भोजपुरी हिरोको पारिश्रमिक कति ? - Naya Patrika
eNaya Patrika
  • ePaper

भोजपुरी हिरोको पारिश्रमिक कति ?

बलिउडझैँ भोजपुरी फिल्म उद्योगका स्टारहरू पनि महँगो पारिश्रमिक लिने गर्छन् । गुणस्तरको मामलामा अझै पनि निरीह नै रहेको भोजपुरी फिल्म उद्योगको सान भने फरक छ । भोजपुरी फिल्ममा चल्तीका केही हिरोले लिने पारिश्रमिकबारे भारतीय सञ्चारमाध्यमले रिपोर्ट प्रकाशित गरेको छ । जसमा रविकिशन, निरहुआ, पवन सिंहका साथमा नेपाली हिरो विराज भट्टसमेत समेटिएका छन् । सञ्चारमाध्यमले उनीहरूले लिने गरेको पारिश्रमिक उल्लेख गरेको छ ।

विराज भट्ट– ३ लाख
नेपाली अभिनेता विराज भट्ट भोजपुरी चर्चित स्टारमा परेका छन् । भारतीय अनलाइन दैनिक भास्करले विराज नेपाली र भोजपुरी फिल्मका स्टार भएको उल्लेख गर्दै एक्सन हिरोका रूपमा व्याख्या गरेको छ । विराजले ‘जाबाज’, ‘जिगरवाला’, ‘प्यार करेला हिम्मत चाही’, ‘पियवा वडा सतावेला’, ‘विराज तडिपार’, ‘रंग दे प्यार के रंग दे’, ‘त्रिशूल’लगायत फिल्ममा अभिनय गरेका छन् । उनले एउटा भोजपुरी फिल्ममा अभिनय गरेबापत ३ लाख भारू पारिश्रमिक लिने गरेको उल्लेख छ । तर, विराजले नेपाली मिडियालाई आफूले प्रतिफिल्म १० लाख भारु पारिश्रमिक लिने गरेको दाबी गर्दै आएका छन् ।

रविकिसन– ५० लाख
रविकिसन बलिउडमा पनि चिनिन्छन् । बलिउडका थुप्रै फिल्ममा अभिनय गरेका रवि भोजपुरी फिल्मका सुपरस्टार हुन् । भोजपुरीमा उनको फरक क्रेज र दर्शक छन् । अहिले रविलाई पैसाको कुनै समस्या छैन । उनी करोडौँका मालिक छन् । तर, कुनै समय उनीस“ग एक छाक खाना खाने पैसा पनि हुँदैनथ्यो ।

आफ्नो अभिनयको बलले सफलता हासिल गरेका उनी अहिले एउटा भोजपुरी फिल्ममा अभिनय गरेको ५० लाख भारु पारिश्रमिक लिने गर्छन् । उनले ‘सइया महार’, ‘पण्डितजी बताइ ना बियाह कब होई’, ‘दुल्हा मिलल दिलदार’, ‘लब और राजनीति’लगायत थुप्रै भोजपुरी फिल्ममा अभिनय गरेका छन्।

पवन सिंह– ४५ लाख
पवन सिंह पनि भोजपुरी फिल्मका सुपरस्टार हुन् । उनले भोजपुरी एल्बमबाट करिअर सुरु गरेका थिए । पछि अभिनयमा जमे । हाल उनी एउटा फिल्ममा अभिनय गरेबापत ४० देखि ४५ साल भारुसम्म पारिश्रमिक लिन्छन् । भोजपुरी फिल्म उद्योगमा पवनको बडीको निकै चर्चा हुने गर्दछ । उनलाई भोजपुरी फिल्मका सलमान खान भन्ने गरिएको छ ।

खेसारीलाल यादव– ४० लाख
खेसारीलाल भोजपुरी फिल्मका अर्का स्टार हुन् । सन् १९८६ मा बिहारमा जन्मिएका खेसारीलाई शत्रुघ्न यादवको नामले पनि चिनिन्छ । उनले गायकका रूपमा करिअर सुरु गरेका थिए । तर, पछि उनी हिरोका रूपमा चर्चित भए । उनको पहिलो भोजपुरी एल्बम ‘माल भेटाई मेला’ निकै चर्चित भयो ।

सन् २०१२ मा ‘साजन चले ससुराल’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका खेसारीलाल निकै गरिब परिवारबाट आएका हुन् । उनले हाल एउटा फिल्ममा अभिनय गरेबापत ४० लाख भारु लिने गरेका छन् ।

दिनेशलाल यादव (निरहुआ)– ३५ लाख
दिनेशलाल यादवलाई निरहुआको नामले बढी चिन्ने गरिन्छ । निकै संघर्ष गरेर सफलता हासिल गरेका दिनेशलालले गायकका रूपमा करिअर सुरु गरेका हुन् । उनले सन् २००३ मा ‘निरहुआ सटल रहे’ एल्बम प्रकाशन गरेका थिए । त्यो हिट भयो । पछि, उनले फिल्म अभिनय सुरु गरे । दिनेशलाल एउटा फिल्ममा अभिनय गरेबापत ३५ लाख भारु र केही प्रतिशत सेयर लिने गर्दछन् ।

प्रवेशलाल यादव– १० लाख
प्रवेशलाल निरहुआका कान्छा भाइ हुन् । सन् १९८५ मा गाजीपुरमा जन्मिएका प्रवेशले ‘चलनी के चलल दुल्हा’ नामक फिल्मबाट डेब्यु गरेका हुन् । प्रवेशलाललाई दाइ दिनेशलालको साथ र सहयोगले उद्योगमा स्थापित हुन निकै सहयोग गरेको छ । प्रवेशलाल एउटा फिल्ममा अभिनय गरेबापत १० लाख भारु पारिश्रमिक लिने गर्दछन् ।

यश मिश्रा– ७ लाख
यश भोजपुरी फिल्मका चल्तीको हिरोमा पर्छन् । सन् १९८६ मा गोन्डामा जन्मिएका यशले पनि गायकका रूपमा करिअर सुरु गरेका हुन् । उनले ‘दिलदार सावरिया’ फिल्मबाट डेब्यु गरेका हुन् । उनी हाल एउटा फिल्ममा अभिनय गरेबापत ७ लाख भारु पारिश्रमिक लिन्छन् । उनका थुप्रै फिल्म हिट छन् ।

राकेश मिश्रा– ४ लाख
राकेश पनि पहिला गायक थिए । सन् १९८७ मा जन्मिएका राकेशले ‘प्रेम दिवानी’ फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका हुन् । पहिलो फिल्ममै उनले सुपरस्टार रानी चटर्जी र स्मृति सिन्हासँग अभिनय गरेका थिए । राकेश प्रतिफिल्म ४ लाख भारु पारिश्रमिक लिन्छन् । उनले ‘दिवानगी हदसे’, ‘हरिओम हरि’लगायत फिल्ममा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया