'कोरा विवरण र टिपोट नियात्रा होइन' - Naya Patrika
eNaya Patrika
  • ePaper

‘कोरा विवरण र टिपोट नियात्रा होइन’

कृष्ण बजगार्इं लामो समयदेखि बेलायत छन् । उनका निबन्ध, कथा, लघुकथा, हाइकुलगायतका संग्रह गरी आठवटा पुस्तक प्रकाशन भइसकेका छन् । उनको पछिल्लो निबन्धसंग्रह ‘भाया साक्रा’ सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । उनी समकालीन साहित्यडटकमका प्रकाशक तथा सम्पादक पनि हुन् । उनीसँग भाया साक्रा र नियात्रा लेखनबारे गज्जबका प्रकाश गुरागाईंले गरेको संवाद :

नियात्रा किन लेख्नुहुन्छ ?

बेल्जियम र बेलायतमा गरी मैले १८ वर्ष विदेशमा बिताएको छु । तीबाहेक अन्य देशका भ्रमण गर्दा त्यहाँ देखेको कुराले म रन्थनिने गरेको छु । ती देशमा राष्ट्रका धरोहर कला, संस्कृति, इतिहास, साहित्यलाई सरकारी स्तर र जनस्तरबाट गरेको संरक्षण देखेर छक्क पर्दछु । हामीकहाँ उपलब्ध हुने स्रोत र साधनले पनि त्यही स्तरको काम गर्न सकिन्छ । तर, किन हामीकहाँ त्यस्तो कार्य हुँदैन भनेर मुर्मुरिन्छु । त्यस्ता अनुभव र उनीहरूले गरेका अनुकरणीय काम नेपालमा पनि काम लागोस्, सरकारमा बस्नेहरूको आँखा खुलोस् र पाठकहरूलाई पनि नवीनतम् जानकारी प्राप्त होस् भनेर यो नियात्रा कृति लेखेको हुँ ।

नियात्रा कस्तो हुनुपर्छ ? नेपालका नियात्राकारले न्याय गर्न सकेका छन् ?
यात्राका क्रममा आफूले देखेभोगेका विभिन्न दृश्य, प्रसंग, घटना, अनुभव आदिलाई निजात्मकताले भरेर सुरुचिपूर्ण शैलीमा नियात्रा लेखिएको हुनुपर्दछ । यात्राका कोरा वर्णन वा शब्दका थुप्रो लगाएर शब्दजालमा मात्र पाठकलाई अल्मल्याउनुहँुदैन । नियात्रामा साहित्य सँगसँगै नयाँ, रोचक जानकारी र सूचनाहरू आएकै हुनुपर्दछ । केही नियात्राकारलाई छाडेर हेर्ने हो भने अधिकांश लेखकका यात्रामा कोरा विवरण र टिपोट हुन्छन् या त अनावश्यक शब्दका उडान भरेका हुन्छन् । तीनदिने सरकारी तालिम वा आइएनजिओको सेमिनारमा पुगेका हुन् वा विदेशमा रहेका छोराछोरी भेट्न आएका हुन् या चारधामको तीर्थयात्रा गरेर फर्केका हुन् । तिनले नियात्राका मोटा–मोटा किताब निकालेर चकित पारेका छन् । ती ठाउँका बारेमा राम्ररी अध्ययन अनुसन्धान नगरी लेखिएका कैयौँ कृतिमा स्थानको नाम, अवस्था, घटना, सूचना आदि उल्टापाल्टी लेखेको पाएको छु । त्यस्ता नियात्रा कृतिले पाठकको पैसा र समयको बर्बाद मात्र गर्दछन् ।

नियात्रा र निबन्धको भेद कसरी बुझ्ने ? यिनमा समानता हुन्छ कि हुँदैन ?
नियात्रा र निबन्धको नजिकको साइनो छ । विचारप्रधान भएका कुनै पनि विषयलाई साहित्यिक ढाँचामा लेखिन्छ भने त्यो निबन्ध हुन्छ । यात्राका बारेमा कथात्मक शैलीमा लेखिएको निबन्धचाहिँ नियात्रा हुन्छ । यात्रासँग सम्बन्धित संस्मरण नियात्राको अनिवार्य तत्व हो । नियात्रामा लेखकको उपस्थिति आवश्यक हुन्छ । तर, निबन्धमा लेखकको उपस्थिति नभए पनि हुन्छ । नियात्रा पनि निबन्ध नै हो र होइन भन्ने विभिन्न मत छन् । मेरो विचारमा नियात्रालाई निबन्धभित्र बाँधेर राख्नुहुँदैन । नियात्रालाई स्वतन्त्र विधाका रूपमा स्विकार्नुपर्दछ ।

ठाउँ र पात्रले नियात्रा लेखनलाई कस्तो प्रभाव पारिरहेको हुन्छ ?
ठाउँ र पात्र नै नियात्रालाई प्रभाव पार्ने मुख्य तत्व हुन् । यात्रामा ठाउँ र पात्रले पारेको प्रभावका आधारमा लेखकको मनमा भाव उठ्छ । त्यसले लेखकलाई लेख्न उत्पे्रेरित गर्दछ । मनभित्र उठेको भाव र त्यस स्थानको दृश्यचित्र मिलाएर उतार्न सकियो भने जीवन्त नियात्रा बन्न पुग्छ ।

नियात्रा लेख्नका लागि यात्रा कि यात्रा गरेपछि नियात्रा ?
यात्रा अनुभव र ज्ञानको अजस्र स्रोत हो । नयाँ ठाउँ घुम्नु र नयाँनयाँ कुरा थाहा पाउन खोज्ने बानीले मलाई यात्रा गर्न उत्पे्ररित गरिरहन्छ । यात्रा गरिसकेपछि धेरैजसो अवस्थामा आफूले देखेभोगका कुराबाट म तरंगित हुन्छु । जबसम्म त्यसलाई लेख्दिनँ मेरो मन र मस्तिष्कमा ती दृश्यहरू घुमिरहन्छन् । त्यसैले हताहतार नियात्राको पहिलो ड्राफ्ट तयार पार्छु । यात्राप्रिय व्यक्ति हुनाले यात्रामा निस्किरहन्छु । तर, नियात्रा लेख्नैका लागि आजसम्म यात्रा गरेको छैन ।

नयाँ नियात्रासंग्रहको नाम अनौठो राख्नुभयो । ‘भाया साक्रा’को अर्थ के हो ?
रोममा क्रिस्चियन धर्म प्रवेश गर्नुअघि उनीहरूको आफ्नै धर्म थियो । हिन्दूहरूजस्तै उनीहरू पनि मूर्ति पूजक थिए । रोम सहरमा अवस्थित रोमन फोरमका मन्दिरहरूमा जान आजभन्दा करिब २७ सय वर्षअघि बनाइएको बाटोको नाम ‘भाया साक्रा’ हो । त्यसको नेपाली अनुवाद पवित्र मार्ग हुन आउँछ । उतिवेला तीर्थयात्रीहरू हिँड्नका लागि बनाइएको त्यस पवित्र मार्गमा मैले पनि पाइला टेक्ने सौभाग्य पाएको थिएँ । सोही मार्गको नाममा कृतिको नाम जुराएँ । यस कृतिमा २१ वटा नियात्राहरू समावेश छन् ।

‘भाया साक्रा’ नियात्रा लेखन कहिले सुरु भयो ?
गत वर्ष साझा प्रकाशनबाट मेरो ‘युरेसियाको स्पर्श’ नियात्रासंग्रह प्रकाशित भएको थियो । बाह्य संसार बुझ्ने मेरो यात्रा जारी नै थियो । यात्राका अनुभवलाई नियात्रामा उर्तान थालेँ । गतवर्षको मध्यदेखि यस वर्षको मध्यसम्म लगभग एक वर्षमा ‘भाया साक्रा’ तयार भयो ।

कहाँ–कहाँ बसेर लेख्नुभयो नियात्रा ?
‘भाया साक्रा’का केही नियात्रा इटाली र बेल्जियम बसेर लेखेँ । यात्राका क्रममा टिपिएका कुरालाई होटेलको कोठामा बसेको वेला पहिलो ड्राफ्ट बनाउथेँ । धेरैजसोचाहिँ फर्केर बेलायत आएपछि आफ्नै घरमा लेखेँ । मेरो लेख्ने समय बिहान ४ बजेदेखि हो । बिहान उठेपछि कफीको चुस्कीसँगै ल्यापटपमा औँलाहरू चल्न थाल्दछन् । त्यसवेला परिवारका सबै सदस्य सुतिरहने हुनाले मलाई लेख्न बाधा हुँदैन ।

तपाईं गएका ठाउँको सबै अनुभव दिन सक्नुभएको छ ?
लेखन र अभिव्यक्तिको पनि सीमा हुँदो रहेछ । यात्रामा आफूले देखे, भोगेका सबै कुरा दुरुस्त उतार्न सकिँदैन । कैयौँ अनुभूति धुमिल हुँदै जाँदा रहेछन् । कैयौँ यात्रा अनुभवचाहिँ पाठकले मन पराउँदैनन् कि भन्ने डरले लेख्न सकिँदैन । अर्को कुरा यात्राको अनुभवको क्षेत्र विशाल हुन्छ । ती सब कुरालाई एउटा नियात्रा या पुस्तकमा अटाउन पनि सकिँदैन । पठनीय र रोचक बनाउने हिसाबले नियात्रा लेख्ने गरेकाले केही लेख्न सकिनँ भन्ने लागेको छैन ।

तपाईंको नियात्रा लेखनका विशेषता के–के हुन् ?
लामो समयदेखि विदेशमा बसेका कारणले त्यहीँकै सेरोफेरोमा मेरा नियात्रा हुन्छन् । त्यसमा पनि कला, साहित्य, संस्कृति र इतिहासजस्ता विषयमा लेख्न मन पराउँछु । यात्राका क्रममा देखेका र भोगेका रोचक संस्मरणहरू नियात्रामार्फत अभिव्यक्त गर्न म विशेष अनुसन्धान गरेर लेख्ने गर्दछु । पाठकले मेरा नियात्रा पढिसकेपछि साहित्यको रसमा मात्र रमाउँदैनन्, ज्ञानको समुद्रबाट मोती पनि टिप्छन् । यिनै हुन् मेरो नियात्राका विशेषता ।

तपाईंलाई मन परेका नियात्राकार र तिनका कृति के–के हुन् ?
विदेशमा नेपाली साहित्यको पुस्तक सहजताका साथ उपलब्ध हुँदैनन् । म निकै लामो समयदेखि बाहिर बसेकाले सबैका नियात्राकृति पढ्न पाएको छैन । नपढीकन केही बोलेँ भने लेखकमाथि अन्याय हुन जान्छ । माफ गर्नुहोला, यो जटिल प्रश्नको उत्तर मसँग छैन ।

तपाईको प्रतिक्रिया