले दिएका छन् । भिरमा ३० भन्दा बढी भिरमौरीका घार छन् ।

साहसीले ठूलो जोखिम मोलेर गर्ने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय मानिन्छ । भिरमह स्वादिलो र विभिन्न रोगविरुद्धको औषधिका रूपमा प्रयोग गरिन्छ ।

पहिलोपटक पर्यटन प्रवद्र्धनका रूपमा मह सिकार महोत्सव आयोजना भए पनि आगामी दिनमा व्यावसायिक रूपमा मह सिकार गराइने गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर खत्रीले बताए । भिरमौरीको मह स्वास्थ्यवद्र्धक हुने भएकाले व्यावसायीकरण गर्न सकिने उनको भनाइ छ ।

‘बिरलै हुने गरेको मह सिकार निलुवामा गरेका छौँ,’ अध्यक्ष खत्रीले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।’ मह सिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । महोत्सवमा बाग्लुङका सांसद तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि सहभागी थिए । उनले गलकोट क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हरेक तहबाट सहयोग गर्ने वचनबद्धता जाहेर गरे । महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापानलगायत संघसंस्था र व्यक्तिमार्फत आर्थिक सहयोग जुटाइएको हो । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत गैरेले बताए ।

लेकाली हावापानी भएको निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ । यस क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाउन लागेको प्रमुख गैरले बताए । बाग्लुङ सदरमुकामदेखि ४५ किलोमिटर गाडीको यात्रापछि निलुवा पुगिन्छ ।

साहसीले ठूलो जोखिम मोलेर गर्ने मह सिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय मानिन्छ । भिर महलाई स्वादिलो र विभिन्न रोगविरुद्धको औषधिका रूपमा प्रयोग गरिन्छ । भिर माहुरीको चरनक्षेत्र फराकिलो हुने र विभिन्न फलफूलदेखि जडीबुटीका रस चुसेर मह बनाइने हुँदा भिरमह अलि कडा हुन्छ । बाग्लुङको ताराखोला, रणसिंहकिटेनी, पाण्डवखानीको रमुवालगायत क्षेत्रमा हरेक वर्ष मह सिकार गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया