महिलामा प्रतिस्पर्धी क्षमता हुनु जरुरी छ : रेखा थापा, अभिनेत्री - Naya Patrika
eNaya Patrika
  • ePaper

महिलामा प्रतिस्पर्धी क्षमता हुनु जरुरी छ : रेखा थापा, अभिनेत्री

आजको विश्व महिलाका निम्ति कति अनुकूल र कति प्रतिकूल छ, समीक्षाको विषय बनेको छ । महिलाको प्रतिस्पर्धात्मक सहभागिता, समानता, आत्मसम्मान, आत्मनिर्भरता, पहिचान र अवसरजस्ता क्षेत्रमा आममहिला दिदीबहिनी आज पनि संघर्ष गरिरहेका छन् । गरिबी, सामाजिक पृष्ठभूमि, राजनीतिक पहुँच र प्रभावका हिसाबले महिलाका चुनौती झनै जटिल बनेका छन् । बाहिर सतहमा हेर्दा महिलाका सवालमा समाज र राज्य प्रणाली सहिष्णु देखिए पनि साँचो अर्थमा महिलाले सम्मानपूर्ण जीवन प्राप्त गर्न अझ थुप्रै सवाल अधुरा र अनुत्तरित नै छन् । नेपाली महिलाका सन्दर्भमा व्यावहारिक र नीतिगत कैयन सुधार र रूपान्तरणका काम अझै बाँकी छन् । मातृ मृत्युदर, महिलाको आर्थिक तथा सामाजिक हैसियत, पहिचान र प्रतिस्पर्धी क्षमता, निर्भरता र विविध प्रकारका हिंसा अन्त्य हुन बाँकी छ ।

जन्मेदेखि नै विभेद
सामाजिक नियमका विभिन्न आयाममा छोरी जन्मेदेखि नै विभेद र विषमता झेल्न बाध्य छन् । छोरा पाए खसी काट्ने, छोरी पाए शिर निहुराउने पनि छन् । छोरीको पास्नी पाँच महिनामै र छोराको ६ महिनामा पास्नी । छोरी आमालाई सघाउने र घरकै काममा व्यस्त हुने, छोराले केही पनि काम गर्नु नपर्ने संस्कारले अझै पनि समस्या पारेको छ । छोरीलाई सानैदेखि भेदभाव हुन्छ । त्यो हटाउन जरुरी छ । सबभन्दा ठूलो विषय भनेकै मनोवैज्ञानिक असर हो । त्यसलाई अन्य विषयले सम्बोधन गर्न सक्दैन । कानुनी रूपमा समान देखाइए पनि व्यावहारिक रूपमा फरक छ । महिला सक्षम छैनन् भन्ने सोचाइ अधिकांशमा भेछिन्छ । तर, महिला ठूलो पदमा पनि पुगेका छन् । देशको सर्वोच्च पद राष्ट्रपति महिला नै हुनुहुन्छ । धेरै डाक्टर, इन्जिनियर, पाइलट पनि बनेका छन् । तर, महिला भएकै कारण कहीँकतै पछाडि पो परियो कि भन्ने भावना देखिन्छ । त्यसकारण संस्कार बनेका गलत विषयलाई कानुनतः मात्र नभई व्यवहारमा पनि सुधार गर्नुपर्छ । विभिन्न अभियानको माध्यमबाट यस्ता विषयमा सुधार ल्याउन सकिन्छ ।

सम्भावित जोखिम कायमै
बालविवाह, छाउपडी प्रथा, दाइजो प्रथालगायत कुरीतिका साथै समान प्रकारको विकास तथा अवसरबाट वञ्चित हुनुपरेको छ । समाजमा छोरी बन्ने–बनाउने तालिम र उनको जीवनलाई एउटा परम्पराको दायराभित्र जिउन सिकाउने सामाजिक मान्यता विद्यमान छन् । यही विद्यमान परम्परा सामाजिक संस्कार र मान्यताको दृष्टिबाट छोरी र महिलाको भविष्य अन्दाज गर्ने हो भने लाखाँै छोरीको जीवन अहिले पनि सम्भावित जोखिमभित्रै छ । अहिले पनि महिलाले ढुक्कसँग हिँड्न पाइरहेका छैनन् । बिहान सबेरै र राति अबेर हुने कार्यक्रमहरूमा महिला उपस्थित हुन नसक्ने स्थिति छ । त्यो घरपरिवार र सामाजिक सुरक्षाको कारण हो । अहिले पनि महिला राति अबेर हिँड्नुहुँदैन भन्ने मान्यता छ । पुरुष राति जति वेला पनि आउन हुने, तर महिला त्यही समयमा आउँदा कुरा काट्ने समाज छ । महिलाले जति वेला पनि सुरक्षित महसुस गर्ने सुरक्षा व्यवस्था हुनुपर्छ । अनि मात्र महिला सशक्तीकरणको नाराले सार्थकता पाउनेछ । बलात्कृत हुनुपर्ने, बोक्सीको नाममा होस् या दाइजो नल्याएको निहुँमा कुटिने तथा मारिनेसम्मको अवस्थाले हाम्रो समाजको यथार्थ रूप प्रस्तुत गरेको छ ।

देशको अर्थतन्त्र नै एकपांग्रे
सामाजिक र राजनीतिक क्षेत्रमा परिवर्तनका कैयन् सवालमा महिलाको पक्षमा अनुकूल नीति तथा कार्यक्रम आए पनि गरिब र विपन्न महिलाका व्यावहारिक सवाल अनुत्तरित नै छन् । जीविकोपार्जन तथा रोजगारीका अवसर र महिलाको विद्यमान सीप तथा क्षमता उपयोग हुन सकिरहेको छैन । अहिलेको आर्थिक मूलधारबाट आममहिला किनारा लागेका छन् । बहुसंख्यक महिलाको भूमिका परम्परागत निर्वाहमुखी कृषिबाहेक अन्य विकल्प छैनन् । आधा जनसंख्या ओगटेका महिलाको यो आर्थिक बहिष्करणले देशको अर्थतन्त्र एकपांग्रे मात्र भएको छ ।

सशक्तीकरणको बहसमा आममहिलाको जीवन उनीहरूको अनुभव र चाहनाभन्दा पनि बौद्धिक बहस र प्रतिनिधिकेन्द्रित भएको पाइन्छ । महिलाको प्रतिनिधिमूलक सहभागिता र राजनीतिक अधिकारलाई प्रतिस्पर्धीभन्दा पनि आरक्षण र संरक्षणउन्मुख अभ्यास थालिएको छ । यसले महिलालाई पुरुषप्रधान राजनीति र शक्तिसँग आशा, अपेक्षा वा कृपाभावलाई प्रोत्साहित गरेको छ । यस प्रकारको संरक्षणमुखी र आरक्षण प्रणालीले महिलाको विद्यमान असमान हैसियतलाई झनै स्थापित गरेको छ । महिलाको परिचय र आत्मसम्मानको सवाल भनेको उनीहरू स्वयंले आर्जन गर्नुपर्ने विषय हो र यसका निम्ति राज्य तथा समाजले उनीहरूको प्रतिस्पर्धी क्षमता विकासको रणनीति बनाउनुपर्छ ।

महिला सहभागिता अपरिहार्य
सामाजिक मात्र होइन, आर्थिक विकासमा नेपालले छिट्टै छलाङ मार्न महिला सहभागिता अपरिहार्य छ । आधा जनसंख्या महिलाको गुणस्तरीय क्षमता विकास, उत्पादनमा अवसर र सहभागिता, प्रतिस्पर्धी सामथ्र्य अनि राजनीति र निर्णय प्रक्रियामा आवश्यक दिगो रणनीति अपनाउनु जरुरी छ । आगामी पिँढीका छोरीहरूलाई हाम्रो परम्परागत सामाजिकीकरणको जञ्जालबाट बाहिर ल्याउन सामाजिक र सांस्कृतिक आन्दोलन जरुरी छ । आत्मजागरण र स्वअस्तित्वको संघर्षबाट मात्र स्वाधीन र आत्मनिर्भर महिला बन्ने भएकाले असमान र विषम तथ्य परिवर्तन गर्न छोरी तथा महिला स्वयं नै जागरुक हुनुपर्छ । यसरी लडेर स्थापित गरिएको परिचयले मात्र एउटा आत्मसम्मानपूर्ण जीवन निर्माण हुन सक्छ । त्यसका लागि नियम, कानुन कागजमा मात्र सीमित हुनुहुँदैन, व्यवहारमै देखिनुपर्छ । अधिकार पाएको र अधिकारमाथि काम गर्नेले पनि थाहा पाउनुपर्छ । अनि मात्र सोचाइ र व्यवहारमा परिवर्तन सम्भव छ ।

सम्भावनाका नयाँ बाटा
चुनौतीका बाबजुद हामीसँग सम्भावना र नयाँ बाटा प्रशस्तै छन् । पहिला सीमित अवसर थियो, अहिले अवसरको क्षेत्र व्यापक भएका छन् । पहिला महिलालाई घरको कामले छेकेको थियो । तर, आज महिला घरको काममा मात्र सीमित हुनुपरेको छैन । निजामती कर्मचारी मात्र होइन, सेना र प्रहरीमा पनि महिला सहभागिता बढेको छ । छोरी मान्छे सरकारी काम, शिक्षक वा नर्स मात्र हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । महिला डाक्टर, इन्जिनियर, पाइलट, प्रहरी, सेना जे पनि हुन सक्छन् भन्ने उदाहरण देखिइसकेको छ । अहिले धेरै प्रतिस्पर्धा छ । छनोट पनि धेरै छ । विदेश जाने कि स्वदेशकै काम गर्ने ? यो गर्ने कि त्यो ? अहिलेको पुस्तालाई रोजेर काम गर्ने सहुलियत छ । रोजगार बन्ने कि रोजगारदाता वा स्वरोजगार जे पनि बन्न सक्ने अवस्था छ । तर, हामीले बदलिँदो परिवेशमा फरक ढंगले सोचेर काम गर्न जरुरी छ । धैर्यका साथ अगाडि बढ्न आवश्यक छ । संविधानले दिएका अधिकार प्रयोग गर्ने सन्दर्भमा पछि पर्नुहुँदैन ।

(प्रेम गौतमसँगको संवादमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु