घडेरी बेचेर बालगृहलाई ४० लाख सहयोग - Naya Patrika
eNaya Patrika
  • ePaper

घडेरी बेचेर बालगृहलाई ४० लाख सहयोग

लमजुङको क्व्होलासोंथर गाउँपालिका–९, गिलुङकी ८० वर्षीया सानुमाया गुरुङले घडेरी बेचेर बालगृहलाई ४० लाख सहयोग गरेकी छिन् । पोखराको लालीगुराँस टोलमा रहेको घडेरी बेचेर उनले बालगृहमा आश्रित अनाथ बालबालिकाको अध्ययन लागि ४० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् ।

मुठीदानबाट सञ्चालित बेँसीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रमा स्थापित बालगृह अक्षयकोषमा उनले सोे रकम सहयोग गरेकी हुन् । गुरुङले सहयोगपछि अक्षयकोषमा ७६ लाख रुपैयाँ जम्मा भएको छ ।

बालगृहका संस्थापक अध्यक्ष स्व. लेखनाथ अधिकारीको पाँचौँ स्मृतिमा आयोजित एक कार्यक्रममा संस्थाकी अध्यक्षसमेत रहेकी गुरुङले संस्थाका कोषाध्यक्ष धनुदेवी पिया र सचिव हुमा गुरुङलाई चेक हस्तान्तरण गरिन् ।

संस्थाका तत्कालीन अध्यक्ष अधिकारीले आफ्नो अंशको जग्गा बिक्रीबाट आधा रकम १० लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषको सुरुवात गरेका थिए । संस्थाकी सचिव हुमा गुरुङका अनुसार अनाथ बालबालिका पढाउन एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ ।

मुलुकमा सशस्त्र द्वन्द्वका क्रममा बालबालिका टुहुरा हुन थालेपछि ०६० सालमा अधिकारीलाई अध्यक्ष बनाएर द्वन्द्वपीडित तथा असहाय बालबालिका संरक्षण गृह स्थापना गरेको उनले बताइन् । सानुमाया अविवाहित हुन् ।

०४६ सालमा उनले आदर्श महिला तथा सीप विकास बहुउद्देश्यीय केन्द्र खोलेर पढ्न नपाएका महिलालाई सीप दिन थालिन् । ‘पेवा’ रकमबाट आफूले ०३७ सालमा पोखरामा एक रोपनी जग्गा किनेको बताइन् ।

०६० सालमा सातजना द्वन्द्वपीडित बालबालिकालाई लिएर सुरु गरिएको बाल केन्द्रमा हाल पाँच बालिकासहित १३ जना बालबालिका रहेको केन्द्रका सचिव गुरुङले बताइन् । उनका अनुसार यसअघि १६ जनालाई परिवारमा पुनस्र्थापना गरिएको छ ।

तीमध्ये एकजना केशमान विकले ओभरसियर र प्रतिक्षा केसीले स्नातक अध्ययन गरिरहेका छन् । शान्ता विकले कक्षा १२ उत्तीर्ण गरिसकेकी छिन् । एक करोड अक्षयकोष बनाउने केन्द्रको अभियानमा दान दिने दाताको संख्या ६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया