नेपाली समाजको कोल्टे फेराइ - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाली समाजको कोल्टे फेराइ

नेपाली समाजको कोल्टे फेराइको विश्लेषण गर्न समाजको वर्तमान संरचना र सोचमाथि व्याख्या आवश्यक छ । नेपाली समाज लामो समयदेखि सामन्ती र दास मनोविज्ञानबाट हुर्किएको छ, एकप्रकारले क्रोनिक छ । यद्यपि, नेपाली समाज असन्तोषी थियो, छ र भोलि पनि हुनुपर्छ । असन्तोषी भएन भने प्रगति हुँदैन । संसारका विकसित मुलुकले असन्तोषबाट नै प्रगति गरेका हुन् । असन्तोष अर्थात् सकारात्मक संवाद । असन्तोषले परिवर्तन दिन्छ र यो आवश्यक पनि छ । तर, नेपाली समाजमा परिवर्तनको खोजी गर्दा उग्र क्रान्तिकारिता देखिन थालेको छ । समाजमा चिनिएका भनिएका अनुहारमा पनि परिवर्तनकारीभन्दा क्रान्तिकारी देखिनुपर्ने होड छ ।

साैरभ

हुन त परिवर्तनको उच्च रूप क्रान्तिकारिता हो तर उग्र क्रान्ति चीनको सांस्कृतिक क्रान्तिजस्तो, आफ्नै अनुहार हराउने क्रान्ति हुन्छ । अनि आफ्नो स्वत्व, स्वाभिमान हराउने हुन्छ । त्यस अर्थमा नेपाली समाजमा भइरहेको उग्रक्रान्तिकारिताको मोह उपयुक्त छैन । विषयको उठानमा हरेक पटक भाष्य भनेर जोड्ने चलन सुरु भएको छ, गलत तथ्य र तर्कका आधारमा भाष्य बन्नु हुँदैन । तर, नेपालमा अहिले त्यही भइरहेको छ । समाजशास्त्रीय, मानवशास्त्रीय, अर्थशास्त्रीय दृष्टिकोणबाट मात्र होइन कि संविधानले नै गलत ‘भाष्य’ स्थापित गर्न खोजेको छ । परिवर्तन चाहनेका लागि ढंगको सोचाइ चाहिन्छ, जो भएन ।

नेपाली समाज कस्तो हो ?
नेपाली समाज ‘टार्जन’ समाज हो । अर्थात् मस्सुर देखिने, चलायमान हुनुपर्ने, गतिशीलता चाहिने तर अन्ततः वनमान्छे हो, नेपाली समाज । वनमान्छेमा बाहिर चलायमान देखिए पनि भित्री रूपमा ‘ब्याकवार्डनेस’ हुन्छ । ‘व्याकवार्डनेस’ प्रकट हुँदा बाहिरबाट आउँछ, आफूसँग केही नभएको जस्तो । माक्र्स, एंगेल्स बाहिरको मान्नुपरेको छ अनि पश्चिमाको भाष्यका आधारमा नेपाली समाजको व्याख्या गरिन्छ । अझ खाने कुरादेखि साहित्यसम्म विदेशीकै भर पर्नुपरेको छ । सांस्कृतिक कार्यक्रममा बम्बईका डान्सर नआई हुँदैन । फिल्मको कुरा गर्दा उतैका निर्देशक आउनुपर्छ अनि धार्मिक प्रवचनका लागि भारतीय साधुसन्त र जोगी आउनुपर्छ ।

समाजशास्त्रमा पश्चिमा विद्वान् चाहिन्छ, पाठ्यक्रम तयार गर्न गोरो अनुहार नै बोलाइन्छ । अर्थात् मान्छे भएर पनि लुगा अरूले लगाइदिनुपर्छ भनेपछि नेपाली वनमान्छे नै हो । त्यसैले नेपाली समाजमा ‘ओरिजिनालिटी’ कम छ, अझ कम हुँदै छ ।

अर्कातर्फ रूप पक्षलाई ध्यान दिने आडम्बरी समाज पनि हो । आडम्बरी समाजको मनोबल अर्थात् आत्मविश्वास कम हुन्छ । कतिसम्म कमजोर मानसिकतामा छ भने ‘हामी सानो देश के गर्न सक्छौँ र ? केही हुन्छ र ?’ भन्नेबाट सुरु हुन्छ हरेकको सोच । जापान सानो देश हो । नेपालभन्दा साना देश ११० भन्दा बढी छन् । नेपालभन्दा दुःख पाएका देश पनि छन् । नेपालको भन्दा कम स्रोतसाधन भएका देश कति छन् ? तीसँग तुलना गरिँदैन । तर, एउटै कुरा रटिन्छ कि ‘हामी वीर गोर्खाली’ । पुर्खाको बहादुरीको व्याख्या मात्रै हुन्छ । यसले नेपाली समाज विगतमा बाँचेको पुष्टि गर्छ । अर्थात् वर्तमानमा बाँचेको छैन ।

विगतलाई गर्व ठान्ने मनोविज्ञान नवऔपनिवेशका बासिन्दाको ‘मास साइकोलोजी’को प्रतिबिम्ब हो । त्यसरी हेर्दा नेपाली समाजको बुझाइको स्तर ‘सी’ ग्रेडको हो । त्यो नेपाली समाजमा प्रकट भइरहेको छ । जस्तो, अहिले काठमाडौंमा मानोरेलको आवश्यकता हो र ? मनोरेलभन्दा त्यसमा लाग्ने खर्च उद्योगधन्दा, जलविद्युत् उत्पादनमा खर्चिए हुँदैन ? काठमाडौंको ट्राफिकजाम कम गर्ने वा सडक सुधार गरे पुग्छ अहिले । ‘सी’ ग्रेडको मनोविज्ञानमा देखासिकी चरित्र हुन्छ । मनोरेलको कुरा त्यही देखासिकी हो । इरानबाट पाकिस्तानको बाटो हँुदै भारतले पेट्रोलको पाइपलाइनको कुरा गरेको छ । तर, बंगलादेशले नेपालको बिजुली किन्छु भनिरहेका वेला नेपाली मनोविज्ञान भारत रिसाउला भनेर उसैलाई बिन्ती गरिरहेको हुन्छ ।

नेपाली समाजलाई पाँच कोणबाट विश्लेषण गरौँ :

१) आसे समाज
नेपाली समाज पछिल्ला दिनमा आसे समाजको रूपमा विकसित भइरहेको छ । आसे समाजको चरित्र भनेको हरेक चिज अरूले गरिदियोस् भन्ने हुन्छ । अर्थात् नागरिकमा भएको आसे प्रवृत्तिको उपज हो हरेक कुरा राज्यले गरिदिनुपर्ने मनोविज्ञान देखिनुमा । नाङ्लो पसलको सामान बिक्री भएन भने पनि राज्यले हेरिदिएन, राज्यले गरिदिएन भन्ने गाली गरिन्छ । यस्तो समाज परनिर्भर पनि बन्दै जान्छ ।

२) आदर्श भुलिएको समाज
आफ्नो धरातलमा उभिएको आदर्शभन्दा पनि अरूले भनिदिएको वा देखाइदिएको रूप पक्षमा रुमल्लिएको समाज हो । यसलाई एनिमिटेड आदर्शको समाज भन्न सकिन्छ । मूल्य–मान्यता र आदर्श नै अरूको भाष्यबाट स्थापित समाज । नेपाल समृद्ध बनाउने प्रसंग जोड्नेबित्तिकै स्विट्जरल्यान्ड वा सिंगापुरजस्तो बन्नुपर्छ भन्ने सन्दर्भ एनिमिटेड समाज आदर्शको चरित्रसँग जोडिन्छ । प्लेन चढ्ने हैसियत छैन र बसमा हिँड्नु परिरहेको छ तर नेपालीहरू रकेटमा उडेर चन्द्रमा पुग्ने आदर्श बोक्छन् । अर्थात् एनिमिटेड आदर्शको समाज धान्न सकिने समाज होइन ।

३) ग्राउन्ड रियालिटी नबुझ्ने समाज
नेपाली समाज यस्तो समाज हो कि जो चिनिएको अनुहारको अभिव्यक्तिलाई आदर्श ठान्छ । टिभी वा समाजमा चिनिएका केही अनुहारबाट व्यक्त विचार वा अभिव्यक्तिको धरातलीय यथार्थमा नपुगी धारणा बनाउँछ । आफ्नो मौलिक धारणा नभएको समाज पनि भन्न सकिन्छ । अध्ययन वा प्रश्न गर्न नसकेपछि धरातलीय यथार्थमा पुगिँदैन । हरेक व्यक्तिको विचारमा प्रश्न गर्न सक्नुपर्छ, जसले समाजलाई परिवर्तन गराउँछ । र अरूको विचार र अभिव्यक्तिमा सोच्ने र प्रश्न गर्नु भनेको आफ्नो अनुहार एकपटक ऐनामा हेर्नु हो, जो अनिवार्य छ ।

४) क्रोनिक मनोविज्ञान
निरन्तर ‘ह्युमिलेट फिल’ गर्ने समाज हो, जो क्रोनिक भइसकेको छ । त्यसलाई राजनीतिक कुरासँग जोड्न पनि सकिन्छ । ६० वर्षदेखि नेपाली समाज दक्षिणतिरको हेपाइबाट मुक्ति खोजिरहेको समाज हो । कहिले मुक्त हुन पाइएला यो दबाब र हेपाइबाट ? भन्ने मनोविज्ञान छ । हरेक चुलाचौकामा पाक्ने खानेकुरादेखि नीतिसम्म पुगेको छ, त्यो क्रोनिक मनोविज्ञान ।

५) शासक खोजेको समाज
नेपालीले आफूले खुलेर भन्न सकेको छैन तर हरेकले मनमा राखेको छ कि सारा समस्या समाधान गर्ने नयाँ जंगबहादुर राणा । त्यतिवेलाको जंगबहादुरजस्तो एउटा व्यक्तिले अहिलेको सारा समस्या समाधान सम्भव होला ? त्योचाहिँ किन सोचिएन भने नेपाली समाजको सोचको आयु नै छोटो छ । सोचको आयु नै छोटोमा भएकाले छिटै देवत्वकरण गर्छौं र छिनमै त्यही व्यक्तिलाई राक्षसीकरण । सोचको आयु छोटो भएको समाजमा जस्ता हामी छाैँ, त्यस्तै नेता छन् भन्ने चाहिँ बिर्सिएर नेताबाट अपेक्षा बढी राखिन्छ । जब कि जस्तोसुकै जंगबहादुर आए पनि अहिले एउटा व्यक्तिले केही गर्न सक्दैन । ‘म नै शासक हुँ, मैले शासन गर्नपर्छ’ भनेर नागरिकले सोच्दैन । अर्थात् ठूलो भ्रममा बाँचेको समाज हो ।

डिप्रेसन कि नैराश्य समाज ?
समाजशस्त्रीय र मानवशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्दा नेपाली समाज डिप्रेसन होइन, नैराश्यमा छ । समाजमा महत्वाकांक्षा हुन्छ । महत्वाकांक्षा पूरा नहुँदा नैराश्य हुन्छ । नैराश्य समाजको मनोबल झन् गिर्दै जाँदा डिप्रेसन हुन्छ । डिप्रेसनमा गएको समाजमा निश्चित लक्षण हुन्छन् । डिप्रेसनमा गएको समाजमा धेरै चुट्किलाहरू जन्मिन्छन् । कमेडीहरू प्रशस्त लेखिन्छ, पूर्वी युरोपमा यस्तै भएको थियो, जतिवेला सोभियत संघको पकड थियो । डिप्रेसनको समाजमा धेरै कविता लेखिन्छ, जस्तो निकारागुवाको एक युद्धका वेला डेढ लाख कवि थिए । समाज अल्कोहलिक भयो भने पनि बुझ्नुपर्छ कि समाज डिप्रेसनमा छ, साइबेरियामा यस्तो भएको थियो । नागरिकले ‘आवाज’ दिएन भने पनि डिप्रेसनको समाज हुन्छ । तर, नेपाली समाज डिप्रेसनमा होइन, नैराश्यमा छ । नेपाली समाजमा भएको निराशा अभिव्यक्तिमार्फत बाहिरिएको छ । आफूमा भएको असन्तोष स्वतन्त्रतापूर्वक पोख्न पाउने प्लेटफर्म पनि छन् र तुष पोखिरहेको छ । अर्थात् नोपली समाजमा बोल्न पाउनु औषधि भएको छ र समाज डिप्रेसनबाट रोकिएको हो ।

नेपाली समाज कति आक्रोशित ?
नेपाली समाज आक्रोशितभन्दा कुण्ठा भरिएको समाज हो । आक्रोश संवेदनशील समाजले व्यक्त गर्छ । आक्रोशमा सकारात्मक संवाद हुन्छ । र संवेदनासहित परिवर्तनका लागि अभिव्यक्त हुन्छ । नेपालमा हुनु नपर्ने प्रशस्त भएका छन्, त्यसमा कसैले आक्रोश व्यक्त गरेनन् । शक्ति पृथकीकरणको सिद्धान्त तिलाञ्जली दिएर खिलराज रेग्मी प्रधानमन्त्री हुँदा आक्रोशित समाजले अदालत घेर्नुपर्ने थियो । सोमलाल सुवेदीले मुख्यसचिवको पद थाती राखी एडिबीमा जागिर खान जाँदा आक्रोशित समाज भए विरोध गर्नुपर्ने थियो । गोपाल पराजुलीको पाँचवटा जन्ममितिको कुरा आउँदा फेरि अदालत घेर्नुपर्ने थियो, घेरिएन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनाव गराएबापत उपराष्ट्रपति पद मागेको कुरा आउँदा कसैले विरोध गरेन । कर्मचारीले जागिर खाएर केही गरेबापत स्वेच्छिक अवकाशमा जाँदा थप रकम पाउने कानुन बन्दा कसैले आक्रोश व्यक्त गरेनन् । यी उदाहरण हेर्दा नेपाली समाज आक्रोशित समाज होइन भन्ने पुष्टि हुन्छ । कोठाचोटामा हुने आक्रोश कुण्ठा मात्रै हो । सकारात्मक रूपमा आक्रोश व्यक्त गर्न नसक्ने समाज नपुंसक समाज हो । नेपालीको कुण्ठा आक्रोशमा परिणत नहोस् भनेर राजनीतिक तहबाट आशाचपु बाँड्न र पदीय व्यवस्थापन भइरहेको छ । र, आक्रोशलाई न्युट्रोलाइज गरिएको छ ।

अबको समाज कस्तो ?
सामन्ती र दास मनोविज्ञानले नेपाली समाजको आत्मबल कमजोर छ । त्यो कमजोर आत्मबल नहुँदा आत्मविश्वास छैन तर नयाँ वर्षसँगै आफ्नो स्वाभिामानको रक्षा गर्दै ‘ग्लोबल सिटिजन’ हुने पंक्तिमा लाग्नुपर्छ । ग्लोबल सिटिजन यस अर्थ कि हामीसँग संसारका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक, प्राज्ञिक र आर्थिक क्षमता होस् । सार्वभौमसत्ता र स्वाभिमानको कुरा किन गरेको भने हाम्रो मानसिकता औपनिवेशिक र दास मानसिकताको छ । जापानिज, अमेरिकी वा चाइनिजसँग शीर ठाडो बनाएर हिँड्न सक्दैनौँ । अर्थात् ह्युमिलेट मानसिकताबाट उन्मुक्ति खोजिएको हो । कसैको निगाहा वा दानदातव्यबाट चलेको राष्ट्रका नागरिकलाई अर्काले हेप्छ र त्यस्तै व्यवहार गर्छ । शैक्षिक ज्ञानले दिएको बल, आर्थिक हैसियतले आएको बलसहितको समाज चाहिएको हो । त्यतिवेला थोरै मान्छेले राजनीतिमा चासो राख्छन् र प्रणालीमा चल्छ समाज ।

नेपाली समाजले १०–१२ जना पनि सामाजिक नेता उत्पादन गर्न सकेन, जसको अभिव्यक्तिमा समाजले विश्वास र आदर्श लिन सकोस् । दोस्रो विश्वयुद्धपछि तीनपटकसम्म असफल प्रयास गरे जापानिजले नेपालको मनास्लु हिमाल आरोहण गर्न । जुन वर्ष मनास्लु हिमाल आरोहण सफल भयो, त्यसपछि जापानिजको मनोबल बढेको हो । त्यसैले जापानिजले मनास्लु हिमाललाई देउताका रूपमा पूजा गर्छन् । त्यही कारणले समाजमा आत्मबल बढाइदिने अनेक पात्र, क्षेत्र र विषय हुन्छन् । भियतनाम युद्धपछि गिरेको अमेरिकी मनोबलको पुनस्र्थापित गर्न समाजशास्त्री, मानवशास्त्री, राजनीतिशास्त्री सबै लागे अनि अमेरिकी समाज डिप्रेसनमा जानबाट बचाए । समाजमा नागरिकले आदर गरेको व्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि उदाहरणीय काम गर्‍यो भने पनि समाजको आत्मबल बढ्छ । त्यसका लागि ‘सामाजिक नेता’ चाहिन्छ । एकोहोरो रूपमा रातदिन खटेका डा. सन्दुक रुइत, स्वास्थ्य क्षेत्रको सुधारमा लागेकै छन् गोविन्द केसी, विज्ञानको क्षेत्रअन्तर्गत बोट्नीमा केशव राजभण्डारी निरन्तर लागेका छन् र दक्षिण एसियाकै लिडिङ फिगर बनेका छन् । लोडसेडिङ हटाएर कुलमान घिसिङ सामाजिक नेताका रूपमा देखा परे । प्रशासनमा डिभी पिआर कर्मचारी हुन हुँदैन भनेर लालबाबु पण्डितले नेतृत्व गरे । अर्थात् केही निश्चित व्यक्ति सामाजिक नेताका रूपमा देखा परे । यतिले नेपाली समाजको मनोबल वा आत्मबल बढाउन सक्दैनन् । यसका लागि त २–४ सय सामाजिक नेता चाहिन्छ । नयाँ वर्षले सामाजिक नेतृत्वको विकास गरोस् ।

(योगेश ढकालसँगको सम्वादमा आधारित)

तपाईको प्रतिक्रिया