आकांक्षी धेरै हुँदा प्रदेश ४ को मन्त्रिपरिषद् विस्तारमा ढिलाइ - Naya Patrika
eNaya Patrika
  • ePaper

आकांक्षी धेरै हुँदा प्रदेश ४ को मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

प्रदेश ४ को मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मन्त्रीका आकांक्षी धेरै हुँदा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मन्त्रिपरिषद् विस्तार गर्न समस्या भएको छ ।

४ फागुनमा मुख्यमन्त्री गुरुङले शपथ लिएपछि चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका  थिए । सात मन्त्रालय रहेको प्रदेश–४ मा तीन मन्त्री थप गर्नुपर्नेछ । मन्त्रिपरिषद् गठन भएलगत्तै एक/दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री गुरुङले बताएका थिए । त्यसपछि उनले संसद्बाट विश्वासको मत लिएपछि पूर्णता पाउने बताएका थिए ।

२५ फागुनमा विश्वासको मत लिएपछि पनि एक/दुई दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने पुरानै भनाइ दोहोर्‍याए । केही दिनअघि मुख्यमन्त्री गुरुङले नयाँ पत्रिकासँग ४ चैतमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए पनि पूरा हुन सकेन । मुख्यमन्त्री गुरुङले पुनः एक/दुई दिनमै पूर्णता पाउने प्रतिक्रिया दिए ।

को को छन् चर्चामा ?
एमालेका २७ सांसदमध्ये ५० प्रतिशतभन्दा बढी मन्त्रीका आकांक्षी छन् । मन्त्रालयको संख्या थोरै र माओवादी केन्द्रको भागमा दुई मन्त्रालय परेपछि एमालेको भागमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय परेका छन् । रामशरण बस्नेत यसअगाडि नै मन्त्री बनिसकेका छन् । तीन मन्त्रीका लागि विकास लम्साल, मोहन रेग्मी, रोशन गाहा, कृष्ण थापा, नरदेवी पुन र प्रभा कोइरालालगायत आकांक्षी छन् । एकजना महिला अनिवार्य समेट्नुपर्ने, क्षेत्र र समुदायसमेतलाई ध्यान दिनुपरेका कारण मन्त्री छान्न मुस्किल परेको एमाले स्रोत बताउँछ ।

एमाले संसदीय दलको विधान पारित
सोमबार एमाले संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ । एमाले सांसद मायानाथ अधिकारीका अनुसार बैठकमा दलको विधान पारित भएको छ । विधानमा प्रमुख सचेतक, र सचेतकको कामका विषयमा उल्लेख गरेको छ । सो बैठकमा मन्त्री छनोटका विषयमा छलफल भएको थिएन ।

प्रदेश–४ सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले संसदीय दलको विधानलाई मंगलबार प्रदेश कमिटीको सचिवालय बैठकले अनुमोदन गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए । मंगलबार पनि सरकारले पूर्णता नपाएमा थप केही दिन पर धकेलिने संकेत मन्त्री बस्नेतले गरेका छन् ।

यसकारण पाएन मन्त्रिपरिषद्ले पूर्णता
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङनिकट स्रोतका अनुसार आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थियो । पहिले एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री गुरुङलाई नै मन्त्री छान्ने जिम्मा दिएको थियो । तर, शनिबार केही सांसदले संसदीय दलको बैठक पुनः नबसी सरकार विस्तार गर्न नहुने माग राखेका थिए ।

प्रदेशमा मन्त्रीका आकांक्षी धेरै छन् । मुख्यमन्त्री गुरुङले एकल निर्णय लिँदा आफू मन्त्री नहुने कतिपय सांसदको आकलनका कारण संसदीय दलको बैठक बस्नुपर्ने माग राखेको स्रोतको दाबी छ । ती सांसदले अहिले पनि बैठक नबसी मन्त्रिपरिषद्लाई पूर्णता दिन नहुने अडान राखेका छन् । सोमबार संसदीय दलको बैठक बसे पनि मन्त्री छनोटका विषयमा छलफल भएन ।

तपाईको प्रतिक्रिया