काठमाडौं डिपिएलको फाइनलमा - Naya Patrika
eNaya Patrika
  • ePaper

काठमाडौं डिपिएलको फाइनलमा

महेन्द्रनगरलाई ५ विकेटले हराएको काठमाडाैँले शुक्रबार उपाधिका लागि साबिक विजेता टिम चौराह धनगढीको सामना गर्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै दोस्रो धनगढी प्रिमियर लिग (डिपिएल)को फाइनल स्थान सुरक्षित गरेको छ । अब उपाधि भिडन्तमा काठमाडौंले शुक्रबार साबिक विजेता टिम चौराह धनगढीको सामना गर्नेछ । बिहीबार पुनः सुरु भएको प्रतिस्पर्धामा महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । काठमाडौंले १८.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनायो ।

१० रन ६ विकेट
पहिलो ब्याटिङ गरेको महेन्द्रनगरको सुरुवात खराब रह्यो । इनिङको ४.६ ओभरको खेल समाप्तिसम्म महेन्द्रनगर १०–६ को दयनीय अवस्थामा पुगेको थियो । महेन्द्रनगरलाई दयनीय अवस्थामा पुर्‍याउन सनी पटेलले सुरुवाती पाँचै विकेट लिएका थिए । सनीले कप्तान विनोद भण्डारी (०), आरिफ सेख (०), पुनीत विष्ट (०), हरिशंकर शाह (०) र रोहितकुमार पौडेल (०) र भूवन कामी (०) को विकेट लिएपछि महेन्द्रनगरले १० रनभित्र ६ विकेट गुमाएको हो । सनीले ४ ओभरमा १ मेडन राखी १० रन खर्चे ।

८५ रनको साझेदारी
सनीको बलिङ स्पेल सकेपछि महेन्द्रनगरको ब्याटिङमा सुधार आयो । आरिफ सेख र पुनीत मेहराले सातौँ विकेटका लागि ८५ रनको बलियो साझेदारी गर्दै ९५–७ को स्थितिमा पुर्‍याए । आरिफ ४३ रन जोड्न ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मेहराले अर्धशतकीय इनिङ खेले । साहब आलमबाट रन आउट हुनुअघि मेहराले ४२ बलमा समान ४ चौका र छक्का प्रहार गरी ५८ रन जोडे । मेहरा इनिङकै अन्तिम बलमा आउट भएका हुन् । मेहराले करण केसीसँग आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरे । करणले १२ बलमा २१ रनको विस्फोटक इनिङ खेले ।

भाटीको सर्वाधिक छिटो अर्धशतक
डिपिएलमा काठमाडौंका ओपनर सुबोध भाटीले सर्वाधिक छिटो अर्धशतकको रेकर्ड बनाएका छन् । उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । भाटी १८ बलमा ५२ बल बनाएर आउट भए । त्यस्तै, काठमाडौंका लागि अमित श्रेष्ठले २६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २५ रन जोडेका थिए । अमितले १९ बलमा ५ चौका प्रहार गरे ।

उपाधिका लागि खेल्छौँ : कप्तान
दुवै टिमका कप्तानहरूले उपाधिका लागि नै प्रतिस्पर्धा गर्ने बताए । काठमाडौं कप्तान मल्लले आफूहरू जितका लागि प्रतिस्पर्धा गर्ने बताए । उनले भने, ‘आजको खेल जितेसँगै हाम्रो लक्ष्य उपाधि जित्ने नै हुनेछ, सोचेअनुरूप प्रदर्शन भए स्वाभाविक रूपमा उपाधि जित्न सक्षम हुनेछौँ ।’ मल्लले फाइनलका लागि आवश्यक रणनीति बनाएर अघि बढ्ने बताए । धनगढीका कप्तान सोमपाल कामीले घरेलु दर्शकलाई निराश नपार्ने विश्वास लिए ।

तपाईको प्रतिक्रिया