पत्रकार उपचार कोषलाई एक्सेल बैंकको सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

पत्रकार उपचार कोषलाई एक्सेल बैंकको सहयोग

बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलभमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष हेमराज ढकालले बैंकको विशेष साधारणसभा समारोहमा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ झापा शाखाका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै महासंघका संस्थापक महासचिव भण्डारीले पत्रकारको हितका लागि नेपालमै नयाँ काम झापाबाट सुरु भएकोले यस अभियानमा सहयोग पुर्याएकोमा एक्सेल बैंकप्रति महासंघको तर्फबाट धन्यवाद ज्ञापन गरे । महासंघका संस्थापक महासचिव भण्डारी र झापा शाखाका पूर्व अध्यक्ष मोहन काजीले महासंघको यो अभियान सार्थक बनाउन सहयोगका लागि सवैमा आह्वान पनि गरेका छन् ।

उपचारका लागि खर्च अभावमा कुनै पनि सञ्चारकर्मीले मृत्युवरण गर्नु नपरोस भनेर बैंकले सो रकम प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बताए । एक्सेल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रदान गरेको बैंकका वजार व्यवस्थापक पंकज घिमिरेले बताए ।
एक करोड रुपैयाँ कोष बनाइ त्यसको ब्याजबाट सञ्चारकर्मी बिरामी या घाइते भएको अवस्थामा उपचार खर्च प्रदान गर्ने महासंघको कार्यविधि रहेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए ।
उनका अनुसार हालसम्म कोषमा ३५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम जारी रहेको र करिब एक सय पत्रकारले जनही तीन हजार तिरेर कोषको सदस्यता लिइसकेको महासंघका सहसचिव केशव भट्टराईले जानकारी दिए ।

दुई करोड पूँजीबाट ०६२ सालमा स्थापित एक्सेल बैंकको चुक्ता पूँजी अहिले ६९ करोड पुगेको छ । झापा, इलाम र मोरङमा सेवा दिइरहेको बैंकले अब सुनसरी र पाँचथरमा समेत सेवा बिस्तार गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु