प्रदेश ५ को नीति तथा कार्यक्रम तयार - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ को नीति तथा कार्यक्रम तयार

प्रदेश ५ को अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति तथा कार्यक्रम तयार भएको छ । प्रदेश ५ सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष ०७४/७५ को नीति कार्यक्रम स्वीकृत गरेको हो । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नीति कार्यक्रममाथि बैठकमा व्यापक छलफल भएको र थपघट गरी स्वीकृत गरिएको जानकारी दिए ।

जिल्लागत तथ्यांक अध्ययन गरिँदै
प्रदेश सरकारले प्रदेशको स्थितिका बारेमा पनि तयारी तीव्र पारेको छ । १२ वटै जिल्लाका सबै कार्यालय प्रमुखसँग स्थिति माग गरेको सरकारले अध्ययन गरिरहेको छ । ‘प्रदेशमा चालू रहेका ठूला योजनाबारे केन्द्रबाट समेत माग गरियो ।

अप्ठ्यारा के के छन् ती संकलन गरेर अध्ययन भइरहेको छ,’ प्रवक्ता चौधरीले भने । उनका अनुसार २७ चैतमा स्थितिपत्र सार्वजनिक गर्ने तयारी छ । त्यसमा प्रदेशको समग्र अवस्था चित्रण गरिनेछ ।

प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ स्थितिपत्रको तयारीमा व्यस्त छन् । उनले जिल्लागत तथ्यांकहरू अध्ययन भइरहेको बताए ।

केही रकम सञ्चित गरिने
प्रदेश सरकारले बजेटको पनि तयारी सँगसगैँ गरेको छ । एक अर्ब दुई करोडको बजेट प्रस्तुत गर्ने तयारीमा रहेको सरकारले केही रकम सञ्चित गर्ने भएको छ । ‘विभिन्न शीर्षकमा छुट्याएर केही रकम सञ्चित गछौँ,’ चौधरीले भने, ‘आपतकालीन अवस्थाका लागि सञ्चित गर्ने सोच बनाएका हौँ ।’

आइतबार प्रदेश सभामा प्रस्तुत गरिने
नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । आइतबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारको अहिलेको प्राथमिकता के हो भन्ने झलक यसमा आउँछ,’ उनले भने । तर, नीति तथा कार्यक्रमबारे उनले खुलाउन चाहेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु