भूकम्पपीडित बालबालिकामा मिर्गौला संक्रमण - Naya Patrika
eNaya Patrika
  • ePaper

भूकम्पपीडित बालबालिकामा मिर्गौला संक्रमण

भूकम्पपछि बालबालिकामा स्वाथ्य समस्या बढिरहेको छ । भूकम्पप्रभावित जिल्लाका बालबालिकामा मिर्गौलामा संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । २०७२ वैशाखको भूकम्पपछि बेलायतबाट प्रकाशित हुने बायोमेडिकल जर्नलले कान्ति बालअस्पतालमा आएका बिरामीमा कस्तो असर पर्छ भनेर अनुसन्धान गरेको थियो । सो अनुसन्धानको क्रममा मुख्य दुईवटा कुरा भेटिएका छन् । अनुसन्धानमा संलग्न चिकित्सक विष्णुरथ गिरीका अनुसार भूकम्पपछि बालबालिकामा घाँटीको संक्रमणपछि मिर्गौलामा हुने असर (पोस्ट इन्फेक्सिअस् ग्लोमेरुलोनेफ्राइटिस) मा वृद्धि हुँदै गएको देखिएको छ । त्यस्तै भूकम्पप्रभावित परिवारका बालबालिका अन्य बालबालिकाभन्दा जटिल बिरामी हुने र आइसियुको आवश्यकता पर्ने अनुसन्धानबाट देखियो । नेपालमा यस्ता विपत्तिबाट प्रभावित भएका बालबालिकालाई उपचार गराउने आइसियु, एनआइसियु आवश्यक मात्रामा नभएको चिकित्सक गिरीले बताए । डा. गिरीका अनुसार भूकम्पपछि हुने असरका बारेमा नेपालमा पहिलोपटक अनुसन्धान भएको हो ।

विपत्तीपछि आउने स्वाथ्य समस्या र उपचारका लागि नेपालमा कुनै पूर्वाधार तथा जनशक्ति छैनन् । यस्ता विपत्तीमा पनि अदक्ष जनशक्तिले काम गर्नुपरिरहेको छ । अस्पतालमा मिर्गौला संक्रमणका बिरामी आए पनि कति बालबालिकामा यस्तो समस्या देखियो भन्नेबारे आधिकारिक तथ्यांक छैन । हाइटीमा आएको भूकम्पपछि बालबालिकाको स्वास्थ्यसम्बन्धी थुप्रै अनुसन्धान भए पनि मृगौलामा हुने असरका बारेमा कुनै अनुसन्धान भएन । नेपालमा भएको अनुसन्धानबाट पत्ता लागेको नयाँ तथ्यले भविष्यमा हुने विपत्तिको व्यवस्थापनमा प्रभावकारी रूपमा पूर्वतयारी अपनाउन थप मद्दत मिल्न सक्ने
उनले बताए ।

बायोमेडिकल जर्नलका अनुसार भूकम्पलगत्तै हुने ठूलो स्वास्थ्य समस्या भनेको चोटपटक हो, त्यो बालबालिकामा पनि हुन्छ । तर, त्यसपछि हुने घरहरूको क्षति, मानिसको विस्थापन, पानी र सरसफाइमा हुने कमीजस्ता कारणले गर्दा यस्तो विपत्तिपछि झाडा पखाला र रुघाखोकी तथा निमोनियाजस्ता संक्रमक तथा रोगमा वृद्धि हुन्छ । तर, सरकारले रोकथामका विभिन्न कदम चलाएकाले भूकम्पछि बालबालिकामा हुन सक्ने जटिल समस्या केही कम भएका छन् ।

भूकम्पलगत्तै युनिसेफले नेपालमा कुपोषणको महामारी हुन सक्छ भनेर चेतावनी जारी गरेको थियो । डाक्टर गिरीले यो अनुसन्धानबाट चोटपटक र झाडापखालाबाहेक अन्य बिमारीमा यस्तो विपत्तिले असर गर्ने थाहा पाउन सहयोग मिलेको बताए । अर्को कुरा यस्ता भूकम्प र सुनामीजस्ता विपत्तिपछि हालसम्म बाल स्वास्थ्यसम्बन्धी गरिएका अनुसन्धान खाली अस्थायी शिविरको तथ्यांकमा आधारित र केही हप्ता र बढीमा २ महिनासम्मको मात्रै तथ्यांक छन् ।

नेपालमा मात्रै नभएर पाकिस्तान, चीन, हाइटी, जापानलगायतका देशमा यस्ता समस्या छन् । तर, नेपालमा गरिएको यो अनुसन्धानले संक्रामक रोगहरू पछिसम्म वृद्धि हुने र भूकम्पप्रभावित परिवारका बालबालिकामा अन्य बालबालिकाको तुलनामा बढी संक्रामक देखिने प्रस्ट पारेको छ ।अनुसन्धानको क्रममा घर भत्केर अस्थायी टहरामा बस्नुपर्ने वा कम्तीमा एकजना अभिभावक घाइते वा मृत्यु भएको परिवारको बालबालिकालाई हामीले भूकम्पप्रभावित भनी वर्गीकरण गरेका छौँ ।

अनुसन्धानका क्रममा अस्पतालमा भर्ना भएका १ हजार ५७ बालबालिकालाई सहभागी गराइएको थियो । भूकम्पबाट प्रभावित जिल्लाबाट आएका बालबालिका र भूकम्पप्रभावित परिवारबाट आएका बालबालिकामा अनुसन्धान केन्द्रित थियो । अनुसन्धानका क्रममा सबैभन्दा बढी बालबालिकामा देखिएका मुख्य रोग निमोनिया, ज्वरो ग्यास्ट्रिक, रक्तअल्पता, घाँटी र छालामा संक्रमण, मिर्गौलामा रोग देखापरेका थिए ।

त्यसमा पनि भूकम्पबाट कम प्रभावित जिल्लामा पनि प्रभावित परिवार र कम प्रभावित परिवारका बालबालिकामा अनुसन्धान भएको थियो । अर्को भूकम्पबाट अतिप्रभावित जिल्लाबाट आएका त्यसमा पनि अतिप्रभावित परिवारका बालबालिका र कम प्रभावित बालबालिकामा कस्ता रोग देखा परे भन्ने विवरण अनुसन्धानबाट प्राप्त भएको थियो ।

यो अनुसन्धानको अर्को मुख्य पक्ष भनेको विपत्तिपछि हुने तत्काल स्वास्थ्य समस्या मात्र होइन, त्यसको लामो समयपछिसम्म असरहरू परिरहन्छन् व्यवस्थापनका लागि उचित पूर्वतयारी गर्नुपर्छ भन्ने हो । अनुसन्धानका क्रममा सहभागी डाक्टर समना शर्माले भूकम्पपछि मिर्गौलामा खराबी हुने बालबालिकाको संख्या बढेको बताइन् । साथै उनले यो अनुसन्धानले भविष्यमा हुन सक्ने दुर्घटनामा कमी ल्याउने बताइन् । ३ महिनासम्म भएको अनुसन्धानमा सबैभन्दा बढी बालबालिकामा मिर्गौलामा खराबी देखियो ।

भूकम्पप्रभावित जिल्लाका बालबालिकामा अहिले यस्ता स्वाथ्य समस्या बढेको डाक्टर शर्माले बताइन् । यस्ता बच्चामा छालामा र घाँटीमा इन्फेक्सन गर्ने कीटाणुले सीधै मिर्गौलामा खराब गर्ने उनले बताइन् ।

मिर्गौला रोगविशेषज्ञ ऋषिकुमार काफ्लेका अनुसार बालबालिकाले स्वस्थकर खानेकुरा नखाँदा, पानी अस्वस्थ पिउँदा मिर्गौलामा संक्रमण बढेको छ । प्रभावित जिल्लाका सुत्केरीले समयमा राम्रोसँग आराम नगर्दा, स्वाथ्यकर खानेकुरा नखाँदा यस्ता महिलाबाट जन्मेका बालबालिका मिर्गौलारोगी जन्मन्छन् । उनका अनुसार बच्चा आमाको पेटमा आएपछि आमाको स्वाथ्यमा समस्या देखा परे पेटमा रहेको बच्चामा पनि असर पर्न सक्छ । यस्तो आमाबाट जन्मेका बच्चा जन्मँदा मिर्गौलामा समस्या भएका जन्मने गर्दछन् । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको नितान्त खाँचो छ । तौल कम भएर जन्मने बच्चा, बच्चा गर्भमा रहेको समयमा आमा बिरामी हुँदा जन्मने बच्चामा मिर्गौलामा समस्या देखा पर्दछ । बच्चा आमाको पेटमा आएपछि आमाको स्वाथ्यमा समस्या देखापरे पेटमा रहेको बच्चामा पनि असर पर्न सक्छ । यस्तो आमाबाट बच्चा जन्मँदा मिर्गौलामा समस्या भएका जन्मने गर्दछन् ।

तपाईको प्रतिक्रिया