'फुड हेबिट कन्ट्रोल'ले फिट छु : गौरी मल्ल - Naya Patrika
eNaya Patrika
  • ePaper

‘फुड हेबिट कन्ट्रोल’ले फिट छु : गौरी मल्ल

वर्षको ६ महिना वाक गर्छु
म वर्षको ६ महिना मर्निङवाकमा निस्कने गर्छु । गर्मी समयमा बिहान मर्निङवाकमा निस्कने गरेकी छु । जाडो मौसममा निस्कँदा छातीमा समस्या हुने भएपछि छोडेकी हुँ । गर्मी समयमा आधा घन्टाभन्दा बढी हिँड्ने गरेकी छु । केही दिनपछि मर्निङवाकमा निस्कने योजना बनाउँदै छु ।

प्राणायाम गर्छु
बिहान प्राणायामका केही आसन गर्ने गरेकी छु । एकदम सामान्य आसनहरू नियमित रूपमा आधा घन्टा गर्छु । जस्तोः अनुलोम, विलोम, भस्त्रिका, भ्रामरीलगायतका आसन गर्दै आएकी छु । यति गरेपछि फ्रेस महसुस हुन्छ ।

उसिना चामल खान्छु
उसिना चामलको खाना खान्छु । मलाई उसिना चामलको खाना मनपर्छ । मेरो स्वास्थ्यलाई पनि यसले फाइदा गरेको छ । मैले उसिना चामल खाँदा कतिपय साथी ‘सुगर छ ?’ भनेर पनि सोध्नुहुन्छ । तर, मलाई मन परेर खाएकी हुँ ।

भेजिटेरियन हुँ
म भेजिटेरियन हुँ । पहिला माछाबाहेक सबै खान्थँे । पछि छाडेँ । जनावरलाई मारेर खानुहुँदैन भन्ने सोचले छोडेकी हुँ । आफू बाँच्नलाई अरूको ज्यान किन लिने भन्ने लाग्यो । अरूको ज्यान नलिई पनि त खुसीसाथ बाँच्न सकिन्छ भनेर मासु खान छाडेको धेरै वर्ष भइसक्यो । मासु छोडेर झनै स्वस्थ भएकी छु ।

सबै तरकारी मनपर्छ
मलाई सबै तरकारी मनपर्छ । त्यसमध्ये सबैभन्दा बढी मनपर्नेचाहिँ करेला र साग हो । हरियो सागसब्जीले धेरै कुरामा फाइदा गर्छ । नियमित हरियो तरकारी खाइन्छ । आँखाको ज्योतिमा पनि फाइदा गर्छ । मलाई चिचिन्डाबाहेकका तरकारी सबै मनपर्छ ।

खर्बुजा र मेवा धेरै खान्छु
मलाई फलफूलमा सबैभन्दा बढी मनपर्ने भनेको खर्बुजा र मेवा हो । यो दुई चिज म धेरै खान्छु । जसले कहिल्यै अघाउँदिनँ । अन्यमा आँपलगायत मौसमअनुसारका फलफूल खान्छु । फलफूलले शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति गर्छ ।

नियमित स्वास्थ्य जाँच गर्न जान्छु
म पहिला स्वास्थ्यप्रति खासै सचेत थिइनँ । तर, बिस्तारै स्वास्थ्य नै सबैथोक हो भन्ने कुरालाई मनमा लिएर व्यवहारमा पनि उतार्न थालेकी छु । पहिला पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने चेतना नभएको त होइन, तर व्यावहारिक भएकी थिइनँ । तर, पछिल्लो समयमा व्यवहारमा पनि उतार्ने प्रयास गरिरहेकी छु । त्यसैले वर्षमा एकपटक नियमित रूपमा स्वास्थ्य जाँच गरिरहेकी छु ।

फुड हेबिट कन्ट्रोल गर्छु
म अहिलेसम्म फिट हुनुको रहस्य फुड हेबिट कन्ट्रोल नै हो । म आफ्नो स्वास्थ्यलाई असर गर्ने चिजहरू केही पनि खाँदिनँ । कतिपय चिजहरू मेरो बडीले नै लिँदैन । खानेबित्तिकै रियाक्सन गरिहाल्छ । त्यसपछि म त्यो चिज खाँदिनँ । ड्रिंक्स गर्दिनँ, चुरोट पिउँदिनँ, मासु खाँदिनँ । खाएपछि शरीर पनि हल्का हुने खालको खानेकुरा खान्छु । पहिला मेरो सबैभन्दा मनपर्ने कुरा भनेको अन्डा थियो, तर त्यो पनि मेरो शरीरले लिन छाडेपछि खान छाडेँ । कम्तीमा तीन लिटर पानी नियमित पिउँछु । आफ्नो शरीरलाई आवश्यक चिज खान्छु, व्यायाम गर्छु । अहिलेसम्म स्वास्थ्यमा सामान्य रुघाखोकीभन्दाबाहेक समस्या छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु