क्रिकेटमा चुनौतीका साथै धेरै अवसर - Naya Patrika
eNaya Patrika
  • ePaper

क्रिकेटमा चुनौतीका साथै धेरै अवसर

धेरै उतारचढावबीच हामी अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त गर्न सफल भयौँ । एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको कप्तानका नाताले भन्नुपर्दा नयाँ वर्ष ०७५ देखि नै हाम्रो चुनौती बढेको महसुस गरेको छु । धेरैलाई यो लाग्न सक्छ, यो मान्यता दीर्घकालीन होइन । यो केवल अस्थायी मात्र हो । हामीले चार वर्षसम्म एकदिवसीय टिमका रूपमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

यही प्रदर्शनका आधारमै चार वर्षपछि यही अवस्थामा रहन्छौँ वा रहन्नौँ भन्ने हुन्छ । यसकारण ०७५ को सुरुदेखि नै नेपाललाई एसोसिएटमध्येको एकदिवसीय राष्ट्रबीच बलियो टिम बनाउने उद्देश्यले कार्ययोजना अगाडि बढाउनुपर्छ ।

त्यसका लागि केही आधारभूत काम गर्नुपर्ने हुन्छ । आगामी दिनमा टेस्ट राष्ट्र कसरी बन्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । त्यसैले हामीले यो चार वर्षमा बलियो जग बनाएर अघि बढ्ने हो भने टेस्ट राष्ट्र बन्ने सोच बनाउनुपर्छ । जुन कार्य हामीले नयाँ वर्षबाट सुरु गर्नुपर्छ ।

निलम्बन फुकुवाको आशा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले क्यानलाई प्रतिबन्ध गरेको छ । सबैभन्दा पहिला क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नतिर लाग्नुपर्छ । क्यानमाथि प्रतिबन्ध लागेको दुई वर्ष हुन लागेको छ । कुनै पनि क्रिकेट संघमाथि प्रतिबन्ध लाग्दा हानि नै पु-याउँछ, जुन हामीले भोगिरहेका छौँ ।

आन्तरिक विवादका कारण क्यानमाथि प्रतिबन्ध लगाएपछि आइसिसीकै रेखदेखमा हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका छौँ । सामान्य भनाइमा आइसिसीले नेपाली क्रिकेट टिमको व्यवस्थापन हेर्दै आइरहेको छ । स–साना कुरामा पनि हामी आइसिसीमाथि निर्भर हुनुपरेको छ । क्यान भएको भए आइसिसीसँग गुहार माग्नु पर्दैनथ्यो ।

क्यान निलम्बनमा परेका कारण नै यहाँको क्रिकेट विकास एक किसिमले अवरुद्ध भएको महसुस गरेको छु । विवाद समाधानका लागि पटकपटक पहल नभएको होइन, तर सबै प्रयास विफल भए । हामीलाई विश्वास छ, नयाँ वर्षमा क्यानमाथिको प्रतिबन्ध फुकुवा हुनेछ ।

हामी खेलाडी र समर्थकको चाहना नै क्रिकेट विकासका लागि सोच भएका व्यक्ति आऊन् भन्ने हो । जसले दीर्घकालीन रूपमै क्रिकेट विकासको आधार तय गर्नेछन् । हामी सबैले आशा गरेका छौँ, क्यान विवाद पनि नयाँ वर्षमा समाप्त हुनेछ । जसले नेपाली क्रिकेट विकासको बाटोमा लाग्नेछ ।

के गर्नुपर्छ सबैलाई थाहा छ

क्रिकेटमा के–के गर्नुपर्छ, कसैलाई पनि भनिराख्नु आवश्यक छैन । सबैलाई आ–आफ्नो जिम्मेवारी के हो स्पष्ट भएकै कुरा हो । हामी जसरी ०७४ मा नेपाली क्रिकेटलाई इतिहासमै एक सफलता दिलाउन सफल भयौँ, त्यहीअनुरूप ०७५ राम्रो होस् भन्ने चाहन्छु ।

अझ गत वर्षको तुलनामा नयाँ वर्षमा राम्रो–राम्रो नतिजा निकाल्ने सोचका साथ अगाडि बढ्नुपर्छ । जसरी हामी एकदिवसीय मान्यता प्राप्त गरी सम्पूर्ण नेपालीलाई नै खुसी दिलाउन सफल भयौँ, त्यसैगरी आगामी दिनमा राम्रो नतिजा ल्याएर थप खुसी दिलाउनुपर्छ भन्ने छ ।

क्रिकेटमा नयाँ व्यस्थापनको विकास होस् भन्ने चाहना छ । मेरो आफ्नो लिमिटेसन छ । मैले आफैँले धेरै कुरा गर्ने अवस्था रहँदैन । जतिसक्दो राम्रो–राम्रो टिमहरूसँग सम्बन्धका आधारमा खेलौँ भन्न सक्छु, तर खेलाउने अधिकार मेरो हुँदैन । खेलाडीले गर्न सक्दैनन्, हरेक प्रश्नको उत्तर व्यवस्थापनमा नै ठोकिन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा केन्द्रित

यसबाहेक आइसिसीको क्यालेन्डरअनुसार अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनुपर्छ । यस वर्ष नेपाली क्रिकेटरले अन्य वर्षको तुलनामा बढी एक्सपोजर हुने अवसर पाउनेछन् । यसलाई जतिसक्दो धेरै ‘क्याच’ गर्न सक्नुपर्छ । एकदिवसीय टिम बनेपछि अब हामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बढी फोकस हुनुपर्छ । यसै वर्षमा एसिया कप पनि छ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान टिम छन् । हामी एकैपटक एसिया कपमा छनोट भइसकेका छैनौँ । हामीले एसिया कपमा स्थान पक्का गर्न छनोट चरण खेल्नुपर्छ । छनोट चरणको विजेताले मात्र एसिया कपमा स्थान बनाउनेछ । एसिया कप छनोट तयारी थाल्नुपर्छ ।

एसिया कपमा छनोट हुँदा हामीले क्रिकेटका पूर्व विश्व च्याम्पियनसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछौँ । यसकारण पनि हाम्रो नजरमा एसिया कपको छनोट खेल अति नै महत्वपूर्ण छ । यसैगरी यस वर्ष हामीले टी–२० विश्वकप क्रिकेट छनोट पनि खेल्छौँ ।

त्यसको तयारीबारे सोच्ने वेला भइसकेको छ । ती अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा हामीहरूको स्तर अहिलेभन्दा माथि उठ्ने विश्वास लिएको छु ।

 

अब खेलकुदमा व्यवसायीकरण हुनु जरुरी छ । क्रिकेट व्यावसायिक रूपमा अगाडि बढ्दा  नेपाली क्रिकेटमा भविष्य खोज्ने र क्रिकेटमा लाग्ने जोसमा नयाँ आयाम थपिनेछ । क्रिकेटमा धेरैभन्दा धेरै लगानी गर्नुुपर्छ । 

 

भौतिक पूर्वाधार केही गर्नुपर्ने

विडम्बना नै हो । हामीले भौतिक पूर्वाधार क्षेत्रमा खासै केही गर्न सकेका छैनौँ । नेपाल अब एक स्ट्यान्डर्डमा पुगिसकेको छ । त्यसले पनि भौतिक पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनुपर्छजस्तो लाग्छ । एकदिवसीय मान्यताले क्रिकेटमा एक किसिमको स्थायित्व दिएको छ । त्यसको फाइदा उठाउनुपर्छ । यसका लागि पूर्वाधार विकास हुनु अति नै आवश्यक छ ।

पूर्वाधार खासै विकास नभएका कारण हामी त्यही त्रिवि मैदानमै निर्भर हुन बाध्य छौँ । जबसम्म घरेलु संरचना र पूर्वाधार विकास हुन सक्दैन, खेलाडीको व्यक्तिगत प्रदर्शनले मात्र दीर्घकालीन अवस्थासम्म नेपालको क्रिकेट विकास सम्भव छैन ।

हामीले यस्तो खालको सिस्टम बनाउनुपर्छ । खेलाडी देश–विदेशमा गएर राम्रो टिमहरूसँग क्लब क्रिकेट खेल्ने वातावरण तयार गर्नुपर्छ । अब त मौका पनि छ । नयाँ वर्षदेखि नै पूर्वाधारतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । यसका साथै क्रिकेटमा फन्डिङ पनि त्यति आउनुपर्छ ।

लगानी बढाउनुपर्छ

अहिले क्रिकेटमा सबैतिर उल्लासमयी वातावरण बनेको छ । सबै उत्साहित छन् । अहिलेको सफलताले युवा खेलाडीले केही आशा गरेका छन् । ती युवाहरूको आशा पूरा गर्ने किसिमको वातावरण बनाउन सक्नुपर्छ । अब खेलकुदमा व्यवसायीकरण हुनु जरुरी छ ।

क्रिकेट व्यावसायिक रूपमा अगाडि बढ्दा नेपाली क्रिकेटमा भविष्य खोज्ने र क्रिकेटमा लाग्ने जोसलाई नयाँ आयाम दिनेछ । धेरैभन्दा धेरै क्रिकेटमा लगानी बढाउनुपर्छ । सम्झनयोग्य वर्षका रूपमा नेपाली क्रिकेटलाई बनाउनुपर्छ । विगतका दिनमा के भयो भन्नेर अलमलिनुहुन्न ।

अब नयाँ वर्षदेखि के गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अहिले नगरे कहिले पनि हुन्न । किनभने यसका लागि हामीले एउटा वातावरण सिर्जना गराएका छौँ । खेलाडीहरूका लागि क्रिकेटिङ वातावरण बनाउनुपर्छ । हामी सबैको लक्ष्य भनौँ वा मुख्य कुरा क्रिकेट विकास गर्ने नै हो ।

फेरि पनि संरचनामा नै अल्झने हो भने क्रिकेटको विकास हुन सक्दैन । नयाँ वर्षमा नयाँ सोच र नयाँ लक्ष्यका लागि अघि बढ्नुपर्छ । यस्तो भएन भने समस्या थप बढ्नेछ । हामी के गर्न सक्छौँ भन्ने हो । अब पनि व्यक्तिगत स्वार्थमा नै अघि बढ्ने हो भने नेपाली क्रिकेट अघि बढ्न सक्दैन ।

व्यस्त बनाउने कार्यतालिका

ठूलो समस्या भनेको कार्यतालिका छैन । घरेलु मैदानमा औँलामा गन्न सकिने प्रतियोगितामा हामी खेलिरहेका छौँ । यस किसिमको कार्यतालिका र संरचनाले प्रतिभावान् खेलाडी बाहिर परिरहेका छन् । जति धेरै क्रिकेट प्रतियोगिता घरमा सञ्चालन हुन्छन्, त्यति नै नयाँ–नयाँ खेलाडी उत्पादन हुन्छन् ।

यसले नेपाली क्रिकेटको जग पनि बलियो हुन्छ । अहिलेको संरचनामा हामी पुराना खेलाडीलाई विस्थापित को भन्ने प्रश्न उठिरहेको छ ? सम्बन्धित निकायले अब क्रिकेटलाई वर्षभर नै चलायमान हुने गरी कार्यतालिका बनाउन आवश्यक भइसकेको छ ।

हाम्रोमा जति फ्यान फ्लोइङ छ कतिपय टेस्ट राष्ट्रमा पनि छैन । हाम्रा लागि यो बलियो पक्ष हो । त्यस्तै, हामीलाई सबैभन्दा ठूलो मोटिभेसन फ्यानहरूबाट नै छ । समर्थकलाई खुसी बनाउन र खेलाडीलाई व्यस्त पार्न क्रिकेटमा निश्चित खेल तालिका हुनु जरुरी छ ।

­(तेजराज भट्टसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु