युएईका नेपाली व्यवसायीद्वारा नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान - Naya Patrika
eNaya Patrika
  • ePaper

युएईका नेपाली व्यवसायीद्वारा नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान

युएईमा व्यवसाय गर्दै आएका ओम उप्रेतीले नेपालमा निशुल्क प्राथमिक उपचार तालिम प्रदान गरेका छन् । दुबईमा प्राथमिक उपचार प्रदान गर्ने कम्पनी डिस्कोभरी रोयल स्पोर्टस एलएलसीका मालिक चितवन निवासी ओम उप्रेतीले देशका बिभिन्न ७ जिल्लाका १४ स्थानहरुमा गएर तालिम दिएका थिए । चैत १ गते चितवनबाट तालिम शुरु गरेका उप्रेतीले तनहुँ, कास्की दोलखा, सिन्धुपाल्चोक धादिङ र काभ्रेका बिभिन्न स्थानहरुमा तालिम दिएका हुन् ।

तालिममा बिशेष गरी हृदयघात, सडक दुर्घटना, प्राकृतिक विपत्ति आदिको समयमा अस्पताल लैजानु पूर्व गरिने सामान्य उपचार बिधीको बारेमा सिकाईएको थियो । गैर आबासिय नेपाली संघ, युएईको संयोजनमा भएको तालिममा सर्बसाधारण देखि नेपाल प्रहरी र नेपाल आर्मी समेतले सहभागिता जनाएका थिए । स्थानीय निकायहरुको सहयोगमा उप्रेतीले आफ्नो ब्यक्तिगत खर्चमा उक्त तालिमको आयोजना गरेका हुन् । एनआरएन युएईका केन्द्रिय सदस्य समेत रहेका उप्रेतीले तालिममा ८ लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन् ।

नेपालमा प्रथामिक उपचार नपाएर अकालमा ज्यान जाने गरेको देखेर आफुले निशुल्क तालिमको आयोजना गरेको उप्रेतीको बताए । ’पैसा ठुलो कुरा भएन, बिदेशमा आफुले सिकेको सीप र ज्ञान बाँड्न पाउँदा खुशी लागेको छ’, उप्रेतीले भने । तालिम प्रदान गर्न उप्रेतीको टोलीमा युएई र नेपालका गरी ८ जनाको टीम रहेको छ । उक्त तालिमबाट ११ सय जना भन्दा बढीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया