समुन्द्रसम्म नेपालको पहुँच सुनिश्चित : भारतीय प्रधानमन्त्री - Naya Patrika
eNaya Patrika
  • ePaper

समुन्द्रसम्म नेपालको पहुँच सुनिश्चित : भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसम्म नेपालको पहुँच सुनिश्चित भएको बताएका छन् । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सार्वभौम देश नेपालको सरकारले प्राथमिकतामा राखेका योजनाहरुलाई नेपाल सरकारको आग्रहको आधारमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि समावेशी लोकतन्त्र भन्दै आएको भारतले अब भने नेपालको सम्पूर्ण राजनीतिक प्रक्रियामा पूर्ण समर्थन रहेको समेत बताएको छ ।

प्रधानमन्त्री ओलीसँग आज हैदरावाद हाउसमा भएका दई बैठकमा मोदीले संघीयतासहितको लोकतन्त्र संस्थागत गर्ने प्रयासमा सघाउने बचन दिएका हुन् । उनले सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको घोषणा गरे ।

नेपाल भुपरिवेष्ठित रहेन

नेपाल भारत सम्बन्ध हिमालयको अखण्डता र गंगाको पवित्रतामा आधारित रहेको बताएका मोदीले यसपटक भने, ‘अब सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको छ । नेपाल भुपरिवेष्ठित रहेन ।’

मोदीले विकासमा आफ्नो नारा ‘सबका साथ सबका विकास’ र ओलीको नारा ‘सम्बृद्ध नेपाल सुखी नेपाली’को मूल मर्म एउटै रहेको उल्लेख गरे । यी नारा एक अर्काका परिपुरक रहेको मोदीको भनाई थियो ।

मोदीले दुवै देश मिलेर सीमापार अपराध नियन्त्रण गर्ने, कृषि, जलविदुतमा सहकार्य गर्ने र कार्यान्वयन हुन बाँकी विगतका सम्झौताहरु कार्यान्वयन गर्ने सहमति भएको बताए । उनले काठमाडौं र भारतबीच नयाँ रेल वे निर्माणमा सहमति भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिए । मोदीले अरुण तेस्रो, सुनकोशी डाइभर्सन र पञ्चेश्वर परियोजना अघि बढ्ने पनि जानकारी दिए ।

तीन चरणको निर्वाचनपछि संघीयतातर्फ नेपालको यात्रालाई अत्यन्त ठूलो उपलब्धी भन्दै मोदीले तारिफ गरे । नेपाली इतिहासको स्वर्णिम अध्याय शुरु भएको पनि उनको भनाई थियो । मोदीले नेपाल भारत खुला सीमाना सर्वसाधारण जनताको लिभिंग ब्रिज भएको पनि बताए । उनले रामायण सर्किट र बुद्धिस्ट सर्किट निर्माणमा पनि सहयोग गर्ने घोषणा गरे । सुरु र अन्तिममा नेपाली भाषामा सम्बोधन गरेका मोदीले भने, ‘फेरि भेटौँला ।’

त्यस्तै पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको सम्बन्ध भ्रमणले मजबुद बनाएको भन्दै भारतले गरेको विकासबाट नेपालले अनुसरण गर्ने बताएका छन् ।

नेपालको लागि भारतले दिएको साथ प्रति धन्यवाद दिँदै ओलीले अझै दुई देशबीचको मित्रता बलियो बनाउन चाहेको समेत बताएका छन् । सम्बोधनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

 तस्बिर स्रोत : कृष्ण पाैडेल

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु