ब्लकबस्टर अवार्डमा १६ फिल्म र तीन पत्रकार सम्मानित - Naya Patrika
eNaya Patrika
  • ePaper

ब्लकबस्टर अवार्डमा १६ फिल्म र तीन पत्रकार सम्मानित

बक्स अफिस फिल्मी क्लब नेपालले ब्लकबस्टर अवार्ड वितरण गरेको छ । ०७४ सालभरि प्रदर्शनमा आएकामध्ये चर्चित तथा व्यावसायिक सफलता हासिल गरेका १६ वटा फिल्मलाई विभिन्न पुरस्कार प्रदान गरिएको हो ।

बक्स अफिस फिल्मी क्लबका प्रमुख आरके सुवेदीले चर्चा र व्यावसायिकताका आधारमा १६ वटा फिल्म, निर्माता, निर्देशक, कम्पनी तथा कलाकारलाई अवार्ड वितरण गरिएको बताए । ब्लकबस्टर अवार्डबाट सम्मानित हुनेमा ‘घामपानी’ फिल्मका निर्देशक दीपेन्द्र लामा, ‘राधे’का निर्माता सुशील पोखरेल, ‘म यस्यो गीत गाउँछु’का निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा, ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेन, ‘ए मेरो हजुर–२’ का निर्माता सुनीलकुमार थापा अनि निर्देशक झरना थापा छन् । त्यसैगरी, ‘२ रुपैयाँ’, ‘छक्का पन्जा २’, ‘ऐश्वर्य’, ‘झ्यानाकुटी’, ‘फाटेको जुत्ता’, ‘मिस्टर झोले’, ‘कृ’, ‘कान्छी’, ‘मंगलम्’ र ‘शत्रु गते’ फिल्मले पनि अवार्ड प्राप्त गरे ।

कार्यक्रममा फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठ, निर्माता श्रीराम बराल, ‘पिँजडा ब्याक अगेन’का निर्देशक हिमाल केसी, अभिनेता भुवन केसी, निर्माता सुवास गिरी, निर्माता छवि ओझा, किरण केसीलगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ०७४ को ब्लकबस्टर व्यवसाय गरेको फिल्मको अवार्ड छक्का पन्जा २ ले पायो भने इनिसियल बिजनेस अवार्ड कृ फिल्मलाई दिइयो ।

आयोजकले ०७४ को लक्की फिल्म भन्दै घामपानी, राधे, झ्यानाकुटी, फाटेको जुत्ता, मिस्टर झोले र पिँजडा ब्याक अगेनलाई अवार्ड प्रदान गरे भने म यस्तो गीत गाउँछु, प्रेम गीत २, ए मेरो हजुर, दुई रुपैयाँ र शत्रु गतेलाई सुपरहिट फिल्म भन्दै सम्मान गरियो । ऐश्वर्य र कान्छीलाई भने सुपर मार्केट विनिङ अवार्डबाट सम्मानित गरियो । मंगलम्लाई भने पब्लिक च्वाइस अवार्ड प्रदान गरियो ।

नयाँ वर्षको शुभकामना आदानप्रदानसहित आयोजित कार्यक्रममा अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट तीनजना चलचित्र पत्रकार सम्मानित भए । नगद ११ हजार एक सय ११ रुपैयाँसहितको पुरस्कार पाउने पत्रकारमा गोरखापत्रमा कार्यरत दीपक श्रेष्ठ (विहीन), रातोपाटीका कुवेरराज गिरी र रमाइलो छ डटकमका उत्सव रसाइली छन् ।

उनीहरूलाई फिल्म पत्रकारितामा योगदान पुर्‍याएबापत सम्मान गरिएको हो । कार्यक्रममा नेपाली रुपैयाँ तथा फिल्मी पोस्टर डिजाइनर अनि गीतकार सुन्दर श्रेष्ठलगायत विभिन्न निर्माता, हल व्यवसायी, वितरक तथा कम्पनीलाई पनि सम्मान गरिएको थियो

तपाईको प्रतिक्रिया