९० करोडको कारोबार - Naya Patrika
eNaya Patrika
  • ePaper

९० करोडको कारोबार

साताको पहिलो कारोबार दिन नेप्से ४४ दशमलव २६ अंक बढेको छ । बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन करिब पाँच महिनापछि ९० करोडबराबरको सेयर खरिद–बिक्री भएको छ ।

निरन्तर बजार ओरालो लागेका कारण सूचीकृत कम्पनीहरूको सेयर मूल्य तुलनात्मक रूपमा सस्तिएको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्न बजारमा नयाँ लगानीकर्ताहरूले प्रवेश गरेका छन् ।

बढ्दो सेयर आपूर्ति, लगानीयोग्य पुँजीको अभाव, निक्षेपमा बढ्दा ब्याजदरका कारण बजार निरन्तर ओरालो लागेको थियो । बैंकहरूले कर्जाको अनुपातमा बढी निक्षेप संकलन गर्न सफल भएपछि लगानीयोग्य पुँजी अभावको समस्या समाधान भएको देखिन्छ ।

यसका साथै अर्थमन्त्री तथा गभर्नरले सेयर बजार विस्तारका लागि नीतिगत तथा संस्थागत कार्य गर्ने भनाइले लगानीकर्ताको मनोबल बढाएको छ । सोही कारण बजारमा नयाँ लगानीकर्ताहरू प्रवेश गरेको एक ब्रोकरले बताए ।

यस दिन १ सय ७६ कम्पनीको १० हजार ७ सय ४६ पटकको कारोबारमा ९१ करोड ७७ लाख ८ हजार ९ सय ५९ रुपैयाँबराबरको २३ लाख १२ हजार ८ सय ६५ कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ४८ दशमलव १६ प्रतिशत बढी हो ।

नेप्सेको १४ दिने आरएसआई यस दिन बढेर ५५ दशमलव ९६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ९ दशमलव २० अंक बढेर २ सय ७६ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ । लगानीकर्ताको सम्पत्ति पनि बढेर १५ खर्ब १७ अर्ब रुपैयँ पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको ३ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन नेपाल बंगलादेश बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ ।

यस दिन एनबी बैंकको ९७ हजार ६ कित्ता सेयर खरिद–बिक्री भएको छ भने प्रिमियरको ३ सय ७३ पटक कारोबार भएको छ । बजार उच्च अंकले बढ्दा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ भने अन्य १४ कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको हो । कारोबारमा आएका १ सय ७६ कम्पनीमध्ये यस दिन १ सय ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । बाँकी ११ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आइतबार कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । यस दिन बिमा समूहको परिसूचक सर्वाधिक ६ दशमलव १७ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्त समूहको परिसूचक ६ दशमलव शून्य ८ प्रतिशत, जलविद्युत्् समूहको ४ दशमलव ८४ प्रतिशत, होटेल समूहको ४ दशमलव ५५ प्रतिशत, व्यापार समूहको ३ दशमलव ७७ प्रतिशत, वाणिज्य बैंक समूहको २ दशमलव ९७ प्रतिशत, उत्पादनमूलक समूहको २ दशमल ३२ प्रतिशत, अन्य समूहको २ दशमलव २९ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६६ प्रतिशत र वित्त समूहको १ दशमलव ५५ प्रतिशत बढेको छ ।

तपाईको प्रतिक्रिया