समाजसेवामा नयाँ आयाम - Naya Patrika
eNaya Patrika
  • ePaper

समाजसेवामा नयाँ आयाम

नयाँ वर्ष ०७५ साल विगतका वर्षहरूभन्दा राम्रोसँग अगाडि बढोस् । सबै नेपालीहरूमा सुख–शान्ति छाओस् । सबैले उल्लासमय जीवन जिउन पाऊन् । सामाजिक रूपमा हुन्छ कि, अन्य माध्यमबाट हुन्छ कि समस्यामा परेकालाई सघाउन सकौँ, राहत पुर्‍याउन सकौँ । हाम्रो अहिलेको टार्गेट भनेको क्रिकेट स्टेडियम बनाउने छ । त्यसका लागि हामी एकदम जोडतोडका साथ लाग्नेछौँ । अर्कोतर्फ समाजमा हुने जति पनि समस्या हामी देख्छौँ । तपाईं–हाम्रै छेउछाउमा हत्या, हिंसा, विकृति छ भने त्यस्ता समस्यालाई समाधान गर्न सकौँ । विशेष गरी मचाहिँ महिला समस्यामा फोकस हुनेछु । अहिले बलात्कारका घटना भइरहेका छन् ।

कुञ्जना घिमिरे  ‘सुन्तली’

बोक्सी आरोपमा कुट्ने, मार्नेसम्मका घटना पनि भइरहेका छन् । महिला हिंसाका विरुद्धमा केही गरौँ भन्ने मेरो चाहना छ । देश–विदेशका धेरै महिला साथीहरूले यसमा पनि ध्यान दिनुपर्‍यो भन्ने सुझाब दिनुभएको छ । यसमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर सोच्नेछु । समाजका लागि केही गरौँ, राष्ट्रका लागि केही गरौँ । समाज परिवर्तनमा केही योगदान गर्न सकौँ भनेर नै लाग्नेछु । दुई–तीन साल भयो, हामी त्यसरी नै हिँडिरहेका छौँ । ०७५ साल विशेष किन रहन्छ भने नेपालको गौरव भनेर मानिने क्रिकेट स्टेडियमलाई विशेष फोकस गरेर हाम्रो फाउन्डेसन (धुर्मुस–सुन्तली फाउन्डेसन) नै अगाडि बढ्छ । त्यसले अरूभन्दा पृथकता पाउँछ भन्ने लाग्छ । सँगसँगै म महिला सशक्तीकरणमा लाग्नेछु ।

महिलालाई कसरी रोजगार बनाउने, महिलाका शिक्षा, स्वास्थ्यका विषयमा पनि काम गर्ने सोच छ । महिलाहरू घरमा बस्ने हो भन्ने परम्परागत मान्यता थियो, अहिले पनि कतिपय अवस्थामा त्यो सोच छ । चेलीबेटीले पढ्न नपाउने, घरभित्रको काममा सीमित हुने समाजलाई हामीले केही परिवर्तन गरेका छौँ । हामीले जति पनि बस्ती बनाएका छौँ, त्यहाँ महिला दिदीबहिनीहरूलाई केही न केही काममा सहभागी हुन सिकाएका छौँ । छोरीलाई शिक्षाको अझ बढी आवश्यकता छ । आत्मनिर्भर हुनका लागि शिक्षा पहिलो सर्त हो, शिक्षाको माध्यमबाट नै राष्ट्रका लागि योगदान पुर्‍याउन सकिन्छ भनेर महिला दिदीबहिनीहरूलाई भन्ने गरेको छु ।

तराईमा दाइजो प्रथा छ । छोरी जन्मनेबित्तिकै आमाबुबालाई दाइजोको चिन्ता हुने अवस्था छ । त्यस्ता समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा हामी हिजो पनि हिँडेका थियौँ, आगामी दिनमा पनि त्यसरी अगाडि बढ्नेछौँ ।

आम मानिसले सोचिरहनुभएको रहेछ । समाजसेवी फलानो, समाजसेवी यस्तो भन्ने हामीले सुनेका थियौँ । हामी यस्तो समाजमा जन्म्यौँ, यस्तो समाजमा हुर्कियौँ, जहाँ सानैदेखि भ्रष्टाचार गर्न सिकाइन्थ्यो । दूघ बेच्दा पानी मिसाउनुपर्छ भन्ने हामीलाई थाहा थियो । होटेलमा चिया बेच्दा बाक्लो दूघको चिया नबेची पातलो बनाएर बेच्न सिक्यौँ । मिसावट गर्न, फाल्तु कमाउन सानैदेखि सिकेर आयौँ । त्यहाँ भित्र पनि समाजसेवामा यो छ रे भन्दा होइन होला भन्ने लाग्थ्यो ।

हामी त्यस्तो संस्कारबाट हुर्कियौँ । हामी त्यो काममा संलग्न नभई, आफूले त्यो चिजको स्वाद नचाखीकन पत्याउन गाह्रो हुँदो रहेछ । अहिले आएर हो, हो, हो भनेर गर्दै आउँदा धेरैजना नेपालीले हामीलाई विश्वास गर्नुभयो । नराम्रो काम गरेर समाजसेवाको खोल मात्रै ओढेका थियौँ भने हामी यो स्टेपसम्म आइपुग्न सक्ने थिएनौँ । हामीले काम गर्न सक्ने थिएनौँ, हरेक नेपालको सहयोग पाउने थिएनौँ । मलाई अहिले कस्तो फिल हुन्छ कि मैले यो ट्याग लिने होइन, सबैजना सम्लग्न भएर स्वाद एकपटक चाखे हुन्थ्यो । राजनीतिक रूपमा होस् या हरेक हिसाबले काम गर्न खोज्दा वातावरण नमिल्ने, लगानी गर्दा असुरक्षित महसुस हुने, त्यसको प्रतिफल के हुन्छ भन्ने हुने, पढ्दा पनि पढेअनुसारको रोजगार नमिल्ने अवस्थाले हामी नेपाली निराश बनेका छौँ । त्यसकारण केही पनि हुँदैन होला भन्ने लाग्छ ।

देशमा केही पनि सम्भव छैन भन्ने हुँदा मनमा छटपटी हुने, दिमागले सोच्न नसक्ने दिनबाट हिजो गुज्रिरहँदा आज अरूका लागि गर्ने सेवा भाव पलाएको छ । मानिसहरूमा सेवा भावको विकास भएको छ । गरेदेखि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्न सकेका छौँ । सबै नेपालीले आनन्दका साथ जीवन जिउन पाऊन्, सबै नेपालीले देशमा रोजगारी पाउनु, सबै नेपालीले देश विकासका लागि सोचून्, अक्षम व्यक्तिहरूलाई सहयोग गर्ने मनोभाव सबै नेपालीमा आओस् । मानवता विश्वमा नै गुमिरहेको छ । त्यो चिज मानवीयता भन्ने हाम्रो संस्कार, संस्कृति, एकले अर्कालाई गर्ने माया, ठूलालाई गर्ने आदर, सानालाई गर्ने माया गुम्दै गएको छ ।

त्यो गुमेको चिज ०७५ मा पाउनु, एक–अर्कालाई सम्मान गर्न सकियोस् भन्ने वातावरण तयार गर्न हामी लागेका छौँ । हामीलाई अहिले सबै नेपालीले साथ दिनुभएको छ । यो अभियानमा सबै नेपालीलाई सहभागी गराउने योजनामा छौँ । स्टेडियमको काममा पनि धेरै मानिसलाई सहभागी गराउँछौँ । त्यो भएपछि सबैमा स्वाद पस्दै जान्छ । अहिले त लहर नै आएको छ । तपाईं केही राम्रो गर्छु भनेर जानुहोस्, अबचाहिँ पत्याउन थाले । अबचाहिँ साँच्चै राम्रो काम गर्ने रहेछ भन्ने भयो । तर, हिजोको दिनमा होइन होला भन्थ्यौँ । अहिले राम्रो पनि काम हुन्छ भन्ने छ ।

बाढीले समस्या पारे सबैजना उद्धारमा जानुहुन्छ, उद्धारको आनन्द लिन थाल्नुभयो । पहिरो जान्छ, त्यहाँ पनि सघाउनुपर्छ भनेर आनन्द लिन थाल्नुभयो । कसैलाई आपत् पर्दा सघाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । सबै नेपालीले हामीलाई रुचाउनुभएको छ, सहयोग गर्नुभएको छ, साथ दिनुभएको छ । अझै केही गर्नुहोस् भनेर प्रेरणा दिइराख्नुभएको छ । समाजसेवाको आनन्द शब्दमा व्यक्त गर्नै सकिँदैन । आफू पनि सहभागी भएर फिल नै गर्नुपर्छ ।

पहिला धेरैजना समाजसेवी भनेर आउँथे । आफूलाई समाजसेवी भन्दा अड लाग्थ्यो । हरेक कुरामा पारदर्शी छैन, मुखमा राम, राम बगलीमा छुरा भन्नेजस्तो काम पनि हाम्रो देशमा नभएको होइन । त्यस्तो समाजसेवा पनि एकदम फस्टाएको अवस्थामा मलाई पनि समाजसेवीको ट्याग लाग्दा अप्ठ्यारो फिल हुन्थ्यो । ट्याग केही पनि चाहिएन, समाजका लागि केही योगदान भनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । हामी नागरिक हौँ । नागरिकको कर्तव्य निभाएका हौँ । सबैभन्दा पहिला हामी नागरिक हौँ, त्यसपछि मात्रै कलाकार वा अरू कोही । हामीले नागरिकले गरेको जिम्मेवारी निभएका हौँ भन्ने लाग्थ्यो ।

अब यो कस्तो खालको समाजसेवी हो, त्यो कस्तो खालको समाजसेवी हो भनेर छुट्याउन थालिसकेको छ । पहिला मलाई समाजसेवी भन्दा लाज लाग्थ्यो, तर अब जो कालो धन लुकाएर समाजसेवीको नाम दिनुहुन्छ, उहाँहरूलाई अब लाज लाग्छजस्तो लाग्छ । ०७५ सालबाट उहाँहरूले अब मैले कसरी समाजसेवी भन्ने होला, अब त मलाई आममानिसले समाजसेवी भनेर पत्याउँदैनन् भन्ने डर ०७५ सालबाट हुन्छ भन्ने लाग्छ । नकारात्मक विचार राखेर समाजसेवाको खोल आढ्नेहरूलाई अब चुनौती छ ।

हामीलाई देश–विदेशबाट सहयोग आएको छ । नेपालभाषी भुटानी समुदायबाट पनि सहयोग आएको छ । हामीलाई कुन हिसाबले सहयोग गर्न सोहीअनुसार गर्न सक्नुहुनेछ । हामीसँगै फिल्डमा खटिएर सहयोग गर्न नसक्नुहोला, हामीसँग कदममा कदम मिलाएर काम गर्न नसक्नुहोला, बाहिर हुनेहरूले आर्थिक सहयोग र नैतिक सहयोग गर्न सक्नुहुन्छ । यहीँ हुनेहरूले हामीसँगै रहेर सहयात्री बन्न सक्नुहुनेछ । अथवा हाम्रा योजनाहरूलाई सपोर्ट गरेर, थप प्रोत्साहन गरेर अरूलाई पनि सकारात्मक रूपमा समाजसेवामा लाग्न प्रेरित गर्न सक्नुहुन्छ ।

हाम्रोमा वेला–वेलामा ह्विम चल्छ । कुनै चिज राम्रो भयो भने यति माथि उडाउनुहुन्छ कि आफूलाई नै चंगा भएको फिल हुन्छ । हामी मान्छे हौँ । हामीले गर्ने कुनै काममा गल्ती हुन सक्छ । कोही एकजनाले नकारात्मक सोचका साथ भ्रम छर्ने काम गर्‍यो भने पातलमा पुर्‍याउने गरी लाग्नुहुन्छ । राम्रो सुने राम्रै भनेर उडाउने र नराम्रो सुने नराम्रो नै भनेर गाली गर्ने चलन बसेको छ । रेको भरमा चल्ने संस्कार पनि बदल्न जरुरी छ । यथार्थ के हो, त्यो बुझेर मात्र अगाडि बढ्दा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई निरुत्साहन हुन्थ्यो ।

यथार्थ आवाजलाई कसैले पनि दबाउन सक्दैन । हाम्रो समाजमा आज पनि फेलर बनाउनेहरू नै धेरै हुन्छन् । हामीलाई त्यो डर त छैन, तैपनि हामीलाई उदाहरण लिँदै भोलि अरू पनि यसरी नै समाजसेवामा होमिने वातावरण बनोस् भन्ने चाहन्छौँ । यदि हामीले हार स्विकार्नुपर्ने अवस्था आयो भने अब आउने पुस्ताले कसरी राष्ट्रमा भविष्य देख्छन् ? युवाहरूले कसरी अगाडि बढ्ने भन्ने कल्पना गर्न सक्छन्, पक्कै सक्दैनन् । त्यसकारण हरेक नेपालीले हामीलाई जीवित राख्न जरुरी छ । हामीलाई यो बाटोमा स्ट्यान्डबाई राख्न जरुरी छ । धुर्मुस–सुन्तली कतै लरबराउन थाले भने हात समातेर उठाउने मान्ने हामीलाई जरुरी छ । ०७५ सालमा यो चिजको लहर ल्याउने इच्छा छ । सुन्तली यसरी अगाडि बढ्न सकी भने म किन सक्दिनँ भन्ने अठोट मनमा लिएर हिँड्न सकोस् ।

हामीले राज्यलाई सघाउने अभियान पनि गरेको हो । तपाईं–हामी सबै सरकारका मान्छे हौँ । देश र सरकारसँग टाढा भएर होइन, सँगसँगै रहेर, सँगै हिँडेर नै काम गर्ने हो । हामीले राज्यसँग अपेक्षा गरेर काम गरेको होइन, हिजो भूकम्प राज्यले ल्याइदिएको र समाजसेवा गर्छु भनेर लागेको होइन । भूकम्प प्राकृतिक रूपमा आयो, हामीले दिनरात नभनी काम गर्‍यौँ । राज्यले स्विकार्‍यो । त्यही नै हो । ०७५ मा गरिरहेको काममा राज्यले हस्तक्षेप नगरोस्, थप के सहयोग गर्न सकिन्छ त्यो गरोस् । हामी मात्र होइन, यहाँ समाजसेवामा राम्रो काम गरेका धेरै हुनुहुन्छ ।

हाम्रो नाम पनि आयो, तर भित्र काम मात्रै गर्नेहरू पनि धेरै हुनुहुन्छ । राज्यले त्यस्तालाई पहिचान गरेर भोलिबाट कसरी देश विकासका लागि, समाज परिवर्तनका लागि प्रयोग गर्न सकिन्छ, प्रयोग गरिदिओस् । हरेक नेपालीले सहयोग गर्नुभएको छ । देशभित्र र बाहिर पनि नेपालीहरूले दुःख गरिरहनुभएको छ । हुन त मागेर काम चलाउनु राम्रो होइन, तर नमागी पनि भएको छैन । हामीले अरूका लागि मागेका हुन्छौँ । सबैले बुझ्नुभएको छ । यो साथ र सहयोग निरन्तर रहिरहोस् । नकारात्मक कुरा कसैको पनि दिमागमा नआओस् । नकारात्मक कुरा छन् भने पनि त्यसलाई हामीले सकारात्मक रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । गुम्न लागेको मानवतालाई एकपटक फेरि जीवित राखौँ । सबैजना एक हौँ, एक–अर्कालाई आपत् गर्दा सहयोग गर्ने बानी बसालौँ । हामीले सांकेतिक रूपमा बुझाउन खोजेका छौँ । सबै नेपालीमा सुख–शान्ति छाओस् ।

(प्रेम गौतमसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया